प्रधानमन्त्रीले भने- शासकीय सुधारका लागि आयोग गठन हुन्छ



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन्। बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताएका हुन्।

यसका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको दाहालले बताए। ‘सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन, समग्र प्रणालीमा नै सुधार गर्ने कुरामा छलफल गरेका छौँ,’ प्रधानमन्त्री दाहालले भने, ‘शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ।’

जनताले अनुभूत गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दाहालले बताए।

आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै दाहालले असन्तुष्टि व्यक्त गरे। जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न प्रधानमन्त्री दाहालले मातहतका सबै निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्