कर्णाली सरकार अपारदर्शी, भ्रष्टाचार र कमिसनतन्त्रमा उद्यत छ’

0
Shares

सुर्खेत ।

कर्णाली प्रदेश सरकार अपारदर्शी, भ्रष्टाचार र कमिसनतन्त्रमा उद्यत भएको आरोप लगाइएको छ । कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारको कामप्रति टिप्पणी गर्दै योजना निर्माणमा व्याप्त अपादर्शिता, भ्रष्टाचार र कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार उद्यत भएको तर्क प्रस्तुत गरेको हो ।

एक वर्षको अवधिमा सरकारको कार्य प्रगति न्यून र निराशाजनक हुनु । बेरुजु तथ्याङ्क बढ्नुले ती आरोपलाई पुष्टि गर्ने एमाले दलका नेता यामलाल कँडेलको स्पष्टोक्ती छ । माघ १२ गते बसेको दलको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता कँडेलले सरकारका प्रतिनिधीबाट कमिसनलाई बढवा दिने काम भईरहेको जानकारी आफुले पाएको बताए ।

सरकारले नेतृत्व गरेको पार्टीका तर्फबाट डोल्पाको मुड्केचुला गाउँपालिकामा रगतको औंठा छाप लगाएर काम गरिएको आरोप लगाए । ‘त्यहाँ, योजनामा बस्ने भए पार्टीमा आउ’ भनेर काम भएका छन्–नेता कँडेलले भने । डोल्पामा कोटेसन हावी भएको अर्को आरोप लगाए । ‘नीति छलेर काम कारवाही भएका छन् ।’ नेता कँडेलले भने, ‘मूल्य तिरेका योजना छन् । एक दुई जना त आईसके । हामीले यति रुपैँया तिरेका छौं भनेर । अझ कति आउने हुन् ।’

नेपाली राजनीतिमा विषय भन्दा पनि संख्या भएपछि जे गरेपनि हुन्छ भन्ने अवस्था हावी हुँदै गएको उनले बताए । सरकारले भने मुताबिक काम गर्न नसक्दा जनतामा निराशा सिर्जना भएको छ । प्रतिपक्ष दल रचनात्मक ढंगबाट प्रस्तुत भएपनि एकातिर सहमति गरेर अर्को बाटो हिड्ने प्रवृति विकराल बनेको नेता कँडेलले जानकारी दिए ।

संसद अधिवेशन आह्वान गर्न एमालेको माग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गर्न सरकारसँग माग राखेको छ । दलको निर्णय नै गरेर सरकारसँग बैठक आह्वान गर्न अपिल गरेको हो । पछिल्लो समय गत असोज २२ गते रातीदेखि संसद अधिवेशन अन्त्य गरिएको थियो । त्यसयता अधिवेशन सुरु हुन सकेको छैन ।

माघ १२ गतेको बैठकले ‘जनसरोकारका विषयहरुमा छलफल गर्ने थलो प्रदेश सभाको बैठक हालसम्म सुरु नगरिएकोले तत्काल कर्णाली प्रदेश सभा अधिवेशन आह्वान गर्न माग गर्ने’ निर्णय गरेको थियो । यस्तै, सोही बैठकबाट जाजरको भूकम्प पछि राहत, पुर्नस्थापना एवम् क्षतिपुर्तिका काममा प्रदेश सरकारको देखिने गरी भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, २०८० असार १७ गते गरिएको सर्बदलिय सहमति र प्रदेशसभामा मुख्यमन्त्रीबाट व्यक्त प्रतिबद्धता तत्काल कार्यन्वयन गर्न माग गरिएको छ । कर्णाली सरकारबाट प्रस्तुत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक बजेट पारित गर्ने क्रममा सडक र भवनतर्फ ३० लाख भन्दा कम र अन्य निर्माण तर्फ १५ लाख भन्दा कम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सम्झौता भएको थियो । सरकारले कार्यान्वयनमा लिने तरखर बढाएको संकेत पाएपछि एमालेले त्यस्तो निर्णय गरेको हो ।