‘राष्ट्रियसभा अध्यक्ष बनेर शान्ति प्रक्रियाको कार्यभार पूरा गर्ने’



काठमाडौं ।

आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षको ‘कार्ड’ देखाउँदै मतदाता फकाउने अभियानमा खटिनुभएको छ।

पटकपटक अबसर पाएकाहरूले नै फेरि राष्ट्रिय सभाको टिकट लिएको भन्दै कार्यकर्ताहरूबाट व्यापक असन्तुष्टि बढिरहेको बेलामा त्यसलाई चिर्नका लागि कोशी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नका लागि मतदातासँग जिल्ला दौडहामा रहेका सिटौलाले राष्ट्रिय सभाको सदस्य मात्र नभई अध्यक्ष नै बन्ने र शान्तिप्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने कार्यभार रहेको बताउनुभयो।

उहाँले बिहीबार ओखलढुंगाका मतदाताहरूसँगको छलफलमा शान्तिप्रक्रियाको अभिभारा पूरा गर्नु पर्ने दायित्व बहन गर्ने बताउनुभयो।

सिटौलाले भन्नुभयो– ‘मुलुकमा १२ बुँदे समझदारीका मुख्य सहयात्री सात दलमध्येकै दलहरूबीच गठबन्धन भएको छ र आन्दोलनकै स्प्रिडमा बनेको संविधान कार्यन्वायन गर्दै शान्तिप्रक्रियाका बाँकी कामसमेत टुंगोमा पुर्‍याउनु छ।’

सत्ता सहयात्री दलका शीर्ष नेताले सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षमा अघि सार्ने मोटामोटी सहमति भएको छ। उहाँ सदस्य निर्वाचत भएर दलीय सहमति कार्यान्वयन भए सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्का छ।

नेपाली कांग्रेससहित सत्ता गठबनधनका स्थानीय नेताहरूले समेत सिटौलालाई अध्यक्षकै रूपमा हेरेर चुनावी प्रचार गरिरहेका छन्।

स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेश सभाका सांसदहरू मतदाता रहेको राष्ट्रियसभाको निर्वाचन क्षेत्रसमेत स्थानीय तह र प्रदेशसभा रहेकाले राष्ट्रिय सभाले संविधानमा भएको ब्यबस्थालाई व्यावहारिक रूपमा कार्यान्वायन गराउने भूमिका रहन्छ।

उक्त भूमिकामा योगदान गर्नकै लागि नेपाली कांग्रेसले सिटौलालाई राष्ट्रिय सभामा पठाएको नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्