महिला हत्या आरोपमा ४ जना पक्राउ 



धादिङ ।
धादिङको धुनिवेशी र त्रिपुरा सुन्दरी गाउँपालिकामा २ जना महिलाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

प्रहरीले फरक फरक दुई घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरी  जिल्ला अदालतको आदेशले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।  त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन् । बस्याल बलात्कार चोरी लगायतका घटनामा पटक पटक सजाय भोगेको व्यक्ति भएको  प्रहरीको भनाई छ।

त्रिपुरा सुन्दरी गाउँपालिका–६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीलाई हत्या गरेको अभियोगमा मङ्सिर १५ गते ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

‘मृतकको अनुहारमा कोतरिएको, घाँटीमा नीलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपस्ट भएको अवस्थामा मङ्सिर १४ गते राती आफ्नै घरमा उनको शव भेटिएको थियो’ एसपी मिश्रले भने, ‘सूक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिची हत्या गरिएको खुलेको हो।’

हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली पनि पक्राउ परेका छन्। आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो।’

यस्तै धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षीय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ। धुनिवेशी नगरपालिका–१ डुम्रेचौरस्थित २० वर्षिया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मङ्सिर १७ गते उनले हत्या गरेका थिए।

हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले जानकारी दिए। ‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटी लगायत शरीरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ’ एसपी मिश्रले भने ।

प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो। विवाह पश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पतीबीच पहिलेदेखि मनमुटाब रहेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्