सडक दुर्घटनालाई खेलाँची नसम्झ



काठमाडौं ।

विश्वभर हुने सडक दुर्घटनाको अवस्थालाई विश्लेषण गर्ने हो भने अवस्था नाजुक देखिन्छ । विश्वभर सडक दुर्घटनाबाट वार्षिक साढे १३ लाख मानिले ज्यान गुमाउने गरेका छन्।

जसका कारण विश्वले हरेक वर्ष ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ। जसका कारण कुल गार्हस्थ उत्पादनमा समेत गम्भीर असर परेको छ। दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न भएका प्रयासहरू प्रायः असफल बन्दै गएका छन्।

हवाई दुर्घटनाले संसारभरका मानिसको ध्यान ताने पनि सडक दुर्घटनाका बारेमा जनमानसले चासो दिएको देखिँदैन। विश्वमा दैनिक सडक दुर्घटनमा परेर ३ हजार ७ सय जनाले ज्यान गुमाउने गरेका छन्।

विश्वभर सडक दुर्घटना ५–२९ वर्ष उमेर समूहका मानिसले ज्यान गुमाउने गरेका छन्। यो ज्यादै डरलाग्दो अवस्था भएको विज्ञहरूले बताउँदै आएका छन्।

अफ्रिका र दक्षिणपूर्वी एसियामा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन्। सवारी दुर्घटनाको अवस्थालाई हेर्ने हो भने न्यून आय भएका देशमा बढी दुर्घटना हुने गरेका छन्। विश्वभरमा हुने सवारी दुर्घटनमा परी मर्नेमध्ये २७ प्रतिशत मृत्यु दक्षिण एसियामा हुने गरेको तथ्याङ्कले देखाएको छ।

नेपाललगायत विश्वका कतिपय मुलुकमा सवारी दुर्घटनाबाट हुने क्षतिले मुलुकको विकासमा समेत गम्भीर असर पारेको देखिन्छ तर यसको न्यूनीकरणका उपायको बारेमा छलफल नहुँदा मुलुकले ठूलो क्षति व्यहोर्नु परेको छ।

विशेषगरी सडक दुर्घटना मानवीय कारणले हुने भनिए पनि सडक तथा सवारी साधनको अवस्थाका कारण पनि यस्ता घटनाहरू बढेको विज्ञहरूले बताउने गरेका छन्। नेपालमा हरेक दिन ४० देखि ५० ओटा सवारी दुर्घटना हुने गरेका छन्। दैनिक ८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुनमाउने गरेको देखिन्छ।

सडक दुर्घटनामा परेर हरेक वर्ष २ हजार ९ सय २० जनाले ज्यान गुमाउने गरेका छन् भने त्यसमध्ये पनि ३० प्रतिशत बालबालिकाले ज्यान गुमाउने गरेका छन्। यसले नेपालको उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने जनशक्तिलाई गुमाउनु परेको छ।

नेपालका सडकको डिजाइन र सडकले थेग्न नसक्ने किसिमका सवारीसाधनको सञ्चालनले पनि दुर्घटना बढ्दै गएको विज्ञहरूले बताउँदै आएका छन्। सडकको दूरवस्था, सवारी धनी, चालक र यात्रुको लापरबाही तथा सरकारको गैरजिम्मेवारीका कारण सवारी दुर्घटना र त्यससँग सम्बन्धित घटना बढिरहेका छन्।

नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने वार्षिक १४ हजारभन्दा बढी सवारी दुर्घटना हुने गरेको छ। सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले वर्षेनी करोडौं रुपियाँ खर्च गरे पनि सवारी साधनको जाँच गर्ने निकायको लापरबाही र भएका सडकको दूरवस्थाका कारण दुर्घटनामा कमी आउन नसकेको सरोकारवालाहरूले बताउँदै आए पनि सरकार भने कानमा तेल हालेर बसेको छ।

नेपालमा जब जब ठूला सडक दुर्घटना हुन्छन् त्यसबेला मात्रै यस विषयलाई वहसमा ल्याउने गरिएको छ । त्यसैले यसको न्यूनीकरणका लागि जुन निकायको गल्तीका कारण सडक दुर्घटना भएको छ त्यसबाट पाठ सिक्दै अब आउँदा दिनमा गल्ती नदोहोरिने वातावरण निर्माणमा ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्