सुनको मूल्यको फेरि नयाँ रेकर्ड, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार साताको पहिलो कारोबार दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा एकैदिन एक हजार आठ सय रुपैयाँ वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तोलाको एक लाख १८ हजार ४५० रुपैयाँ मूल्य तोकिएको थियो । तेजाबी सुनको मूल्यमा भने आज एक हजार ७५० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने आज पाँच रुपैयाँ बढेर एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला एक हजार ५४० रुपैयाँ मूल्य तोकिएको थियो ।

नेपाली बजारमा मंसिर महिना लागेयता सुनको मूल्य निरन्तर आकासिँदै गएको छ । मंसिर महिना विवाहको सिजन भएकाले सुनको माग उच्च हुने गरेको छ । यद्यपि, महासंघले अन्तर्राष्ट्रिय बजारमासमेत सुनको मूल्य बढेकाले महँगिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्