रक्षा मन्त्री खड्काद्वारा नेपाली सैनिक प्रतिष्ठानको भ्रमण


काठमाडौं ।

नेपाली सेनाका विभिन्न निकायहरुको गतिविधि बारे जानकारी लिने क्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले साेमबार  नेपाली सैनिक प्रतिष्ठानमा भ्रमण गरेका छन्  ।

चाँगुनारायण नगरपालिकाको खरिपाटी (भक्तपुर) मा अवस्थित प्रतिष्ठान नेपाली सेनाका अधिकृतहरुको आधारभूत तालिम सञ्चालन हुने शिक्षण संस्था हो ।

सैनिक अधिकृतहरूलाई तालिम प्रदान गर्न वि.सं. २००९ सालमा छाउनीमा स्थापित सैनिक स्कुल २०२२ सालमा सैनिक शिक्षालयको रूपमा नगरकोटमा सरेको थियो । सैनिक अधिकृतहरूको आधारभूत तालिमका लागि बेग्लै शिक्षण संस्थाको आवश्यकता महसुस गरी वि.सं.२०४२ सालमा हालकै स्थानमा शाही नेपाली सैनिक प्रतिष्ठानको स्थापना भएको हो ।

यस्तै  वि.सं. २०६५ सालदेखि नेपाली सैनिक प्रतिष्ठान नामाकरण भएको यस संस्थाबाट हालसम्म २५२ जना महिला अधिकृत समेत ५ हजार ३३ जना नेपाली सेनाका अधिकृतहरूले आधारभूत तालिम हासिल गरिसकेका छन् ।

यस्तै विभिन्न मित्रराष्ट्रहरूका २४ जना सैनिक अधिकृतहरूले तालिम पूरा गरेका छन् । हाल प्रतिष्ठानमा ५६६ पुरुष र ६१ महिला गरी ६२७ जना अधिकृत क्याडेटहरु तालिमरत छन्, जसमा मित्रराष्ट्रहरुका १ महिला र ९ पुरुष समेत १० जना रहेका छन् ।

भ्रमणका अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले सैनिक अधिकृतहरूको आधारभूत तालिम लगायतका विषयहरूमा जानकारी गराए । प्रतिष्ठानका तर्फबाट खड्का समक्ष अधिकृत क्याडेट तालिमका विविध पक्षहरूको बारेमा प्रस्तुतीकरण भएको थियो ।

त्यस अवसरमा  खड्काले नेपाली सेनाको उत्कृष्टता केन्द्रका रुपमा रहेको प्रतिष्ठानको समग्र उन्नतिमा सरकारको तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त  गरेका छन्  ।  भ्रमण कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेकाे  थियो  ।