यो सरकारसँग जनता वाक्क दिक्क छन् :  ओली



 दैलेख । 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् ।

 समृद्धिको लाग संकल्प यात्रामा निस्केका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताएका हुन । तर उनीहरूको यो कुचेष्टा सफल नहुने उनकाे दाबी छ ।

 ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीले भने ।

लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् । ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ’, ओलीले भने ।

 नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताका बिचमा पुर्याउँ र नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्व पश्चिम मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान चलाएको ओलीले बताए । विभिन्न प्रकारका भ्रम चिर्न र राष्ट्रिय एकता कायम गर्न अभियान सञ्चालन गरिएको उनले प्रष्ट पारेका छन् ।

 अहिले गठबन्धनले गरेको कामको कारण विकास रोकिएको बताउँदै ओलीले त्यसो भन्दैमा देश बनाउन नसकिने भन्ने कुरा नभएको बताए । नेपाल जस्तो उर्वर देशलाई दुनियाँको आकर्षकको केन्द्र बनाउन सकिने उनले दाबी गरेका छन् ।

 एमालेलाई सरकारबाट हटाएको अढाई वर्षमा देशमा अराजकता र अस्थिरता पैदा भएको भन्दै ओलीले चिन्ता व्यक्त गरेका छन् । अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको उनकाे भनाइ छ ।

एमाले सकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको, देश विकासले गति लिएको उनले दाबी गरेका छन् । ‘फेरी पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, ओलीले भने ।

यसै प्रति जनताको अभिव्यक्ति जागोस् र जनताको बिचार के रहेछ भन्ने कुरा बुझ्न अभियान चलाएको ओलीले बताए । जनतासँग भएको तीन चारदिनको भेटले वर्तमान गठबन्धन सरकारसँग जनता वाक्य दिक्क भएको आफूले पाएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्