चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मीको शव भेटियो



हुम्ला ।

हुम्लामा घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन्।

हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भिरमा शव फेला परेको हो। उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको अनुमान छ। फडेरा गत शुक्रबारदेखि वेपत्ता थिए। उनी बेपत्ता भएपछि आफन्तले खोजी तीव्र पारेका थिए।

आफन्तले उनलाई सोमबार दिउँसो मृतावस्थामा फेला परेका हुन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’

मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले बताए।

प्रतिक्रिया दिनुहोस्