काठमाडौँ  विश्वविद्यालयका विद्यार्थीहरुले सुरु गरे सूचना प्रविधि प्रदर्शनी मेला 



काभ्रे। 

कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजना हुँदै आईरहेको सूचना प्रविधि सम्बन्धी वार्षिक कार्यक्रम, सस्चना प्रविधि प्रदर्शनी मेला आइतबार देखि काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा भइरहेको छ ।

काठमाडौँ विश्वविद्यालयका डिन प्रा.डा.मनिष पोखरेलले प्रदर्शनी मेलाको शुभारम्भ गर्दै पछिल्लो समय कम्प्युटर तथा सूचना प्रविधिमा भएका प्रगति तथा विद्यार्थीहरुले सिकेका सिपलाई प्रयोगात्मक रुपमा व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा ज्ञान उपलब्ध गराउन सहयोग पुग्ने बताए । विद्यार्थीहरुले प्रदर्शनी मेलाको अवलोकनका लागि उपत्यकाका तीन जिल्लाका साथै काभ्रेका विभिन्न पालिकामा आइटीसँग सम्बन्धित ६० वटा भन्दा धेरै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई आमन्त्रण गरेका छन् ।

प्रदर्शनी मेलाबाट प्राविधिक क्षेत्रमा रुची राख्ने ब्यक्तिहरु, ब्यवसायीहरू र विद्यार्थीहरूलाई अन्तरदृष्टिपूर्ण छलफल, विशेषज्ञ वार्ता र सहयोगी गतिविधिहरूमा संलग्न हुनको लागि जीवन्त अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । उद्घाटन कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा. जर्नादन लामिछाने, विभागित प्रमुख बालकृष्ण बल लगायतले प्रदर्शनी मेलाले सूचना प्रविधिका क्षेत्रमा सक्रिय विद्यार्थी तथा ब्यवसायीहरुलाई उत्साह भर्ने बताए । विद्यार्थीहरु अभय बज्राचार्य, सौरभ घिमिरे तथा आकृति बञ्जाराले प्रविधि सम्मेलनका बारेमा जानकारी दिँदै सशक्तीकरण तथा सूचना प्रविधिको उपयोगका बारेमा प्रदर्शनी मेलाले सकारात्मक सन्देश दिएको बताए ।

 सम्मेलनको मुख्य आकर्षक पछिल्ला घटनाक्रमहरूको अन्वेषण र विचार आदान प्रदानलाई बढवा दिनु रहेको संयोजक सौरभ घिमिरेले बताए । मेलामा विद्यार्थीहरुले तयार पारेको योजनामूलक ब्यवसायीक सामाग्रीहरू प्रस्तुत गरिएको छ भने विभिन्न देशमा भएका आईटिको प्रयोग तथा नयाँ अन्वेषणका बारेमा अन्तर्क्रिया गरिएको छ । सम्मेलनमा ४० वटा स्टल छन् ।

चलायमान, सृजनशीलता विश्वमा के भइरहेको छ ? आइटीमा आकर्षण थप बढाउन तथा ब्यक्तिहरुलाई सृजनशीलता बढाउन सम्मेलन महत्त्वपूर्ण रहेको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागमा कार्यरत प्राध्यापकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्