उपत्यकामा पहिलोपटक भेटियो पाहुना चरा ‘स्वेतमाथा कलहाँस’ (भिडियाेसहित)

थाकेपछि आहाराको खोजीमा आएको अनुमान, नियन्त्रण गरेर उपचार गर्ने तयारी

42
Shares

काठमाडौं  । 

पंक्षी संरक्षकले उपत्यकामा पहिलोपटक नयाँ पंक्षी फेला पारेका छन् । यही ११ गतेदेखि हनुमन्ते खोलाको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको लागि नयाँ हो । यो पंक्षी साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा आएको हो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान पंक्षी विज्ञको छ । पंक्षीविज्ञ सञ्जय था श्रेष्ठका अनुसार सो पंक्षी पहिलोपटक सन् २००४मार्च २४ मा नेपालमा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा २ वटा कलहाँस देखिएका थिए ।

गतवर्ष पनि नारायणीनदी आसपासमामा ४ वटा कलहाँस देखिएका थिए । कहिलेकाहीँ मात्र तराई र भित्री मधेसमा घुम्न आउने यो पंक्षी कसरी हनुमन्तेमा आइपुग्यो भन्ने विषयमा खोजी भइरहेको पंक्षीविज्ञ श्रेष्ठले जानकारी दिनुभयो । हनुमन्ते खोलामा आएकै दिन सोमबार पंक्षीविज्ञ डा. कमलराज गोसाई, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले क्यामरामा कैद गर्नुभएको थियो । पंक्षीविज्ञ श्रेष्ठले त्यसैको भोलिपल्ट सो पंक्षीको तस्वीर खिच्नुभएको थियो । चिसो मौसममा बस्न नसक्ने सो पंक्षी किन चिसो मौसम भएको हनुमन्तेमा भन्ने विषयमा पंक्षीविज्ञले दैनिक अनुसन्धान गरिरहेका छन् । उच्च हिमाली क्षेत्रबाट उडेर

आएको हुनसक्ने कलहाँस थकाइ लागेर आहारा खोजीमा खोला किनारामा बसेको हुनसक्ने जिकिर गर्दै पंक्षीविज्ञ श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो चरा थाकेपछि केही दिन खोला किनारमा वास बसेर लेउ, किराफट्याङग्रा झारपात खाएर लामो समयसम्म उड्न सक्ने भएपछि गन्तव्यतिर जाने गरेको छ । त्यही भएर लामो समयसम्म उडेर थाकेपछि हनुमन्तेमा आहाराको लागि आएको हुनसक्छ ।’ हुन त विगत वर्षको तुलानमा राजधानीमा चिसो नभएका कारण यस्ता प्रजातिका पंक्षीहरू खोला किनारामा आएको हुनसक्ने अनुमान पंक्षीविज्ञको छ ।

कलहाँस हनुमन्तेमा आएपछि सोही दिन हिमालयन नेचर, वर्ड कन्जरवेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–वर्ड नेपालले अभिलेख गरिसकेको छ । करिब ३ देखि ४ केजी तौल हुने कलहाँस हाँसजस्तै देखिन्छ । खोलामा हाँस देखेर स्थानीयले मार्न सक्ने भन्दै वन विभाग र पंक्षी विज्ञले उद्दार गर्ने तयारी गरेका छन् । तर, टोलीले हालसम्म उक्त पंक्षीलाई नियन्त्रणमा लिन सकेको छैन । पंक्षीविज्ञ श्रेष्ठले उद्धार गरी चिडियाखानामा उपचार गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
जाडो छल्न नेपाल आएपछि करिब दुई महिना पाहुना भएर गन्तव्यतर्फ जाने कलहाँस नेपालकै लागि दुर्लभ पाहुना पंक्षी हो । यो कलहाँस गर्मी मौसममा खोयाहाँसजस्तै निक्कै माथि उचाइमा उडेर बास बस्ने गरेको छ ।
हनुमन्तेमा देखिएको कलहास  :तस्बीरः पंक्षीविज्ञ सञ्जय था श्रेष्ठ