गर्मी बढेसँगै देशभरका अस्पतालमा बिरामीको चाप बढ्याे



काठमाडौं  ।

पछिल्ला दिनमा देशमा चर्किँदो गर्मीसँगै परेको लामो खडेरीले वातावरण प्रदूषित भएको छ । वातावरण प्रदूषित हुँदा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।

अझ पछिल्ला दिनमा त तराईका क्षेत्रमा तातो हावा बहने र लु लाग्ने समस्या उच्च रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ सहित देशका विभिन्न भागमा वायु प्रदूषणले सीमा नाघेको भन्दै सतर्कता अपनाउन आम नागरिकलाई अपिल गरेको छ ।

मन्त्रालयले वायु प्रदुषणबाट जोगिन अनावश्यक काममा घरबाट ननिस्कने, बाहिर निस्कनै परे यात्रा गर्दा मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहने लगायतको निर्देशन दिएको छ । यस्तै यो समयमा झोलिलो पदार्थहरु प्रयाप्त मात्रामा सेवन गर्न तथा गराउन अनुरोध समेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आइतबार यसबारेमा विज्ञप्ति जारी गर्दै काठमाडौँको वायु विश्वकै अस्वस्थ करको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गरेका छन् । ‘यस्तो वायूले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर गर्नुका साथै दम क्यान्सर आदिको जोखिम समेत बढाउँछ,’ डा बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै वायु प्रदुषणकै कारणले कम तौल भएको बच्चा जन्मने, अवधि नपुग्दै बच्चाको जन्म हुने जोखिम रहने समेत उल्लेख छ । यसले नेपालीको औषत आयु ४ वर्षले घटाएको समेत दावी गरिएको छ । मन्त्रालयले नेपालमा रुग्णता तथा मृत्युको प्रमुख कारणमध्ये वायु प्रदुषण पनि एक भएको उल्लेख गर्दै आम नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।ा

प्रतिक्रिया दिनुहोस्