गठबन्धन सरकारले जनतामा आशा जगाउन सकेन: आनन्द पोखरेल



काठमाडौं ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले अहिले समाजको सबैभन्दा ठुलो चुनौती निराशा भएको बताएका छन्।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटी भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले त्यो निराशा र फ्रस्टेसन हरेक व्यक्तिमा भएको बताए। ‘सिङ्गो मुलुक फ्रस्टेसनको जञ्जाल भित्र फस्दै छ, यो नैराश्यता चिर्न सकिएन भने मुलुक बचाउन सकिँदैन, मुलुक असफल राष्ट्रतिर जान्छ’, उनले भने।

आज मुलुक हरेक क्षेत्रमा असफलतातर्फ अघि बढेको उनले बताए। अहिले मुलुक आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिक सम्बन्ध, युवा परिचालन, जीविकोपार्जन, सामाजिक न्याय, सुशासन, सुरक्षा हरेक क्षेत्रमा असफल भएको पोखरेलको भनाइ छ। यही असफलताको कारण मानिस निराशाको स्थितिमा पुगेको उनले बताए।

‘वर्तमान सरकारले जनता र राष्ट्रलाई आशा जगाउन सकेको छैन’, पोखरेलले भने। जनतालाई आशा जगाउने काम नेकपा एमाले बाहेक अरू कसैले पनि गर्न नसक्ने उनले दाबी गरे। पोखरेलले भने,‘नेकपा एमालेले मात्र आशा जगाउन सक्छ, अरू कसैले सक्दैन, यो कुरा प्रमाणित भइसकेको छ।’

गठबन्धन सरकारले एक वर्ष होइन यस अघिको कार्यकाललाई समेत जोड्दा तीन वर्ष पूरा भइसकेको उनले बताए। तीन वर्षमा गठबन्धनले गरेका सबै काम नकारात्मक भएको उनले टिप्पणी गरे। गठबन्धनको एउटै धेय एमाले र केपी ओलीलाई विस्थापन गर्ने र देशका निराशा र अस्थिरता फैलाउनु भएको पोखरेलले बताए।

वर्तमान गठबन्धन सरकार विदेशीले बनाएको र त्यो केवल विदेशीको गोटी बन्ने उनले प्रस्ट पारे। यसलाई थेग्न अब युवा परिचालन नगरी सम्भव नभएको उनले बताए। त्यसैको लागि नेकपा एमाले काठमाडौंले युवा महोत्सव आयोजना गर्न लागेको पोखरेलले प्रस्ट पारे।

फरक प्रसङ्गमा पोखरेलले एमालेका नेता, कार्यकर्ताको पार्टी प्रतिको लगनशीलता, समर्पण, क्रियाशीलता र प्रतिबद्धता बढ्दै गएको बताए। एमालेका नेता कार्यकर्ताहरू आ-आफ्नो क्षेत्रमा समर्पण भावका साथ खटिएको बताए।

यो क्रियाशीलतालाई अझ वृहत् रूपले अघि बढाउनु पर्ने आवश्यकता पोखरेलले औँल्याए। त्यसो गर्न नसके मिसन २०८४ पूरा गर्न नसकिने उनले प्रस्ट पारे। पार्टीमा युवा परिचालन र युवाको नेतृत्व विकास महत्पूर्ण कुरा भएको बताउँदै पोखरेलले त्यसमा ध्यान दिन पार्टी कमिटीलाई आग्रह गरे।

एमालेले हरेक दिन गर्ने काम ऐतिहासिक काम हुने पोखरेलले बताए। एमालेले लिने हरेक निर्णय र एमालेले गर्ने हरेक काम ऐतिहासिक बन्ने उनले प्रस्ट पारे। ‘हामीले एक दिन गरेको कामले यो मुलुक ब्युँझने छ’, पोखरेलले भने।

प्रतिक्रिया दिनुहोस्