बालमन्दिरको हडपिएको जग्गा खोजी गर्दै सीआईबी

विशाल ग्रुप र पुराना पदाधिकारीबीचका सम्झौता केलाइँदै



काठमाडौं ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालसंगठनको जग्गा लिजमा दिँदा भएको अनियमितताका बारेमा गम्भीर अनुसन्धान शुरू गरेको छ।

काठमाडौंको मुटुमा रहेको नक्सालस्थित बालमन्दिरको अवस्था दयनीय बनाएर बालमन्दिरको २८ रोपनी ५ आना जग्गा हडप्न खोज्ने व्यापारिक घरना विशाल ग्रुपमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

सीआईबीका एक उच्च अधिकारीले बालमन्दिरको जग्गा लिजमा दिइँदा अपनाइएका प्रक्रिया, पुराना पदाधिकारी र विशालग्रुप तथा वृहस्पति सदनबीच भएका विभिन्न सम्झौताका बारेमा गहन अनुसन्धान थालिएको जानकारी दिए।

उनले नेपाल समाचारपत्रसँग भने– ‘बालमन्दिरको २८ रोपनी ५ आना जग्गा ५२ वर्षसम्म लिजमा लिएर जग्गा हडप्ने प्रपञ्च भइरहेका विषयहरू गम्भीर छन्, यससम्बन्धी अध्ययन गरी प्रमाण संकलन गर्नतिर लागेका छौं । हाम्रा अनुसन्धान अधिकृतहरू त्यसका लागि सक्रिय भएर लागेका छन्।’

सीआईबीले बालमन्दिर र विशाल ग्रुप मातहत रहेकोे वृहस्पति सदनबीच विभिन्न समयमा भएका सम्झौता, विशाल ग्रुपले अवैध शुरूमा त्यस क्षेत्रमा खडा गरेका भवनहरू र तेस्रो पक्षलाई दिएको भोगाधिकार लगायतका विषयमा विस्तृत छानबिन गरिने जनाएको छ।

सीआईबीले अनुसन्धान थालेको बालमन्दिरको अवस्था भने कन्तबिजोग छ भने बालमन्दिरकै जग्गा प्रयोग गर्दै आइरहेको व्यापारिक घराना विशाल ग्रुपको भने रजगज चल्दै आइरहेको देखिन्छ।

विशाल गु्रपले बालसंगठनको २८ रोपनी ५ आना जग्गामा मोजमस्ती गर्दै आयआर्जन गर्नुका साथै अनन्त कालसम्म बालमान्दिरको सो जग्गा प्रयोग गर्न पाउने गरी सम्झौता गर्न सफल भइसकेको छ। यस्ता गलतखाले सम्झौताका बारेमा गहन अनुसन्धान थालिएको सीआईबीका ती अधिकारीले बताए।

विशाल ग्रुपले वृहस्पति शिक्षा सदनलाई अघि सारेर बालमन्दिरको जग्गामा हालीमुहाली गर्दै आइरहेको हो। वृहस्पति सदनको सेयरमा विशाल ग्रुपकै वर्चस्व रहँदै आएको छ।

बालसंगठन जग्गा परिसरमै रहेको बालमन्दिर खण्डहरजस्तो देखिन्छ भने त्यहाँनजिकै रहेको वृहस्पति शिक्षा सदन र वृहस्पति शिक्षा सदनले नियमविपरीत लिजमा दिएको राई स्कुल भव्य र आलिसान खालको छ।

बालमन्दिरका भित्ताहरू फुङ्ग उडेका र चिरिएका छन् । वर्षामा बालमन्दिरको कोठाभित्रै पानी चुहिँदा बालबालिकाहरू राम्ररी निदाउन समेत पाउँदैनन्।

बालसंगठनको नाममा अर्बौंको जग्गा रहे पनि विशाल ग्रुपको बलमिच्याइँका कारण संगठनले ती जग्गाहरूको सदुपयोग गर्न सकेको छैन। विशाल ग्रुपले पूरक सम्झौताका नाममा २१३२ सालसम्म बालसंगठनको २८ रोपनी ५ आना जग्गा प्रयोग गर्न पाइने गरी यसअघि नै सम्झौता गरिसकेको छ।

बालसंगठनका हालका पदाधिकारीहरू यसअघिको कार्यसमितिले नियमविपरीत सम्झौता गरी बालमन्दिरको भविष्य अन्धकार पारेको बताउँछन्।

बालसंगठनका हालका पदाधिकारीहरूका अनुसार बालसंगठनको जग्गा विभिन्न संघसंस्थालाई दिलाउन २०४७ सालदेखि नै चलखेल भएको थियो। सोहीअनुसार २०४९ साल माघ २७ मा बृहस्पति सदनलाई निकै हतार गरेर मासिक ५० हजार रुपियाँमा घर टहरासहितको ९ रोपनी जग्गा दिने सम्झौता भएको थियो।

त्यतिखेर सम्झौता भएको तीन दिनमै जग्गा उपलब्ध गराइएको थियो । फागुन १ गतेदेखि नै वृहस्पतिले भोगचलन शुरू गरेको हो। टहरा, मूल ढोका र बोरिङ बनाउन पाइने र प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने गरी सम्झौता भएको थियो।

सम्झौतामा वृहस्पतिलाई २०५२ फागुन १ सम्म मात्र भोगचलनको अधिकार दिइए पनि त्यसपछिका १० महिनासम्म सम्झौताबेगर वृहस्पतिले जग्गा भोगचलन गरेको थियो।

त्यसपछि दुई पक्षबीच २०५३ साल माघ १० देखि २०६० साल माघ २७ सम्म अर्को सम्झौता भएको थियो। त्यतिखेर मासिक भाडा १ लाख ५० हजार पुर्‍याइएको थियो।

संगठनकी तत्कालीन अध्यक्ष रीता सिंहकै अगुवाइमा सम्झौता भएको थियो। सो सम्झौतामा संगठनका महासचिव श्यामकुमार आले र वृहस्पतिका तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारीको हस्ताक्षर छ।

बालसंगठनको तत्कालीन नेतृत्व यति धेरै प्रभावमा परेको अनुमान गर्न सकिन्छ कि यसअघि भएका सम्झौताअनुसार वृहस्पतिले कार्य गरे/नगरेको कुनै अनुगमन नै नगरी सरासर जग्गाको क्षेत्रफल पनि बढाएर थप सम्झौता गरेको स्रोतले जानकारी दिएको छ।

हुन पनि पुरानो सम्झौताको म्याद २०६० साल २७ माघसम्मै रहेको भए पनि २ वर्ष म्याद कायमै रहेको अवस्थामा २०५८ साल जेठ ८ गते नै अर्को सम्झौता गरेर १ जेठ २०८८ सम्म म्याद थप्ने गरी ३० वर्षका लागि सम्झौता गरिएको थियो।

त्यतिखेर सम्झौता गर्दा भने जग्गाको क्षेत्रफलसमेत ९ रोपनीबाट बढाएर १४ रोपनी ९ आना बनाइएको थियो । भाडा भने जम्मा १ लाख मात्रै बढाइएको थियो। १४ रोपनी ९ आना जग्गा प्रयोग गरेवापत वृहस्पति सदनले जम्मा २ लाख ५० हजार तिर्नुपर्ने गरी सम्झौता गरिएको छ।

फेरि लगत्तै २०५९ साल भदौ ११ मा अर्को सम्झौता गरी १३ आना १२ पैसा र १ दाम जग्गा थपेर २८ रोपनी ५ आना १ दाम पुर्‍याइयो। अन्तिमपटक ४३ वर्षलाई थपिएको सम्झौतामा मासिक भाडा ९ लाख मात्रै बनाइएकाले सो कार्यमा गम्भीर अनियमितता भएको हुन सक्ने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।

अध्यक्ष रीता सिंहकै सक्रियतामा पटकपटक भएका यस्ता सम्झौताले वृहस्पति शिक्षासदनलाई निकै शक्तिशाली बनाउँदै लगेको देखिन्छ।

सिंहले बालसंगठनको सो जग्गामा जे गरे पनि हुने गरी विधान नै संशोधन गराएको समेत पाइएको छ। पदाधिकारीहरूका अनुसार बालसंगठनलाई ध्वस्त बनाएर वृहस्पतिलाई पोस्ने र कालन्तरमा सबै जग्गा वृहस्पतिकै नाममा ल्याउने गरी ती सबै प्रपञ्च भएका हुन् ।

यसअघि दुईपल्ट भएका सम्झौतामा प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख थियो। तर, तेस्रो सम्झौतामा पहिलो र अन्तिम ५ वर्ष भाडा नबढाउने, त्यसबाहेक प्रत्येक २/२ वर्षमा ५ प्रतिशतका दरले मात्र भाडा बढ्ने प्रावधान राखियो। बहाल अवधि लम्बिँदै जाँदा भाडा वृद्धिदर थपिनुपर्नेमा उल्टै घटाइनुले यसमा गम्भीर अनियमितता भएको देखिन्छ।

वृहस्पतिले सवलिजमा अर्को विद्यालयलाई बालसंगठनको जग्गा भाडामा दिएर थप बद्मासी गरेको पाइएको छ। आफूले प्रयोग गर्ने जग्गा उसले राई स्कुललाई दिएको छ।

राई स्कुलले ठुला ठुला भवन बनाएर बालमन्दिरको जग्गा उपभोग गर्दै आइरहेको छ यसले पनि बालमन्दिरलाई झनै समस्या पारेको देखिएको छ।

यो पनि पढ्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्