आरती साह मृत्यु प्रकरणको निष्पक्ष छानवीनका लागि पहल गर्ने प्रतिबद्धता



काठमाडौं । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आरती साह मृत्यु प्रकरणलाई मन्त्रालयले गम्भीर रुपमा लिएको बताउँदै आरतीको मृत्युको सत्यतथ्य र निष्पक्ष छानवीनका पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिक समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्य आएको थाह पाएर मृतक आरतीकी आमा निर्मला देवी साह कार्यक्रम स्थलमा पुगी आफ्नी छोरीलाई न्याय दिलाउन मन्त्रीसँग अनुरोध गरेकी थिइन् । उनलाई सान्तन्वना दिंदै मन्त्री आचार्यले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गत जेठ ६ गते आफ्नै घरमा मृत भेटिएकी धनुषाकी आरतीलाई उनकै पति र ससूराले दाइजो नल्याएको निहुँमा हत्या गरेको आरतीको माईती पक्षको आरोप छ । आरतीको न्यायका लागि भन्दै उनको माइती पक्ष काठमाडौंको शान्ति बाटिकामा धर्ना दिइरहेका छन् । यसअघि कार्यक्रममा मन्त्री आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदैसबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउन जोड दिएका थिए ।

नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भए पनि सोहीअनुरुप कार्यान्वयन हुन सकेको जिकिर गर्दै उनले भन–“अहिले पनि लैङ्गिक हिंसा रोकिएको छैन । जतिसुकै कानुनी व्यवस्था भए तापनि सचेतनाका कार्यक्रम बृहत् नगरेसम्म अवस्था यस्तै रहन्छ । सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ ।”

संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त रहेको उल्लेख गर्दै मन्त्री आचार्यलेसमाजमा हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाएसम्म संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न सम्भव नभएको बताए ।

उनले महिला हिंसाविरुद्धको गतिविधि उन्मुलन गर्न लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रुपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

कार्यक्रममा सञ्चारिक समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रका निर्णायक तहमा महिला सहभागिताको आवश्यकता रहेकोमा जोड दिइन् । कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्