को बन्ला त्रिविको उपकुलपति ?

दुई बहालवाला उपकुलपतिसहित ४३ जनाको दरखास्त



काठमाडौं ।

त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाले दर्खास्त दिएका छन्। सोमबार अन्तिम दिन त्रिविका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसाल, एक महिनापछि कार्यकाल सकिन लागेका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसहित पूर्व पदाधिकारी र अन्य विश्वविद्यालयका पूर्व उपकुलपतिहरू गरी ४३ जनाले आवेदन दिएका हुन्।

उपकुलपति छनोट समितिले १५ दिनको समय दिएर विज्ञापन गरेकोमा आइतबारसम्म ८ जनाको आवेदन परेको थियो। तर, अन्तिम दिन सोमबार ३५ जनाको दरखास्त परेको थियो।

आवेदन दिन मन्त्रालयको उपकुलपति छनोट सचिवालयको कार्यालयमा पुग्नेमध्ये त्रिविका पूर्व उपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष र त्रिविका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणि पौडेल र त्रिविका पूर्व शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलगायत छन्।

नयाँ मापदण्डअनुसार सबैजनाको योग्यता पुग्ने देखिएको जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘४३ जनाले दरखास्त हालेका छन्। क–कसले दरखास्त दिए भन्ने विषयमा सबैको आवेदन अध्ययन गरेपछि मात्रै जानकारी दिन सकिन्छ । छनोट समितिले आजबाटै काम शुरू गर्दैछ।’

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गते सकिएसँगै रेक्टर प्राडा शिवालाल भुषाललाई कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि नियमअनुसार ३ महिनासम्मको लागि उपकुलपति नियुक्ति गर्नुभएको थियो।

यसअघि आफ्नालाई त्रिविको उपकुलपति नियुक्ति गर्न मापदण्ड तयार गरेको आरोप लागेपछि प्रधानमन्त्री एवं कुलपति प्रचण्डको निर्देशनमा त्रिवि उपकुपति छनोट तथा सिफारिस कार्यविधि जारी गरिएको थियो।

सोही कार्यविधिको आधारमा ४३ जनाले आवेदन दिएका हुन । कार्यविधिअनुसार उपकुलपति हुन सय अंकको मूल्याङ्कन हुनेछ।

त्रिविका सहकुलपति मन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित समितिले १६ दिनअघि कार्यविधि जारी गरी दरखास्त माग गरेको थियो।

कार्यविधिमा सबै प्राध्यापकले आवेदन दिन पाउने व्यवस्था गरेको छ। यसअघि जारी मापदण्डमा विश्वविद्यालयको पदाधिकारी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएकोमा आलोचना भएपछि उक्त सूचना खारेज गरी कार्यविधि जारी भएको हो।

कार्यविधिमा उच्चशिक्षाको क्षेत्रमा प्राध्यापन गरेबापत प्राध्यापक पदमा काम गरेको भए प्रतिवर्ष दुई अंकका दरले अधिकतम १० अंक पाउने छन्।

प्राध्यापक हुनेले १०, विद्यावारिधिको उपाधि प्राप्त व्यक्तिले ५, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हासिल गरेकाले ४, प्राज्ञिक एवं अनुसन्धानमूलक एउटा पुस्तक लेखी प्रकाशन गरेबापत ५ र प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरेबापत ६ अंक दिने प्रावधान बनाइएको छ।

विश्वविद्यालयसम्बन्धी सोचपत्र र चार वर्षे कार्ययोजनावापत ३५, प्रस्तुतीकरणको २० र अन्तरवार्ताबाट १५ अंक दिने व्यवस्था कार्यविधिमा उल्लेख छ।

३ हजार शब्दमा विश्वविद्यालयसम्बन्धी सोचपत्र र ५ हजार शब्दमा विश्वविद्यालयसम्बन्धी चार वर्षे व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने प्रावधानअनुसार दरखास्त पेस गर्ने अधिकांशले सोचपत्र र कार्ययोजना तयार गरिसकेका छन्। समितिले सोही आधारमा मूल्याङ्कन गरी नम्बर दिएपछि छनोट प्रक्रिया अघि बढ्नेछ।

कार्यविधिमा उपकुलपतिको उम्मेदवारले ‘प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको’ स्वघोषणापत्र पेस गर्नुपर्ने उल्लेख छ।

छनोट भएका व्यक्तिमध्येबाट समितिले ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्रीसमक्ष पेस गर्नेछ। त्यसपछि कुलपतिले एकजनालाई उपकुलपतिमा नियुक्ति गर्ने प्रावधान छ।

उपकुलपतिमा दरखास्त दिनेहरू

१. गुणनिधि न्यौपाने काठमाडौं–१०
२. संगीता रायमाझी टंगाल–५, काठमाडौं
३. प्राडा कुशुम शाक्य कुलेश्वर–१४, काठमाडौं
४. प्राडा शिवलाल भुसाल झम्सिखेल–३, ललितपुर
५. सञ्जय आचार्य रानीबारी–२६, काठमाडौं
६. प्राडा टंकनाथ धमला कोटेश्वर–३२, काठमाडौं
७. प्राडा आनन्द बल्लभ जोशी नयाँ बानेश्वर–१०, काठमाडौं
८. प्राडा अक्कल देव मिश्र बोहरिगाउँ–५, दार्चुला
९. प्राडा ऋदिशकुमार पोखरेल नार्गाजुन–२, काठमाडौं
१०. नारायणप्रसाद प्राध्यापक गल्याङ–९, स्याङ्जा
११. प्राडा चन्द्रमणि पौडेल रुपा–१, कास्की
१२.प्राडा ज्ञानेन्द्रप्रसाद पौड्याल मध्यबिन्दु–१०, नवलपरासी
१३. लेखनाथ शर्मा गोरखा–७, गोरखा
१४. डा. विनयकुमार झा तिरहुत–२, सप्तरी
१५. डा. सुभनारायण पाठक महोत्तरी
१६. प्राडा महानन्द चालिसे ज्ञानेश्वर–३०, काठमाडौं
१७. सूर्यबहादुर थापा धुर्कोट–६, गुल्मी
१८. भीमसेन देवकोटा बारपाक सुलिकोट–८, गोरखा
१९. प्राडा वेदनाथ शर्मा पोखरा–३१, कास्की
२०. प्राडा नारायणप्रसाद बेल्बासे भूमिकास्थान–६, अर्घाखाँची
२१. प्राडा हेमराज पन्त शिखर–९, डोटी
२२. डा. भोजराज अर्याल भरतपुर–४, चितवन
२३. प्राडा नन्दबहादुर सिंह वीरेन्द्रनगर–८, सुर्खेत
२४. प्राडा प्रकाश घिमिरे कामना–३१, काठमाडौं
२५. प्राडा प्रकाश घिमिरे पालुङटार–२, गोरखा
२६. डा. रामचन्द्र बस्नेत हेटौंडा–४, मकवानपुर
२७. तीर्थराज खनियाँ खैरेनी–४, चितवन
२८. प्राडा केदारनाथ घिमिरे म्याग्दे–३, तनहुँ
२९. प्राडा महेन्द्रप्रसाद शर्मा वाग्लुङ–५, वाग्लुङ
३०. प्राडा विनोद पराजुली कामपा–३२, काठमाडौं
३१. प्राडा देवबहादुर खड्का सन्धीखर्क–६, अर्घाखाँची
३२. प्राडा कृष्णराज तिवारी सुन्दरबजार–३, लमजुङ
३३. केशरजंग बराल पोखरा–१०, कास्की
३४. प्राडा गोविन्द सुवेदी कीर्तिपुर–२, काठमाडौं
३५. प्राडा राजकुमार पोखरेल धनकुटा–६, धनकुटा
३६. प्राडा नवराज देवकोटा छोप्राक–८, गोरखा
३७. बालमुकुन्द रेग्मी नीलकण्ठ–९, धादिङ
३८. प्राडा रामप्रसाद रेग्मी कावासोती–२, नवलपरासी
३९. प्राडा चित्रबहादुर बुढाथोकी गलकोट–१, बागलुङ
४०. प्राडा इन्द्रबहादुर कार्की उर्लाबारी–८, मोरङ
४१. प्राडा त्रिरत्न बज्राचार्य बाफल–१३, काठमाडौं
४२. प्राडा एकराज ओझा आदर्श–२, डोटी
४३. प्राडा प्रमोदकुमार झा विराटनगर

प्रतिक्रिया दिनुहोस्