सबालेन्काले फेरि जितिन् अस्ट्रेलियन ओपन



एजेन्सी ।

एरिना सबालेन्काले जेङ किनवेनलाई हराएर अस्ट्रेलियन ओपनको महिला सिंगल्स उपाधिको रक्षा गरेकी छन्।

बेलारुसकी सबालेन्काले चिनकी जेङलाई ६–३, ६–२ ले हराएकी हुन् । यो उनको दोस्रो ग्रान्डस्लाम उपाधिसमेत हो । यो उपाधि जित्न उनले कुनै सेट पनि गुमाएकी थिइनन्।

सन् २०१३ पछि लगातार दुई उपाधि जित्ने उनी दोस्रो खेलाडी पनि बनिन्। त्यतिबेला पनि बेलारुसकै खेलाडी भिक्टोरिया अजारेन्काले लगातार दुई वर्ष (२०१२ र २०१३) उपाधि जितेकी थिइन्।

यस प्रतियोगितामा अजारेन्कालाई सबालेन्काले नै हराएकी थिइन्। जितपछि सबालेन्काले बताइन्—यो दुई साता निकै अदभूत भयो । मैले अर्कोपटक ट्रफी उचालिरहने विचारै गरेकी थिइन।

सबालेन्काले सेमिफाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराएर बदला लिइन् । गत यूएस ओपन फाइनलमा पहिलो सेट जितेर पनि सबालेन्का गाउफसँग पराजित भएकी थिइन्।

यसपटक भने उपाधि दाबेदारी गाउफलाई उनले सेमिफाइनलमै पन्छाइन् र फाइनलमा चिनियाँ खेलाडीमाथि एकोहोरो जित निकालिन्। जेङ यो करियरकै पहिलो ग्रान्डस्लाम फाइनल समेत थियो।

जेङ असमर्थ भइन्

जेङमाथि चिनियाँ समर्थकले उपाधि जित्ने अपेक्षा राखिएको थियो। ठ्याक्कै १० वर्षअघि चिनियाँ खेलाडी लि नाले अस्ट्रेलियन ओपन जितेकी थिइन्।

यसपटक जेङले पनि लि कै उपलब्धि दोहोर्‍याउने चिनियाँ समर्थकले अपेक्षा गरे। तर, उनी उपाधि जित्न असमर्थ भइन्। जेङको अनुसार त्यतिबेला ११ वर्षकी उनले लिले उपाधि जितेकी क्षण साथीसँग टेलिभिजनमा हेरेकी थिइन् ।

मेलबर्नमा चिनियाँ समुदायको वर्चश्व रहेको छ । जेङलाई समर्थन गर्न स्टेडियममा करिब १५ हजार दर्शक थिए। समर्थकले पाँच तारे रातो झण्डा बोकेर फर्फराइरहेका थिए। ब्यानरमा क्वीन वेन भनेर पनि लेखिएको थियो। उनीहरूको आशा जेङले पूरा गर्न सकिनन्। उनी सहजै पराजित भएकी थिइन्।

जेङले खेलपछि बताइन्—यो मेरो पहिलो फाइनल हो। मलाई अलि दुःख त लाग्यो तर दुःखको साथै राम्रो अनुभव पनि थियो। मैले जटिलता महसुस गरेँ किनभने मैले राम्रो गर्न सक्थेँ तर, यो खेलमा मैले सकिनँ।

प्रतिक्रिया दिनुहोस्