ज्ञानेन्द्र शाहको भैरहवामा सम्बोधन : मलाई आऊ देश बचाऊ भनेको सुन्छु, म नेपालभित्रै छु



रुपन्देही ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्।

भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए। ‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले बताएका छन् ।

‘हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं’, शाहले आफ्नो सम्बोधनमा भनेका छन् । साथै उनले अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश सुन्दर र मनोरम भए पनि यतिका सम्पदा, मूल्य मान्यता तथा सभ्यता भएर पनि आज कता कता आफैँ हराइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्