प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज युगान्डा गणतन्त्र प्रस्थान गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड बिहान २:१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदै छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नेकार्यक्रम रहेको छ।

सोही दिन प्रधानमन्त्री प्रचण्ड युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो। स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ।

असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्