रक्षा मन्त्री खड्काद्वारा सैनिक कल्याणकारी निर्देशनालय भ्रमण


काठमाडौं ।

 उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोष मातहत संचालित गतिविधिहरुका बारेमा जानकारी लिएका छन्  ।

उनलाई आइतबार  सैनिक कल्याणकारी निर्देशनालयमा आयोजित कार्यक्रममा वि.सं.२०३२ सालमा स्थापना भई संचालनमा रहेको गैर नाफामुलक सैनिक कल्याणकारी कोष र सो मातहत संचालित विविध गतिविधिहरुका बारेमा जानकारी गराईएको हो ।

सैनिक कल्याणकारी गतिविधिहरुका बारेमा जानकारी लिन जङ्गी अड्डा परिसर पुगेका  खड्कालाई प्रधान सेनापति प्रभुराम शर्माले स्वागत  गरेका थिए  । त्यस अवसरमा प्रधान सेनापतिले बहुजन हिताय, बहुजन सुखाय मूलमन्त्रसहित हिताधिकारीहरुको जीवनयापनमा सहयोग पुर्याउन सैनिक कल्याणकारी कोष मातहत संचालित गतिविधिहरु पारदर्शी एवं नियमसंगत रहेको जानकारी गराए । उनले हिताधिकारीहरुको कल्याणमा प्रभावकारी ढंगले सेवा सुविधाको विस्तार गर्न कोष प्रयत्नशील रहेको पनि जानकारी गराएका थिए  ।

उक्त अवसरमा खड्काले सकलदर्जाको योगदानबाट खडा भइ सेवारत र अवकास प्राप्त सैनिक व्यक्तिहरुको भरोसा बनेको कल्याणकारी कोषको मूल श्रोत घट्ने अवस्था आइपरेमा समेत सेवा विस्तार गर्ने चुनौतिहरुसँग सन्तुलन मिलाउन विकल्पहरुको पहिचान गरी आय आर्जनको दायरा विस्तार गर्ने तर्फ विचार पुर्याउन जरुरी रहेको बताए ।

उनले राष्ट्रिय सुरक्षाको मुख्य दायित्व सँगसँगै देशको विकासमा पनि योगदान पुर्याउँदै आएको नेपाली सेनाको कल्याणकारी कोष मार्फत संचालित शैक्षिक गतिविधिहरुको उत्कृष्ट नतिजा तथा यस्ता कार्यक्रमहरुबाट सर्वसाधारणले पनि लाभ हासिल गरेको देख्न र सुन्न पाउँदा आफूलाई खुशी लागेको बताए ।

साथै, उनले राज्यले आवश्यक महसुस गरेर सुम्पेका जिम्मेवारी निर्वाहमा नेपाली सेना सदैव अब्बल रहँदै आएको र भविष्यमा पनि रहि रहने विश्वास व्यक्त गरे  । उनले मुलुकका लागि मरिमेट्न तयार सैनिक व्यक्ति र तिनका परिवारजनसँग जोडिएको कल्याणकारी गतिविधिसँग सम्बन्धित विषयहरुमा रहेका प्रक्रियागत जटिलताहरु समाधानमा सरकारको पूर्ण सहयोग रहने विश्वाससमेत दिलाए ।  उपप्रधानमन्त्री तथा रक्षा मन्त्री सैनिक कल्याणकारी कोषको सह-संरक्षक समेत हुन् ।

नेपाली सेनाका बहालवाला एवं अवकास प्राप्त सकलदर्जा तथा तिनका आश्रित परिवारजनको हितका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुबिधा तथा सहुलियत उपलव्ध गराई जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले संचालित कल्याणकारी गतिविधिहरुबाट सर्वसाधारण पनि लाभान्वित हुँदै आई रहेका छन् ।

कोषको मुलधनमा मिति २०८० पौष मसान्त सम्म रु ७५ अर्ब ९० करोड ५७ लाख ४९ हजार नगद मौज्दात रहेको छ। बिभिन्न कार्यक्रमहरुमा रु ६ अर्ब ७५ करोड ५५ लाख लगानी समेत कोषको यथार्थ सम्पत्ति रु ८२ अर्ब ६६ करोड १२ लाख रहेको छ। सैनिक कल्याणकारी निर्देशनालय मातहत संचालित शिक्षण संस्थाहरु, स्वास्थ्य उपचार सुविधा एवं अन्य गतिविधिहरुबाट ३ हजारभन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । यस्तै वार्षिक १ अर्व २५ करोड भन्दा बढी रकम मुलुकको राजश्वमा प्रत्यक्ष योगदान भईरहेको छ ।

उक्त कार्यक्रममा रक्षा सचिव  किरणराज शर्मा, बलाधिकृत रथी श्री अशोकराज सिग्देल तथा सैनिक कल्याणकारी बोर्डका कार्यकारी निर्देशक रथी गौरव तण्डुल अ.प्रा. उपस्थित थिए । यस्तै रथीवृन्द, सैनिक कल्याणकारी निर्देशनालयका पदाधिकारीहरु तथा रक्षा मन्त्रालयका अधिकृतहरुको उपस्थिति थियो ।