सुर्ती नियन्त्रणमा कडाइ गरियोस्

0
Shares

काठमाडौं ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि ऐन २०६८ बनेसँगै नेपालमा पहिलोपटक सुर्तीजन्य पदार्थको बट्टा तथा र्‍यापरमा ७५ प्रतिशत भाग सचेतनामूलक चित्र छाप्नुपर्ने नियम बन्यो र कार्यान्वयन पनि भयो। यसको लगत्तै ९० प्रतिशत भागमा सचेतनामूलक चित्र अनिवार्य गर्नुका साथै बिक्री वितरणमा समेत कडाइ गर्ने ऐन बन्यो।

नेपालको यो कदमका लागि विश्वले नै नेपालको प्रशंसा गर्‍यो। नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि चालेको कदमलाई अझ सशक्त बनाउन नेपाललाई अवार्डसमेत प्रदान गरियो। तर नेपाल सरकारले तोकेको मापदण्ड सरकारकै सरोकारवाला निकायले पालना नगर्दा आज काठमाडौँ महानगरपालिकाले महानगरभित्रका ३२ वटै वडामा बुधबारदेखि खुल्ला र प्लास्टिकमा प्याकिङ सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

तर विगतको इतिहासलाई हेर्दा कार्यान्वयन गराउने निकायको फितलोपनले सुर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोगलाई सजिलै नियन्त्रण गर्न कठिन देखिन्छ। बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न प्रतिबन्ध लगाउने भनिए पनि हुक्काजस्तो युवा–रेस्टुरेस्टको आकर्षणलाई सम्बोधन गरेको छैन ।

महानगरको स्वास्थ्य शाखाले कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता सामग्री जफत गरी कारबाही गर्ने पूर्वसूचना जारी गरेको छ। तर महानगरले गएको असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट–सुर्ती खान रोक लगाएको भने पनि नियम कार्यान्वयन अहिलेसम्म भएको छैन।

सुर्ती नियन्त्रण ऐन २०६८ मा सार्वजनिक ठाउँ, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्कलगायतका क्षेत्रमा सुर्तीजन्य पदार्थ बेचबिखन तथा प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरे पनि कानुन तथा नियमको पालना नगर्नेलाई अहिलेसम्म कारबाही भएको पाइएको छैन। महानगरले भने कारबाही हुने जनाएको छ।

हाल नेपालमा धूमपान गर्ने मानिसको संख्या ३२ प्रतिशत रहेको स्वास्थ्य सर्वेक्षणमा उल्लेख गरिएको छ। नेपालमा २० प्रतिशत मानिसको मृत्यु धूमपानका कारणले हुन्छ। तथ्यांक अनुसार एक वर्षमा धूमपानबाट ३७ हजार ५ सय २९ जना अर्थात् १ घण्टामा ४ जनाको मृत्यु हुन्छ।

हरेक ५ जनामा एक जनाको मृत्यु धूमपानका कारणले हुन्छ। दक्षिण एसियामा धूमपानबाट सबैभन्दा बढी मृत्यु हुने देश नेपाल पर्छ। ३० वर्षअगाडि नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्युदर श्रीलंकाभन्दा कम थियो तर हाल श्रीलंकाभन्दा दोब्बर रहेको आँकडाले देखाउँछ।

विश्वका २०४ देशमध्ये नेपाल धूमपानबाट मृत्यु हुने १९ औं स्थान र संसारकै उच्च देशमा पर्छ। साथै मृत्युको दोस्रो प्रमुख कारण धूमपान हो भन्ने तथ्यांकले देखाउँछ। पछिल्लो ३० वर्षमा धूमपानबाट मृत्यु हुनेको संख्या ६० प्रतिशतले वृद्धि भएको छ।

यतिमात्र नभई दक्षिण एसियामा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर तिर्ने देश नेपाल हो । यही अवस्था रहिरहने हो भने सन् २०५० सम्ममा १३ लाख ४० हजार मानिसको ज्यान सुर्ती सेवनका कारण जान्छ। सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिवर्ष ५२ हजारजनाको मृत्यु हुनेछ।

पछिल्लो समय धूमपानमा युवाहरु धेरै नै फसेको यत्रतत्र देखिन्छ। हुक्का बारविना रेस्टुरेन्ट चल्दैन। त्यसैले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि यसमा कर वृृद्धि गरी नियमलाई कडाइका साथ लागू गर्नु जरुरी छ। कारबाही र कर बढाउनु नै सुर्तीजन्य पदार्थको नियन्त्रण गरी स्वस्थ नागरिकको परिकल्पना गर्नु हो।