उज्यालो बुटवल शहरका लागि २३ स्थानमा हाइमास्ट लाइट



बुटवल । 

बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइ मास्ट लाइट जडान गर्ने भएको छ । ६५औं स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्याश तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका छन् ।

हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताए  । उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताए। उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताए।

बसपार्कलाई सुविधा सम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइमास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने बताए।

बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२दशमलव ५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन्। टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्