विप्रेषणको सही उपयोग हुनुपर्‍यो



काठमाडौं ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले बैंकिङ प्रणालीमार्फत ४ खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ विप्रेषण पठाएको तथ्यांक नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेको छ।

गत साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह गतवर्षको सोही अवधिको तुलनामा २६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको पनि विप्रेषण आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव १ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ८ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ जना रहेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ हजार ४ सय २८ थियो । विप्रेषण आप्रवाहको उल्लिखित तथ्यांक वैधानिक तबरबाट आउने हो। अवैध बाटो हुण्डीमार्फत हुने विप्रेषण आप्र ाहको तथ्यांक यो भन्दा धेरै ठूलो रहेको विज्ञहरूको धारणा छ।

यद्यपि, यसको औपचारिक तथ्यांक भने आउन वसकेको छैन । राष्ट्र बैंककै तथ्यांक हेर्दा उक्त अवधिमा विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेर १६ खर्ब ९६ अर्ब ७८ करोड रुपियाँ पुगेको छ । गत असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोडबाट कात्तिक मसान्तमा ८ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ। देशमा विदेशी मुद्राको सञ्चिति बढ्नु नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देशका निम्ति सुखद पक्ष हो।

नेपालमा डलरलगायत विदेशी मुद्रा आम्दानीको बलियो स्रोत विप्रेषण र पर्यटन हो। पछिल्लो तथ्यांकलाई हेर्दा दुवै क्षेत्रको स्थिति सकारात्मक रहेको छ। सामान्यतया विप्रेषण आप्रवाहको वृद्धि सकारात्मक भए पनि नेपालको श्रमशक्तिले पठाएको उक्त विप्रेषणको उपयोग कहाँ र कसरी भएको छ ? भन्ने कुराचाहिँ अत्यन्तै महत्वपूर्ण रहेको छ।

ठूलो संख्यामा युवा श्रमशक्ति विदेशमा जाने र त्यहाँबाट आएको विप्रेषणले दैनिक उपभोग्यवस्तु र विलासिताका वस्तुको आयात गर्न फेरि विदेश नै पठाउनुपर्ने स्थिति छ।

यस्तो प्रवृत्तिले एकातिर श्रमबाट प्राप्त विप्रेषणको सही सदुपयोग हुन सकिरहेको छैन भने अर्कोतिर स्वदेशमै पनि उत्पादन गर्न सकिने वस्तुको पनि आयात वृद्धि हुँदा व्यापार घाटा उच्च हुँदै आएको छ।

स्वदेशमा युवा श्रमशक्ति अभाव हुँदा उत्पादन घटेको छ भने दुःख गरी कमाएको पैसा फजुल खर्च हुँदा बुढेसकालमा आयस्रोतविहीन हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ।

त्यसैले विप्रेषण आप्रवाहको तथ्यांक बढ्यो भनेर खुशी हुनुभन्दा विदेशमा दुःख गरेर कमाएको पैसाको सही ठाउँमा सदुपयोग भयो भन्ने विषयमा गर्व गर्नुपर्ने हुन्छ। त्यसका निम्ति राज्यले विप्रेषण उपयोगसम्बन्धी जनचेतनाका साथै आवश्यक नीति ल्याउन आवश्यक छ।

अहिले वैदेशिक रोजगारीमा रहेकालाई पुँजी बजारमा आकर्षित गर्न आरक्षणको व्यवस्था छ। त्यसलाई अझै व्यापकता र सुदृढ गर्नुपर्ने देखिन्छ। साथै उमेरमा दुःख गरेर कमाएको पैसालाई बचत वा उत्पादनमा लगाइयो भने बुढेसकालको सहारा हुन्छ भन्ने कुराको पनि चेतना बढाउन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्