लघुवित्तीय संस्थाबाट पीडित लुम्बिनी प्रदेशका जनता सडकमा



बुटवल। 

लघुवित्तीय संस्थाले कर्जा प्रवाहमा ज्यादती गरेको भन्दै भैरहवामा लुम्बिनी प्रदेशका लघुवित्तीय पीडितहरुले प्रदर्शन गरेका छन् । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति नेपालले प्रदर्शनको व्यवस्थापन गरेको हो ।

उनीहरूले लघु वित्तीय संस्था खारेज गर,लघुवित्तिय संस्थाहरु द्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, ऋणी मार्न पाइँदैन लगायतका नारा सहित प्रदर्शन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर अगाडि सभा गरेका छन् ।

भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको लुम्बिनी प्रदेश सम्मेलन तथा विरोध प्रदर्शन राष्ट्र बैंक अगाडि कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली, लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवान, गगन विश्वकर्मा, सिखा रेग्मी, अब्दुल शाह, कोशी इन्चार्ज रमेश सुनार, प्रदेश इन्चार्ज रोमन थापा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष लगायतले लघुवित्तियको कारणले परिवार उजाडिन पुगेको, शोषणमा परि आत्महत्या तथा ज्यान गुमाएको, ऋण तिर्दा समेत बैंकहरुले कालोसूचिमा राखेको बताएका छन्  ।

लघु वित्तीय संस्थाहरुले राष्ट्र बैंकको नियम नमानेर ऋण प्रवाह गरेर सास्ती दिएको, ऋणीको क्षमता नबुझी कर्जा प्रवाह गरेर अहिले दुःख दिइरहेको र ऋणीलाई बिचल्ली समेत बनाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्