नेपाल आर्थिक रुपान्तरणको यात्रामा छ : डा फुयाँल



काठमाडौँ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयालले सामाजिक र आर्थिक रुपान्तरण गर्दै नेपाल समृद्धि हासिल गर्ने यात्रामा अघि बढिरहेको बताएका छन् । साइने नेपाल मिडिया सोसाइटी, चीनको सिचुवान प्रान्तका कान्च प्रिफेक्चर र चीनस्थित नेपाल राष्ट्रिय मण्डपद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले एकैखाले भूगोल, सामाजिक परिवेश एवं मौसम भएका नेपाल र चीनले संस्कृति, पर्यटन, जडीबुटी उत्पादन र व्यापार प्रवद्र्धनमा मिलेर काम गर्न सक्ने बताए ।

उनले भने, “विभिन्न नगरसँग भगिनी सम्बन्धका माध्यमबाट जनस्तरको सम्बन्ध विस्तार गरी दुई देशको हितमा काम गर्न सकिन्छ । संस्कृति, सम्पदाको संरक्षण, आयुर्वेदिक प्रशोधन तथा व्यापार प्रवद्र्धनमा ढुक्क भएर हामी काम गर्न सक्छौँ ।”

कान्च प्रिफेक्चर जनसरकार स्थायी कमिटीका सदस्य तथा महासचिव युयान मिन्गुवाङले पवित्र गान्जी पठारको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र विशेषताको अनुभूति गराउन तथा पहाडी पर्यटन, चिया संस्कृति, जातीय शिल्प र अन्य क्षेत्रसँगको सहकार्य नेपालसँग बढाउन सकिने बताए । उनले भने, “समान प्राकृतिक पृष्ठभूमि र सांस्कृतिक सम्पदाले सहयोगका क्षेत्र फेला पार्न मद्दत गर्न सक्छ, जुन हाम्रो मौलिक उद्देश्य पनि हो ।”

सो अवसरमा चिनियाँ टोलीका सदस्य वाइजी जिरेन, निमा छिरि, लिवी, सिलाङ क्विङपी र लङ्का विन्जेनलगायतले कान्चको भौगोलिक, सामाजिक, वातावरणीय अवस्था तथा सडक सञ्जाल, कृषि उत्पादन, प्रविधि तथा आर्थिक क्षेत्रमा विकास सम्भावनाबारे प्रकाश पारे । विकास र समृद्धिका हिसाबले नेपाल फलेको र फुलेको देख्न चाहेको बताउँदै उनीहरुले लगानीदेखि सांस्कृतिक आदानप्रदानसम्मका लागि कान्च खुल्ला रहेको जानकारी दिए ।

कान्चले सन् २०२६ सम्ममा प्रान्तमा हरियो खाना, जैविक कृषि उत्पादन र भौगोलिक आधारमा अग्र्यानिक कृषि उत्पादन संस्था बढाउने लक्ष्य लिएको छ । सो अवसरमा राष्ट्रिय चिया तथा कफी बोर्ड नेपालका निमित्त कार्यकारी निर्देशक डा दीपक खनालले नेपालको अग्र्यानिक चिया र कफीका निकासीका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने धारणा राखे । नेपालमा वार्षिकरुपमा चिया करिब २७ हजार मेट्रिक टन उत्पादन हुन्छ ।

नेपालमा बुद्धदर्शनका क्षेत्रमा अध्ययन-अध्यापन गर्दै आएका पुण्यप्रसाद पराजुलीले मञ्जुश्री र बोधिसत्वको नेपाल प्रवेशसँगै दुई देशबीचको सम्बन्ध घनिष्ठ र प्रगाढ रहेको बताए । यस अवसरमा आयुवेर्दिक औषधि उत्पादक सङ्घका अध्यक्ष सुमन पाण्डे र प्राध्यापक बालमुकुन्द रेग्मीलगायतले नेपालको चिया, कफी, घाँसदेखि आयुर्वेदिक औषधि उत्पादन, गुणस्तर कायम, संरक्षण, बजार प्रवद्र्धन विषयमा दुई देशबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्