लुम्बिनीमा मोन्लम पूजा सुरु



 बुटवल ।

बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिविधि प्रवर्द्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण  गर्ने गरी बिहीबारदेखि प्राणीधान मोन्लम पूजा सुरु भएको छ ।
महायाना अन्तर्गत महागुरूको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनी स्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा सुरु भएको हो । पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य एवं खेन्पो छिमे डा. ल्हारक्याल लामाले शुभारम्भ गरे । कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्य जस्तो भएको अवस्थामा आफू नेतृत्वमा आएपछि मोन्लम पूजालाई प्राथमिकता दिएको बताए ।  यो वर्षमा मात्रै ५ वटा मोन्लम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई वृद्धि गर्ने उपाध्यक्ष  खेन्पो छिमेले बताए ।

लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिष्टहरु पूजा गर्न इच्छुक हुने भएकाले कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको छ । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाको कामना गरिने उनले बताए । महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष डा. लामा सहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे  र खान्डो छिरिङमा रिपोन्छे सहभागी छन् ।
मायादेवी मन्दिर परिसरमा आयोजित पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ ।

मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी छन् । लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आकर्षित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्