समाजसेवी सिवाकोटीलाई सुनखानीको सम्मान



दोलखा ।

समाजसेवी स्वर्गीय दुर्गाप्रसाद सिवाकोटीलाई सुनखानीवासीले सम्मान गरेका छन्। सिवाकोटीको जीवनी प्रकाशमा ल्याएर सुनखानी क्षेत्रका बुद्धिजीवीहरूले सोमबार उनलाई सम्मान गरेका हुन्।

सुनखानीको ऐतिहासिक भवन चौघरामा ‘चौघराः दुर्गा दाइ’ नामक पुस्तक  विमोचन गर्नुका साथै उनको योगदानका विषयमा प्रकाश पारेर सम्मान व्यक्त गरिएको थियो।

पुस्तक विमोचन दुर्गाप्रसादकी अर्धाङ्गिनी विष्णुमाया सिवाकोटीले गरिन्। किताबमा कालिन्चोक गाउँपालिका वडा नं. ८ सुनखानी चौघरा निवासी स्वर्गीय दुर्गाप्रसादले जीवनकालमा शिक्षा, स्वास्थ्य, सामाजिक कार्य र विकासमा दिएको योगदानको बारेमा उल्लेख गरिएको छ।

किताब प्रकाशनमा दुर्गाप्रसादका जेठा छोरा अमेरिका निवासी माधवप्रसाद सिवाकोटीले पहल गरेका हुन्। माधवप्रसादलाई उनका भाइ यादवप्रसाद सिवाकोटी र परिवारजन तथा स्थानीय समाजसेवीले सघाएका थिए।

स्वर्गीय दुर्गाप्रसादले सुनखानीको विकास र चौघराभित्रको पारिवारिक व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएको पनि किताबमा उल्लेख छ। सुनखानीको विकास निर्माणलाई महत्त्वपूर्ण योगदान दिएकै कारण बुबाको योगदानलाई लिपिबद्ध गर्नका लागि पुस्तक प्रकाशन गरिएको प्रकाशक तथा जेठो छोरा माधवप्रसादले बताए।

शिक्षाविद्, साहित्यकार तथा लेखक समेत रहेका माधवप्रसादले प्रकाशन गरेको यो पुस्तक रोहिणीप्रसाद घिमिरेले लेखेका हुन्। यस पुस्तकमा स्वर्गीय दुर्गाप्रसाद सिवाकोटीले जीवनकालमा भोगेका सुख–दुःखको कुरा, अनुभव र सुनखानीको विकास निर्माणमा दिएको योगदानलाई विभिन्न कोणबाट प्रकाश पारिएको छ।

विष्णुमाया सिवाकोटीको अध्यक्षता र कालिन्चोक गाउँपालिका वडा नं. ८ सुनखानीका वडाध्यक्ष सूर्यबहादुर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुर्गाप्रसादका समकालीन व्यक्तिहरूले आ–आफ्ना स्मरणहरू पनि सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्