सत्य कुरा लेख्न मिडिया किन चुक्छन् ?

0
Shares

अमेरिकी संस्था ‘आईसीएफजे’को प्रायोजनमा ‘जर्नालिजम एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत पेन्सलभानिया राज्यको त्यसबेलाको दोस्रो ठूलो दैनिकमा एक महिना आधुनिक पत्रकारिता बारे अनुभव सँगाल्ने अवसर मिलेको थियो । त्यसअन्तर्गत एक महिना पत्रकारकै घरमा बसेर कार्यालय आउने जाने व्यवस्था थियो । मलाई आर्थिक बिट हेर्ने महिला पत्रकारको घरमा बस्ने व्यवस्था आयोजक संस्थाले मिलाएको थियो । शुरूको एक हप्ता ठीकै भयो । त्यसपछि भने ती पत्रकार घरमा र अफिसमा पनि तनावपूर्ण रहन थालिन् । मैले बुझिरहेको थिइनँ, सोधिहाल्न पनि सकिनँ ।

एक दिन घरमा खाना खाइरहँदा उनको पतिले नै भने ‘लक्ष्मण तिमीलाई थाहा छैन होला उसलाई आफूले लेखेको न्युजको कारण धम्की आइरहेको छ, अफिसमा पनि त्यही समाचारलाई सच्याएर लेख्न दबाब परिरहेको छ । उनले लेखेको कुनै एउटा बैंकको अनियमिततासम्बन्धी समाचार सत्य भए पनि त्यसै कारण त्यस बैंकले दिइसकेको विज्ञापनको पेमेन्ट र विज्ञापन दिनसमेत रोकेको र हजारौं प्रतिको ग्राहक पनि रद्ध गराउन लागेको पत्र पठाएको रहेछ । आलोचनात्मक समाचार रोकेर त्यस बैंकको इमेज राम्रो देखिने समाचार लेखिदिनुपर्ने आशयसमेत उल्लेख गरेको रहेछ ।’

नेपालमा त त्यसबेला मात्र होइन अहिले पनि मिडिया र मिडियाकर्मीको हालत त्यही नै हो । तर,प्रजातन्त्र र पत्रकारिताको त्यत्रो विकास भएको अमेरिकामा समेत अनपेक्षित रूपमात्यस्तो दुरावस्था देखेर म अलि अचम्ममा परेको थिएँ । यसरी सत्य समाचार लेख्न नसक्ने अवस्थाहरु नेपाल समाचारपत्रले पहिले पनि नभोगेको होइन, अहिले पनि त्यसबाट मुक्त छ भन्न सक्तिनँ । त्यसमध्ये एउटा घटना नेपालको सिमाना सम्बन्धमा छ, जुन कहिल्यै बिर्सिन सक्तिनँ ।

त्यसबेला नेपालको सिमाना मिचिएको, पिल्लरहरु उखेलेर फालिएका समाचारलाई फोटो, कार्टुनसहित निरन्तर उजागर गर्ने राष्ट्रिय दैनिकमा नेपाल समाचारपत्र अग्र पङ्तिमा थियो । यस्ता समाचार आउन थालेको केही दिनपछि नै यस्ता समाचार बन्द गराउन मानिस खटाउन थालिसकिएको थियो, तर समाचार रोकिएन । त्यसको परिणामस्वरूप समाचारपत्रविरुद्ध अप्रत्यक्ष आक्रमण शुरु गरियो । पहिला मल्टिन्यासनल विज्ञापन एजेन्सीमार्फत कामना पब्लिकेसनअन्तर्गतका प्रकाशनमा आइसकेका विज्ञापनको पेमेन्ट रोकियो, त्यसपछि विज्ञापन रोकियो, त्यसपछि बाहिरबाट मगाइने कागज नै रोकेर पत्रिका नै बन्द हुने स्थिति बनाइयो ।

‘मर्नुभन्दा बहुलाउनु निको’ भन्ने उक्ति सम्झिँदै तत्कालै कार्यालयमा साँचो लगाउनु नपरोस् भनेर समस्या समाधानका लागि विभिन्न पार्टीका उच्च तहका नेताहरु, सञ्चारमन्त्री, गृहमन्त्री प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आदिसँग हारगुहार गर्दा उचित निकासा नआएपछि सम्झौताको बिन्दुमा खुम्चिन बाध्य पारिएको थियो । यसको अन्तिम परिणाम भनेको आम पाठकले सही सूचना पाउनबाट वञ्चित हुनु नै हो, तथ्यपूर्ण समाचार लेख्न लडखडाउनुपर्ने स्थितिको सिर्जना नै हो ।

वास्तवमासमाचार भनेको तत्कालीक घटनाको तथ्यपरक सूचना हो । यस्ता समाचारलाई प्रिन्ट, टेलिभिजन, रेडियो, अनलाइन माध्यम आदिबाट सम्प्रेषण गरिन्छ । समाचार हुनका लागि केही तथ्यहरुसँग दाँजेर प्राथमिकता निर्धारण गरिन्छ । जस्तो ः नयाँपन, अनौठोपन, रोचक, जानकारीमूलक, मानिसकाबारेमा र आफ्ना पाठक, स्रोता, दर्शक आदिसँग सम्बन्धितछ÷छैन आदि ।
त्यसकारण हरेक पत्रकारको मस्तिष्कमा यी समाचार मेरा पाठक, स्रोता, दर्शकका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा प्रश्न बनेर घुमिरहेको हुन्छ ।यति भइकन पनि ति समाचारको पहिलो धर्म हो तथ्यपरक हुनु । तर, अहिले विभिन्न कारणले गर्दा मिडियाले तथ्यपरकताको लिकमा लडखडाएको प्रस्टै देखिन्छ ।
यसका विभिन्न कारणहरु छन्, जस्तोः

मिडियाको स्वामित्वः मिडियाको स्वामित्व कसको हो त्यसले पनि समाचार सामग्रीको तथ्यपरकता निर्भर गर्छ । जस्तोः सरकारी स्वामित्वका मिडियाले सामान्यतया सरकार र सत्तासिन पार्टीका विरुद्धमा समाचार लेख्न सक्तैनन् । सरकारबाट भएका त्रुटिपूर्ण निर्णय र कार्यको विरोध गर्नुको साटो त्रुटिलाई ढाकछोप गर्ने कार्यमा सघाउ पु¥याएर समाचारको तथ्यपरकतामा खेलबाड गरेका उदाहरण प्रसस्तै भेटिन्छन् ।

निजी स्वामित्वः निजी स्वामित्वका मिडिया स्वतन्त्र हुन सक्छन्, तर तिनीहरु पनि लगानीकर्ताको आर्थिक, राजनीतिक स्वार्थबाट प्रभावित भएर उनीहरुको स्वार्थ अनुरूप समाचार प्रकाशन गर्न बाध्य हुन्छन् र पाठकहरुपूर्ण सत्य समाचार पाउनबाट वञ्चित भएको पाइन्छ । नेपालमै पनि कतिपय मिडियाका लगानिकर्ता प्रत्यक्ष वा परोक्ष रूपमा राजनीतिक व्यक्ति वा पार्टी हुने गरेको पाइन्छ ।

सामुदायिक स्वामित्व: सामुदायिक सामित्वको मोडलमा चल्ने मिडियाहरु पनि सञ्चालन खर्च उपलब्ध गराउने सरकार वा गैरसरकारी एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विरुद्धमा कलम चलाउन नसक्ने बरु उनीहरुको गलत कार्य ढाकछोप गर्ने स्थितिमा पुग्छन् ।पछिल्ला दशकमा यो क्रम बढेको देखिन्छ ।

नकारात्मक पक्षधरताःअधिकांश मिडिया पब्लिकले के चाहन्छन् त्यही दिने र आफ्ना पाठक, स्रोता र दर्शक बढाउने भन्ने मनोविज्ञानबाट ग्रस्त भएको देखिन्छ । त्यहीअनुसार मिडियाका सामग्रीलाई बढी मसलेदार, आकर्षक तर नकारात्मक रूपमा सनसनी बनाएर प्रस्तुत गर्ने गरेको पाइन्छ । बढी प्रभाव दिने हेडलाइनहरु नै नकारात्मक र कतिपय गलत पनि हुने गरेको पाइन्छ । जसले गर्दा सामाचार सामग्रीहरु वास्तविकताको कसीमा कमजोर हुन पुग्छन् ।

जिम्मेवारीपन र कानुनःकतिपय अवस्थामा हिंसा, द्वन्द्व भड्काउने, रक्तपात मच्चिने, सार्वजनिक बेइज्जतिका कारण आत्महत्याको स्थितिमा पुग्ने, सामाजिक मूल्यमान्यताको उल्लङ्घन हुने अवस्थामा पनि मिडिया जिम्मेवार बनेर त्यस किसिमका सूचना सही भएर पनि प्रकाशन गर्नबाट वञ्चित भएका हुन्छन् । यस्तो स्थितिको सिर्जना कतिपय अवस्थामा कानुनी कारणले पनि हुन्छ ।विज्ञापन र अन्य स्वार्थः मिडिया सञ्चालनको मुख्य स्रोत विज्ञापन नै हो ।

विज्ञापनबिना मिडिया राम्ररी अघि बढ्न सक्तैन । त्यसकारण विज्ञापनदाताहरुसँग मिडियाले राम्रो सम्बन्ध बनाइराख्न आवश्यक हुन्छ । यसले गर्दा विज्ञापनदाताहरुको प्रभाव मिडियामा प्रस्टै देखिने गर्छ । कहिलेकाहीं विज्ञापनदाताहरुको पक्षमा सकारात्मक बढाइचढाइ र विज्ञापन दिँदै नदिनेहरुविरुद्ध नकारात्मक बढाइचढाइ गरेर समाचार आएको पनि देखिन्छ ।

यस्तैगरी,सरकारका शक्तिशाली पदका व्यक्तिहरुसँग सम्बन्ध कायम राख्ने र व्यक्तिगत वा संस्थागत लाभ लिने उद्देश्य राख्ने गर्दा पनि समाचारको तथ्यपरकतामा आँच पुग्छ । त्यस्ता पद जस्तोः मन्त्री, मुख्य सचिव, राष्ट्र बैंकको गभर्नर, सेना प्रहरीका प्रमुख, विभिन्न सरकारी संस्थाका प्रमुखको नियुक्ति हुनेप्रारम्भिक बेलादेखिनै मिडिया परिचालन गराएर लबिङ गराउने एवं मिडिया आफैं कसैको तेजोबध र कसैको पक्षमा फूलबुट्टा भरेर सिंगार्न सल्बलाउने गरेको पनि देखिन्छ । यस किसिमको पक्षधरताले सही तथ्यपूर्ण समाचार प्रवाह हुन सक्तैन ।

राजनीतिःविज्ञापनदाता जस्तै राजनीतिक पार्टीहरुको प्रभाव पनि मिडियामा परेको देखिन्छ । पहिलो त राजनीतिक नेता वा पार्टीले नै मिडियामा लगानी गर्छन् र मिडिया शक्तिको दुरुपयोग गर्छन् । अर्को भनेको रकम जुटाइदिएर तथा उपलब्ध गराइदिएर चुनाव वा यस्तै मौकामा आफ्नो बढाइचढाइ प्रचार गराउने र अरुको आलोचना गर्ने, गराउने गरेर कार्यकर्ता र आम जनतामा भ्रम फैलाउने कार्य गर्छन् । नेपालका मिडियामा चुनावका बेलामा एउटा मिडियाले एउटा व्यक्ति वा पार्टीको पक्षमा लेखेको हुन्छ भने अर्कोले अर्काे पार्टी वा व्यक्तिको पक्षमा बढाइचढाइ प्रचार गरेर भ्रम फैलाएको हुन्छ । यस्तो नेपालमा मात्र होइन प्रायः संसारभर नै भएको देखिन्छ ।

धर्म संस्कृतिःधर्मसँग सम्बन्धित कुनै–कुनै कुरा तथ्यपरक रूपमा लेख्दा पनि कहिलेकाहीं त्यसले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भएकाले त्यस्ता समाचार लुकाउनुपर्ने स्थिति हुन्छ । उदाहरणका रूपमा पछिल्लोपटक घटेको नेपालगञ्जको घटनालाई लिन सकिन्छ । कहिलेकाहीं धर्मको नाममा कुनै समूहले विध्वंश मच्चाउने काम गरेको छ भने सारा समुदायको खिलापमा मिडिया एकपक्षीय रूपमा खनिएको पनि पाइन्छ ।

त्यस्तै, घटना हो न्युयोर्कको ट्विन टावर आक्रमण । सो आक्रमणपछि विशेष गरी पश्चिमी मिडिया पूरा इस्लाम समुदायमाथि नै खनिएका थिए । कुनै एउटा समूह एवं संगठनले गरेको आक्रमणका कारण विश्वभरका मुस्लिमहरुप्रति वक्रदृष्टि राख्ने अवस्था मूलतः मिडियाले नै सिर्जना गरेका थिए, जसलाई सन्तुलित तथा तथ्यपरक पत्रकारिता मान्न सकिन्न ।यस्तैगरी, संस्कृति र जातियताको विषय पनि निकै संवेदनशील मानिन्छ ।

सनसनीपूर्णताः आफ्ना पाठक, स्रोता, दर्शक बढाउनका लागि मिडियाले दैनिक भइरहेका घटनाका सूचनाहरु पनि कहिल्यै नभएका जस्तोगरी तथा निकै भयानक घटनाका रूपमा सनसनीपूर्ण बनाएर प्रकाशन प्रसारण गरेको पनि पाइन्छ । यो एक किसिमको पीतपत्रकारिता नै हो । बढी पाठक, स्रोता, दर्शकको ध्यानाकर्षण गर्नका लागि समाचारलाई बढाइचढाइ प्रस्तुत गर्ने, अनावश्यक हाइलाइट गर्ने गरिन्छ ।

साथै महत्वहीन चियोचर्चा र गफलाई पनि समाचारको रूपमा प्रस्तुत गरिन्छ । सनसनीपूर्ण तरिकाले स्क्यान्डलहरु प्रस्तुत गर्ने, झुट एवं गलत सूचनाहरु प्रसस्त मात्रामा प्रस्तुत गर्ने गरिन्छ । यस किसिमको पीत पत्रकारिता गर्ने चलन पत्रकारिताको विकाससँगै भएतापनि यसको नामकरण नै भई बढी अभ्यास भएको चाहिँ अमेरिकामा सन् १८९५ देखि र त्यही बेलादेखि बेलायतमा पनि भएको मानिन्छ । पब्लिकले जे चाहन्छन् त्यही पस्किने भनेर यस्तो (पीत पत्रकारिता) गरिन्छ, तर त्यसलाई जिम्मेवार पत्रकारिता मान्न भने सकिन्न ।

यस्तो,अभ्यास अहिले युट्युब च्यानलहरुमा बढी देखिन्छ । भारतीय मिडियामा यस किसिमका सनसनीखेज सामग्रीहरुको बिगबिगी नै हुन्छ । धेरै नेपाली मिडियाको प्रस्तुति पनि प्रशंसा गर्दा आकाशमा पु¥याउने र आलोचना गर्दा पनि भित्तामै पु¥याउने किसिमको भएको पाइन्छ ।यसो भन्दैमा सवै मिडिया र मिडियाका सबै सामग्री तथ्यहीन हुन्छन् भन्न खोजिएको पनि होइन । साथै सवैलाई विश्वास गरिहाल्न सक्ने स्थिति पनि छैन । पाठक आफैंले तथ्यपरक र भरपर्दो हो होइन, पूरा र आधिकारिक प्रमाण प्रस्तुत गरेको छ-छैन भनेर विचार र विश्लेषण गर्नुपर्ने स्थिति छ ।आधा काटेर दिइएको पहिलो फोटोमा सेनाले बालकलाई कुट्न लागेको जस्तो र बालक तर्सिएको जस्तो देखिन्छ तर वास्तविकतामा सेनाले बालकसँग खेलिरहेको र बालकहरु रमाइरहेको देखिन्छ ।

मिडियामा यसरी धेरै किसिमका तत्वहरुले प्रभाव पारिरहेका हुन्छन् ।अहिले पनि मिडिया अधिकांश मानिसको सूचना, मनोरञ्जन, समाचार आदिको प्रमुख स्रोत हो र मिडियाका सवै सूचना विश्वास गरिहाल्ने किसिमकापनि हुँदैनन् । समाचारहरु केही प्रस्ट एवं तथ्यपरक र केही म्यानिपुलेट गरेर धुमिल बनाइएका, केही बढी लिपपोत गरिएका र केही अपूर्ण अवस्थामा नै रहेका हुन्छन् ।

सामाजिक सञ्जालको पहुँच आम मानिसमा पुग्न थालेपछि सञ्जालका सवै सदस्यले आफूलाई पत्रकार भन्ने स्थिति बनेको छ । यसले गर्दा व्यावसायिक रूपमा प्रशिक्षित पत्रकारले आम मानिसबाट विश्वसनीयता गुमाउनेक्रमलाई थप बल पुगेको छ । कुनै मिडियामा कुनै समाचार पढेको, सुनेको भरमा मानिसले त्यसलाई विश्वास गरिहाल्ने स्थिति कमजोर हुँदैछ ।

बरु आफूले चिनेको कुनै मानिसले सामाजिक सञ्जालमा त्यस विषयमा लेखेका, बोलेको कुरालाई नै बढी विश्वसनीय ठान्छन् ।तथ्यपरकता, स्वतन्त्रता, विश्वसनीयता, मानवता, समानता, जवाफदेशिता, पारदर्शिता पत्रकारिताका आत्मा नै हुन् । पत्रकारिता सत्यका लागि लड्ने पेशा हो । तर,विभिन्न समय, परिस्थितिका कारण अधिकांश पत्रकारले चाहेर पनि पत्रकारिता तथ्यपरकताको लिकमा लडखडाएको देखिन्छ, जसको ढाकछोप डोकाले छोपेर लुकाएको छु भने जस्तो मात्र हो भन्ने लाग्छ ।