आगलागीमा परी महिलाको मृत्यु 



लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ स्याँगेमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। आगलागीमा परी स्याँगे बजारमा व्यवसाय  गरी बस्दै आएका  ४५ वर्षीय राजेन्द्र श्रेष्ठका श्रीमती  ४४ वर्षीय सन्तमाया श्रेष्ठको मृत्यु भएको हो।

सन्तमायाका श्रीमान भने माथिल्लो तलाबाट हाम फालेर बाँच्न  सफल भएको मर्स्याङ्दी ४ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए। बेसीशहर नगरपालिका २, गैरीडाँडा घर भएका श्रेष्ठ दम्पती स्याँगेमा करिब साढे १ दशक देखि किराना र कपडा पसल सञ्चालन गर्दै आइरहेका थिए।

सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया निस्सासिनुका साथै आगलागीबाट निस्कन नसकेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंले बताए ।

मर्स्याङ्दी ४ का वडाध्यक्ष गुरुङका अनुसार बिहीबार राती ११ बजेतिर आगलागी भएको अनुमान गरिएको  छ। आगलागी भएको घरमा खानेपानीको पाइप काटेर आगो नियन्त्रणमा आएको प्रहरी कार्यालयका सूचना अधिकारी चपाईंले बताए। उनका अनुसार आगलागी नियन्त्रणमा लिइए पनि सबै जलेर नष्ट भइसकेको छ।

प्रहरी निरीक्षक चपाईंले आगलागीबाट ती महिलाको शव पूरै जलेको र निकाल्ने प्रयास भइरहेको बताए। आगलागीको घटनाबारे  सबै विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चपाईंले बताए।

प्रतिक्रिया दिनुहोस्