सरकारको ध्यान सत्ता लुछाचुँडीमा : अष्टलक्ष्मी शाक्य


काठमाडौं ।

नेकपा एमाले उपाध्यक्ष एवं वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्तमान सत्ता गठबन्धन मानवअधिकारको विषयमा संवेदनशील नभएको बताएकी छन्।

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको दोस्रो सम्मेलन र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च वाग्मती प्रदेशको प्रथम सभालाई काठमाडौंमा सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले गठबन्धन सरकारको ध्यान मानवअधिकारको रक्षामा भन्दा सत्ता लुछाचुँडीमा नै केन्द्रित भएको बताइन् । ‘सरकारको मानवअधिकार विरोधी गतिविधिको विरुद्ध खबरदारी गर्न जरुरी छ’, उनले भने ।

नेपाली जनताको बलिदानबाट प्राप्त संघीय गणतन्त्रमा पनि मानव अधिकार उल्लङ्घनका घटना हुनु दु:खद भएको शाक्यले बताइन्  ।

यसका विरुद्ध मानवअधिकारकर्मी र सामाजिक अभियन्ताले नागरिक आन्दोलनलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको शाक्यले बताइन्। कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको भए पनि कार्यान्वयनको पक्ष फितलो रहेको बताए ।

यसले नेपालका राजनीतिक दल र सरकारप्रति जनताको विश्वास घट्दै गएको ढकालले बताए । मानव अधिकारको विषयमा नेकपा एमाले गम्भीर रहेको उनले बताए । मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको सवाल विश्वमा नै चुनौती पूर्ण हुँदै गएको बताए । अधिकार सवालमा संगठित भएर लाग्नु पर्ने उनको भनाइ छ ।

नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले वर्तमान सरकार मानवअधिकार विरोधी भएको बताए । सरकाले रोजगारीको लागि विदेश जाने परीक्षा दिन पाउँ भन्ने युवालाई गोली ठोकेर मारेको ढुङ्गेलको भनाइ छ । त्यति मात्र होइन अपराधीलाई कैद माफी दिएर सरकारले मानवअधिकारको खिल्ली उडाउने काम गरेको उनले बताए ।

सभामा वातावरणविद् उगान मानन्धरले वातावरणीय अधिकार मानवअधिकारको अभिन्न अङ्ग भएको बताए ।  उनले जलवायु न्याय र नेपालले विश्व मञ्च उठाउनु पर्ने मुद्दाका बारेमा आफ्नो धारणा राखेका थिए ।  कार्यक्रममा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, वाग्मती प्रदेश सदस्य तथा एलाइन्स इञ्चार्ज डा. जानुका न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभाले आगामी चैत्र महिनाभित्र वाग्मतीका सबै पालिकामा मानवअधिकार एलाइन्सको कमिटी गठन गर्ने, मानवअधिकारका सवालमा निरन्तर जनचेतना जगाउने, जनसरोकार र सामाजिक मुद्दामा आवाज उठाउने लगायतका निर्णयहरू गरेको एलाइन्सका वाग्मती प्रदेश अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

सभाले मानव अधिकार र समसामयिक विषयमा १५ बुँदे काठमाडौं घोषणा–पत्र जारी गरेको छ । भेलामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका मानवअधिकार एलाइन्सका सदस्यहरू र मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।