हेप्का खोला पक्की पुल निर्माण अलपत्र



हुम्ला ।

हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेप्का खोलामाथिको पक्की पुल निर्माणको काम ६ वर्षदेखि अलपत्र छ। निर्माण शुरू भएको ६ वर्षमा उक्त पुलका दुई पिल्लर मात्रै ठडिएका छन्।

ठेकेदार र हिल्सा–सिमकोट सडक आयोजनाको चरम लापरबाहीका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिका जोड्ने हेप्का खोलाको मोटरेबल पुल निर्माण अलपत्र परेको छ।

ठेकेदार कम्पनी एमएस जेबी धुलिखेलको ढिलासुस्तीका कारण नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल ६ वर्षदेखि अलपत्र परेको हो।

०७४ साउन ६ मा दुई वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको हेप्का खोला पुलको हालसम्म ठेकेदारले दुई किनारामा पिल्लर मात्र ठड्याउने बाहेकका काम गर्न सकेको छैन।

कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डमा पर्ने हेप्का खोला पुल ९ करोडमा ९९ लाख १३ हजार ७ सय ५८ रुपियाँ लागतमा पूरा गर्ने गरी एमएस जेबी धुलिखलले २०७४ साल साउन ६ गते ठेक्का सम्झौता गरेको थियो। तर, ठेकेदारले करिब २५ प्रतिशत काम गरेर पुल अलपत्र छाडेको हो।

अन्तर गाउँपालिकासँग जोड्ने सडक खण्डमा पर्ने यो पुलको फाउन्डेसनको काम भइसकेको छ। हेप्का खोला पुल भने स्वयम् हिल्सा–सिमकोट सडक योजना कार्यालयकै र ठेक्कादारकै मिलेमोतमा पटकपटक म्याद थप्ने काम मात्र भएको देखिन्छ।

सम्झौता म्याद गुज्रेको वर्ष दिन बित्ती सक्दा पनि पुलको काम पूरा नभएर पिल्लरको रडमा खिया लाग्ने अवस्था रहेको छ। निर्माण कम्पनीले आवश्यक निर्माण सामग्रीसमेत निर्माणस्थलमा जम्मा गर्न सकेको छैन । बेलामा पुल निर्माण नहुँदा आवातजावतमा समस्या भइरहेको छ।

निर्माणस्थलमा पठाएको ठेकेदार कम्पनीले पुलको थप भौतिक प्रगति भने नभएको स्थानीयको भनाइ छ। पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा निर्माण कम्पनीलाई बारम्बार ताकेता गरे पनि बेवास्ता गरेको गाउँपालिकाले जनाएको छ।

पुल निर्माण स्थलसम्मै यातायातका साधन सञ्चालन भइरहेकाले सामग्री ढुवानीमा कुनै समस्या छैन। निर्माण व्यवसायीले समयमा काम नगर्ने र कमिसनको खेलमा सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा दुई–अढाइ वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका पुलको काम ६ वर्षसम्म अलपत्र परेको छ।

सम्झौता गरेका निर्माण व्यवसायी भने सम्झौता गर्ने, पेस्की रकम लग्ने र पुलको काम अलपत्र छोड्ने गरेका छन्। पुल नबन्दा आन्तरिक रुटमा सञ्चालन हुने सवारी साधान, पशुचौपाया र मानिसलाई सास्ती बनाएको छ।

कतिपय स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै गाडी गुड्दै आएका छन्। पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।

ठेकेदारको चरम लापारबाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीय चर्को विरोध गर्न थालेका छन्। ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएको छ। निर्माणका लागि सम्झौता गरेर ठेक्केदार जिल्ला नबसेर जिल्ला बाहिर बस्दै आउनुले कामसमेत बाधा पुगेको हो।

पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमकोटलगायतका सामग्री ल्याउन समस्या भएकाले निर्माण कार्यमा ढिलाइ भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयले बताएको छ । हेप्काखोला माथि पक्की पुल त्यस्तै बेथितिको सिकार बनेको छ।

ठेकेदार कम्पनीले पेस्की फछ्र्यौटको बहानामा निर्माणमा ढिलाइ गरेको स्रोत बताउँछ। तोकेको समयमा काम सम्पन्न नसकेमा हिल्सा सडक आयोजना कार्यालय र त्यसपछि विभागकै मिलेमोतमा पटकपटक म्याद थप्ने गरेका छन्।

प्रक्रियाअनुसार कार्यालय प्रमुखले सिफारिस गरेर फाइल विभागमा पठाउनु भन्दा ठेकेदारले आफैं फाइल बोकेर विभागमा म्याद थपाएर ल्याउने गरेको कर्मचारीहरू खुलासा गरेका छन्।

कमिसन र राजनीतिक पहुुँचका आधारमा ठेकेदारले पटकपटक म्याद थप्ने गरेको पाइएको छ। जिल्लामा कतिपय ठेक्का लगेको कम्पनीका मालिकले आफूअनुकूल काम नगर्ने कार्यालय प्रमुखलाई नै सरुवा गराउने गरेका छन् ।

ठेक्का पाएपछि निर्माण व्यवसायीले तदारुकताका साथ काम गर्दैनन्। समयभित्र काम पूरा नगरे पनि सम्बन्धित निकायले दण्ड, सजाय नगर्ने र सजिलै म्याद थपिदिने गर्दा उनीहरूको मनपरी बढेको योजना कार्यालयका कर्मचारी नै बताउँछन्।

प्रतिक्रिया दिनुहोस्