देउवाका ‘सारथी’ रोक्ने संस्थापनइतरको दाउ

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसबाट पटकपटक अवसर पाएका नेताहरूलाई राष्ट्रियसभामा नपठाउने विषयमा शेखर कोइराला–गगन थापा समूहबीच मतैक्यता देखिएको छ।

संस्थापनइतर समूहको बुधबार बत्तिस पुतलीस्थित एउटा पार्टी प्यालेसमा भएको भेलामा अधिकांश नेताहरू ‘झ्यालबाट छिरेर’ वा विभिन्न तरिका अपनाएर पटकपटक अवसर पाएका सभापति शेरबहादुर देउवाका ‘सारथी’लाई राष्ट्रियसभामा रोक्नुपर्नेमा एकमत देखिएका हुन्।

कांग्रेस संस्थापन पक्षले राष्ट्रियसभामा पुरानै नेताहरूलाई प्रथमिकता दिने संशय संस्थापनइतर समूहलाई छ। संस्थापनइतर समूहले गत निर्वाचनमा हारेका र समानुपातिक सूचीमा नाम राखेका आफू निकटका नेताहरूलाई राष्ट्रियसभामा पठाउने प्रयत्नमा रहेका सभापति शेरबहादुर देउवाको प्रयत्नलाई रोक्नुपर्नेे निष्कर्ष निकालेको छ।

बैठकमा नेता गुरुराज घिमिरेले भन्नुभयो–‘यो वा त्यो बहानामा २०४८ सालदेखि निरन्तर अवसर पाएकाहरूलाई फेरि राष्ट्रियसभामा पठाउने कुरा स्वीकार गर्न सकिँदैन । हाम्रा नेताहरूले त्यसलाई कुनै हालतमा रोक्न सक्नुपर्छ।’

पटकपटक अवसर पाएकाहरूलाई राष्ट्रियसभामा नपठाउँदा राष्ट्रियसभाको अध्यक्ष बन्न दौडधुप गरिरहेका सभापति देउवाका विश्वासपात्र गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलासमेत रोकिनेछन्।

राष्ट्रियसभा निर्वाचन, पार्टीको आगामी महासमितिको बैठक र सरकारको कार्यशैलीका विषयमा छलफल गर्न आयोजित भेलामा संस्थापनइतर समूह निकट मानिएका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलबाहेक शेखर–गगन समूहका ४५ भन्दा बढी नेताहरूको सहभागिता थियो।

छलफलको मुख्य एजेन्डा नै राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट हुने प्रतिनिधित्वका विषय बनेको नेता अर्जुननरसिंह केसीले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले योसँगै आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, राष्ट्रियसभा निर्वाचन, आगामी पुस १६–१९ का लागि तय भएको महासमिति बैठकलगायतका विषयमा छलफल भएको पनि बताउनुभयो ।

राष्ट्रियसमा नयाँ व्यक्ति पठाउने विषयमा सो समूहमा एक मत देखिए पनि आगामी महासमितिको बैठक सार्ने विषयमा फरक मत देखिएको छ।

महासमिति बैठक सार्ने कुरामा पुराना नेताहरू मौन छन् । तर, युवा नेताहरूले महासमिति बैठक पटकपटक सार्दा कांग्रेस विधानअनुसार नचलेको सन्देश जाने भएकाले बैठक सार्न नहुने तर्क गर्दै आएका छन् । छलफलमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समेत आलोचना भएको छ।

मुलुक भ्रष्टाचारमा चुर्लम्म डुबेको नेताहरूले आरोप लगाएका छन्। छलफलमा नेताहरूप्रति नागरिकको दृष्टिकोण सकारात्मक बनाउन कांग्रेसको मुख्य सहभागितामा बनेको सरकार र कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले भ्रष्टाचार न्यूनीकरण, सुशासन र समृद्धिका लागि देखिनेगरी काम गर्नुपर्ने आवाज उठेको नेता केसीले जानकारी दिनुभयो।

पछिल्लो केही समयदेखि सो समूहभित्र पनि शेखर–गगनबीच सम्बन्धमा दरार आए पनि यो बैठकले संस्थापनइतर समूह एक ढिक्का भएर जाने सन्देश दिएको नेताहरूले बताएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई अघि सार्दा डा. शेखर कोइरालाले आफूहरूसँग सल्लाह नगरेको भन्दै गगन थापा असन्तुष्ट हुनुहुन्थ्यो।

मंगलबार नेता अर्जुननरसिंह केसीका घरमा भएको लामो छलफलपछि संस्थापनइतर समूहमा पनि विभाजन देखिए पार्टी नेतृत्वबाट भएका गल्ती कमजोरीहरूका बारेमा बोल्न नसकिने निष्कर्षसहित सो समूहमा एकताको सन्देश दिएर जानेगरी अघि बढ्ने सहमति भएको थियो।

यद्यपि, स्थापनइतर समूहमा कुनै समस्या नभएको दाबी गर्दै उपसभापति धनराज गुरुङले भन्नुभयो–‘यो हाम्रो समूहमा कुनै समस्या छैन, कतिपय मिडियाहरूले समस्या बनाइदिएका मात्रै हुन्। अहिलेको हाम्रो छलफल भनेको पार्टीमा लामो समय दुःख गरेर अवसर नपाएकाहरूलाई राष्ट्रियसभामा पठाउनुपर्छ भन्ने विषयमा केन्द्रित हो । यो आगामी कार्यसम्पादन बैठकको पूर्व तयारीजस्तै हो।’

छलफलमा कोइराला–थापा समूहमा पनि जिम्मेवारी नपाएका नेताहरू सन्तुष्ट छैनन्। अवसर पाउदा नेताहरूले कसैसँग छलपल नगर्ने, विद्रोह गर्नुपर्ने अवस्था आउँदा मात्रै नेताहरूले युवा नेताहरूलाई खोज्ने गरेको केही युवा नेताहरूले आरोप लगाएका छन्।

पार्टीका हरेक अवसरहरूमा एकलौटी गर्ने, पार्टीलाई विधानविपरीत सञ्चालन गर्ने नेतृत्वको एकाधिकार अन्त्यका लागि संगठित भएको संसथापनइतर समूहमा पनि केही नेताहरूले असन्तुष्टि जनाएका छन्।

‘केही समयदेखि यो समूहमा पनि दुई तीन जना नेताहरूले बसेर लेनदेन गरेर मूल एजेन्डा छायामा पार्ने गरेको महसुस भएको छ’, सो समूहका युवा नेता भुपेन्द्रजंग शाहीले भन्नुभयो– ‘हामीले पनि फेरि पार्टी नेतृत्वले गरेजस्तै संस्थापनइतर समूहका दुई तीन नेताहरू बसेर निर्णय गर्ने र अवसर वितरणमा आफैं केन्द्रित हुने हो भने हाम्रो समूहको औचित्यमाथि प्रश्न उठ्न सक्छन्। यसमा नेताहरू सचेत हुनुपर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।’