६ नेपालीको शव ल्याउने वातावरण मिलाइदिन आग्रह

0
Shares

काठमाडौं  । 

रूसी सेनामा भर्ना भएर युक्रेन युद्धमा सहभागी भएर मारिएका ६ जना नेपालीको शव नेपाल ल्याउने वातावरण मिलाइदिन नेपाल सरकारले रूस सरकारलाई आग्रह गरेको छ । सोमबार विज्ञप्तिमार्फत् सरकारले अहिलेसम्म रूसी सेनामा भर्ती भएर ६ नेपालीले सहादत प्राप्त गरेको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले मृतकको शव नेपाल पठाउन रूसी सरकारसँग अनुरोध गरेको दाबी गरेको छ । सरकारले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए तत्काल नेपाल फर्काउन पनि रूसी सरकारलाई आग्रह गरेको छ । रूसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।