अर्थमन्त्री महत भन्छन्- एनसेलको सेयर बिक्रीबारे सरकारलाई जानकारी छैन



चितवन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन्। मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए।

उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ। समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ। अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ। समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ। पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्।”

उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताए। अर्थतन्त्र सुधारका निम्ति धेरै नीतिगत निर्णय गरिएको उनले उल्लेख गरे। लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ।

सहज रूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्री रूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए। उनले भने, “घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ।”

ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायत विषयमा सरकारले राहतका निम्ति कोसिस गरिरहेको उनको भनाइ छ।

सञ्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताए। उनले भने, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो। यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ।”

आधिकारिक रूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारीसँग बुझ्दै गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्