बालेनको रोजाइमा परे कान्छा सहसचिव परियार



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले आफ्नै रोजाइमा सरकारका सबैभन्दा कान्छा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा लगेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार समकालीन सहसचिवहरूमा प्रदीप परियार ३२ वर्षको उमेरमै सहसचिव बनेका सबैभन्दा कान्छा सहसचिव हुनुहुन्छ।

मन्त्रालय स्रोतका अनुसार मेयर बालेनकै सिफारिस र अनुरोधमा परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको हो।

‘बालेन आफैंले परियारको नाम दिएपछि हामीले सहसचिवको सरुवाको प्रस्तावमा उहाँलाई काठमाडौं महानगरपालिकामा लैजाने गरी मन्त्रिपरिषद्मा पठाएका हौं ।’–मन्त्रालय स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

सरकारले गत बुधबार झण्डै तीन दर्जन सहसचिवको सरुवा गर्ने निर्णय गर्दा राष्ट्रिय योजना आयोगमा रहनुभएका परियारलाई काठमाडौं महानगरपालिकामा पठाउने निर्णय गरेको हो।

परियार एक दुई दिनभित्रै काठमाडौं महानगरपालिकामा बहाली हुनुहुनेछ। उहाँले अस्ट्रेलियाको अस्ट्रेलियन युनिभर्सिटीबाट पब्लिक पोलिसीमा स्नातकोत्तर गर्नुभएको छ।

यसअघि उहाँले राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा गृह प्रशासनमा रहेर काम गरिसक्नुभएको छ।

इमान्दारीता र व्यावसायिक मूल्य मान्यतामा चल्ने सहसचिवको पहिचान बनाउनुभएका परियारको मेयर बालेनसँग राम्रो ट्युन मिल्ने विश्वास गरिएको छ।

परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘मेयर साब पनि नयाँ जोश जाँगर र भिजन भएको व्यक्तित्व हुनुहुन्छ, मैले आफ्नो क्षमताले भ्याएसम्म उहाँलाई साथ दिएर काठमाडौंलाई सुन्दर, हराभरा र समुन्नत बनाउन लाग्ने छु।’

प्रतिक्रिया दिनुहोस्