वालिङ महोत्सव ३ दिन बाँकी, तयारी तिव्र

0
Shares

स्याङ्जा ।

हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नारा सहित वालिङ उद्योग वाणिज्य संघ वालिङको अयोजनामा यही माघ १८ देखि २८ सम्म वालिङमा सन्चालन हुने प्रदेश स्तरीय ओैद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेलाको तयारी तिव्र रुपमा अगाडि वढेको छ ।

हरेक दुई वर्षमा सन्चालन गरिरहेको महोत्सव सातौं संस्करण सम्म प्रदेशकै दोस्रो उत्कृष्ट महोत्सवको पहिचान वनाउन सफल भएको थियो । आठौं महोत्सव कोभिड १९ का कारण रोकिएको थियो । अहिले वालिङमा पाँच वर्ष पछि महोत्सव सन्चालनको तयारी हुँदैगर्दा स्याङ्जावासी निकै उत्साहित वनेर महोत्सवको पर्खाईमा छन् ।

वालिङ महोत्सवको दिन नजिकिदै गर्दा मुल आयोजक समिति र उपसमितिका वैठकहरु सम्पन्न भइसकेका छन् । महोत्सवलाई भव्य र सभ्य वनाउन वालिङका १४ वटै वडाका आमा समूह, जातीय भेषभुषा, झाँकी लगायत वालिङ बजारको सजावटका लागि छुट्टाछुट्टै वैठकहरु मार्फत तयारी भईरहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवको स्थलमा घेरावार, स्टल निर्माणको काम भईसकेको वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले जानकारी दिनुभयो । महोत्सव विगतको भन्दा पृथक वनाउन लागेको उहाँको भनाई छ । महोत्सवमा स्थानीय उत्पादनको वजारीकरण र प्रवर्धन, कृषि उत्पादन, महिला उद्यमीद्वारा तयार गरीएका हस्तकला, आधुनिक कृषि ओैजार लगायतमा वस्तुहरु प्रर्दशनीमा राखिने तिवारीले जानकारी दिनुभयो ।

शारीरिक रुपमा अशक्त भएका भिन्न क्षमता भएका व्याक्तिहरुलाई मध्यनजर गरेर अपांगता मैत्री स्टेज बनाउने तयारीमा जुटेको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल (सुसिलले) जानकारी दिनुभयो । महोत्सव आवलोकनका लागि आउने दर्शकहरुलाई सहज रुपमा अवलोकन गर्न मिल्लनेगरी छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइने भएको छ । विद्यार्थी र शिक्षकलाई विद्यालयको पालो अनुसार निश्चित स्थानमा बसेर सहजरुपमा महोत्सवको अवलोकन गर्न मिल्ने गरि कार्य अगाडी बढाइएको छ ।

वालिङ महोत्सवमा प्रदर्शन गरिने स्याङ्जा डान्स आइडल सिजन ३ को पहिलो अडिशनको कार्य सम्पन्न भईसकेको वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र अर्यालले जानकारी दिनुभयो । जिल्लाका विभिन्न विद्यालयहरुमा पुगेर डान्स आइडल छनौट गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सव विगतको भन्दा पृथक र वालिङको व्यापार व्यवसाय र आसपासका पर्यटकीय सम्भावना भएको क्षेत्रको उजागर र विकासमा समेत टेवा पुग्नेगरि सन्चालन गर्ने तयारी गरिरहेको वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालले वताउनुभयो ।