विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा सम्पन्न

 सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी योजना निर्माण



काभ्रे। 

विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा सम्पन्न भएको छ । डिसेम्बर १ देखि आयोजना गरिएको सम्मेलन आइतबार सम्पन्न भएको हो ।‘धुलिखेल अस्पतालमा विभिन्न मुलुकका विपद् विशेषज्ञहरु सम्मिलित पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ’– जनरल प्राक्टिस एन्ड इमरजेन्सी मेडिसिन विभाग तथा आयोजक समिति सचिव डा. सम्झना बस्नेतले भनिन–‘सम्मेलनमा विश्वका विभिन्न मुलुकमा भएका विपद् पूर्व तयारीका विषयमा तीन दिनसम्म बृहत् छलफल भएको छ ।’  छलफलबाट निस्किएको निचोडलाई धुलिखेल अस्पताल तथा नेपालका विभिन्न अस्पतालहरूमा चिकित्सक तथा उपचारमा संलग्न व्यक्तिहरूले कार्यान्वयन गर्नेछन् । सम्मेलनमा विपद् व्यवस्थापनमा संलग्न काभ्रेपलान्चोक जिल्लाका विभिन्न क्षेत्रका सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो ।

‘प्रकोप, त्यसको असर तथा आघात, आपतकालिन उद्धार तथा त्यसको सञ्चार, प्रकोपमा हेरचाहको विन्दु अर्थात् विभिन्न तयारी, अन्तर विभाग, अन्तर अस्पताल र सञ्चार समन्वयका बारेमा पहिलो दिन छलफल भयो’– सम्मेलन संयोजक धुलिखेल अस्पतालमा कार्यरत प्रा.डा.बलराम मल्लले भने–‘सामरिक चिकित्सा, उपचारका लागि आवश्यक पर्ने अन्य उपकरण तथा सामाग्री, सङ्क्रमण रोकथाम र नियन्त्रणका बारेमा दोस्रो दिन छलफल भयो ।

अस्पतालमा हुने नेतृत्वदायी भूमिका तथा निर्देशन र संयोजन, प्रकोपमा नेतृत्व, विपद् व्यवस्थापन अनुभव साझेदारी, अभ्यास तथा प्रकोपमा औषधीको व्यवस्थापन र सूचना संचारका बारेमा समेत छलफल भएको छ ।’ सम्मेलनको अन्तिम दिन आइतबार सङ्क्रामक रोगको प्रकोप, ठुलो भूकम्प, विमान दुर्घटना, अस्पतालको भवन भत्किएको अवस्थामा उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा तथा अन्य प्रकोपमा खेल्नु पर्ने भूमिकाका बारेमा छलफल भएको छ । औषधी तथा उपकरण विना नै चिकित्सकहरुले विपदमा कसरी उपचार गर्न सक्छन भन्ने विषयमा समेत सम्मेलनमा छलफल भएको आयोजक समिति सचिव सम्झना बस्नेतले जानकारी दिइन् । संचारकर्मीहरुले कसरी रिपोर्टिङ्ग गर्न सक्छन् अर्थात् विश्वमा मिडिया तथा मिडियाकर्मीसँग कसरी सूचना सहजै पु¥याउन सकिन्छ ? भन्ने विषयमा समेत समूहगत छलफल भएको थियो ।

२०७२ सालको भूकम्पमा धुलिखेल अस्पतालले एकै पटक चार हजार भन्दा धेरै विरामीहरुको उपचार गराएको अनुभव तथा अभ्यासका आधारमा अस्पतालले सुरु गरेको विपद् पूर्व तयारीबाट कोभिडको उपचारमा केही सहज भए पनि दैनिक हुने विपद् तथा विपद्का ठुला घटनामा स्वास्थ्य संस्थाहरूले अपनाउनु पर्ने पूर्व तयारी र सरोकारवालाहरूको भूमिकाका बारेमा सम्मेलन महत्त्वपूर्ण अनुभव साटासाट गरिएको डा. मल्लले बताए । सम्मेलनमा विभिन्न देशका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनले आगामी दिनमा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण तथा पूर्व तयारी योजना समेत निर्माण गरेको छ । धुलिखेल अस्पतालले काभ्रे जिल्लाका केही स्थान बाहेक अन्यत्रबाट विपद्को केही घण्टामा बिरामी अस्पताल ल्याईपु¥याउँदा सहज रुपले उपचार गर्न सक्ने गरी तयारी गर्ने गरी तयारी गरिरहेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्