![](https://newsofnepal.com/wp-content/uploads/2023/11/kaman.jpg)
कामना प्रकाशन र मेरो जन्म दिन एउटै महिनामा पर्दछ । जन्म महिना मिलेरै होला शायद कामना प्रकाशनसँग मेरो जीवनभर कहिल्यै नमेटिने सम्बन्ध गाँसिएको छ । म ११ वर्षको हुँदा स्थापित यस संस्थाले चालिसौं वार्षिकोत्सव मनाउन लागेको थाहा पाउँदा सधैं युवा मनले विचार र कर्म गरिरहने मैले आफूलाई पनि युवाबाट प्रौढमा प्रवेश गर्न थालेको आभास पाएर झसंग भएँ ।
समय र अनुभवले मानिसलाई धेरै कुरा सिकाउँदो रहेछ ।
कतिपय कुरा यस्ता हुँदा रहेछन् जुन विश्वविद्यालयको डिग्री, ठेलीका ठेली पुस्तक, अग्रजको अनुभवले सिकाउँदा रहेनछन् । आफैले अनुभव गरेपछि मात्र मानिसमा ब्रह्मज्ञान हुँदो रहेछ । उमेर अनुसार मानिसलाई प्राप्त हुने ज्ञान जतिको उपयोगी र वास्तविक केही पनि नहुने रहेछ । आधा शताब्दी उमेरको मेरो निचोड यही नै हो ।
२०५० सालमा म नेपालीपत्र साप्ताहिकमा काम गर्थें । पछि यो पत्रिका मंगलवार र शुक्रवार हप्तामा दुई दिन प्रकाशित भई अर्धसाप्ताहिक कहलिन गयो । म त्यतिबेला १९-२० वर्षे ठिटो थिएँ । हप्तामा एउटा पत्रिका निकालिरहेको जनशक्तिले दुइटा निकाल्नु परेको र पत्रकार थप गर्ने संभावना नरहेकोले हरेक विषका समाचार लेखन, लेख, स्तम्भ लेख्ने र प्रुफ हेर्नेसम्मको काम गर्नुपथ्र्यो ।
होश सम्हालेदेखि नै अक्षरसँग खेल्ने रुचि र आदत बसिसकेकोले अफिसले जति बढी काम दियो उति खुसी लाग्थ्यो ।त्यसै सिलसिलामा मैले एउटा लेख लेखें– नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइरालालाई गाली गरेर । नेपाली कांग्रेसका त्रय नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालापछिका अन्य नेताहरूलाई त्यतिबेला ‘युवा नेता’ भनेर खुबै प्रचार गर्ने गरिन्थ्यो । अरुभन्दा अलि बढी नै सक्रिय भएकाले सुशील कोइरालाको नाम मिडियामा बढी आउनु स्वाभाविकै पनि थियो ।
पातलो ज्यान, ७० प्रतिशत फुलेको तर छाँटकाँट नगरेको झुसे दारी पालेका सुशील कोइराला अर्थात् कांगे्रसी कार्यकर्ताका प्रिय ‘सुशील दा’ समकालीन नेताहरूमध्ये मलाई मन नपर्ने कोटिमा पर्न गए । काण थाहै भएन । मन नपर्ने एउटा प्रमुख कारण त्यस्तो सेतै फुलेको झुसे बूढालाई ‘युवा नेता’ भनेर कांग्रेसले के रमिता गरिरहेको हो भन्ने थियो । युवा भनेको त हामीजस्ता २०÷२२ वर्षका ठिटा पो हौं त भन्ने लाग्थ्यो मलाई त्यसताका ।
त्यही काँचो सोचाइको सेरोफेरोमा रहेर लेखिएको लेख नेपालीपत्र अर्ध साप्ताहिकमा प्रकाशित भयो । शायद सुशील दा त्यतिबेला उमेरको त्यस्तै ४०-४५ को सेरोफेरोमा हुनुहुन्थ्यो । अहिले पचास प्लस उमेरमा मलाई जुन भावना आउँछ, त्यो अनुसार त उहाँ किशोर वयमै हुनुहुँदो रहेछ ! शायद अहिले भए त्यस्तो लेख पत्रिकामा छापिँदैन थियो होला, त्यतिबेला लेख जुटाउन गाह्रो अनि भर्खर लेख्न थालेको केटाको लेख अस्वीकृत गर्दा हतोत्साहित हुन्छ भन्ने ठानेरै अर्ध साप्ताहिक पत्रिकाका सम्पादकले प्रकाशनका लागि स्वीकृत गरेका थिए ।
नेपालको गणतान्त्रिक संविधान जारी गर्दा प्रधानमन्त्रीको रूपमा सुशील कोइरालाले जुन सुझबुझ देखाउनु भयो र अन्य दलहरूलाई मिलाएर स्थिति भड्किनबाट बचाउन उहाँको जुन भूमिका रह्यो, त्यसबाट उहाँको बाहिरी आवरण हेरेर गरिने मूल्यांक कति फितलो रहेछ भन्ने मलाई अनुभव मलाई पुनः भयो । गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसको सभापतिको हैसियतमा सुशील दा महाराजगंजस्थित कोइराला निवासमै बस्न थाल्नुभयो । त्यतिबेला मैले दुई पटक सुशीललाई भेट्ने अवसर पाएँ ।
एकपटक मेरा कांग्रेसी आफन्त नेताको साथमा र अर्को पटक पत्रकार, लेखककै हैसियतमा । गिरिजाप्रसाद कोइराला छँदा त्यो घरको साजसज्जामा जुन रौनक थियो, सुशील बस्न थालेपछि निकै खस्किएको पाएँ । शानदार कौचका ठाउँमा सामान्य खालका सोफा र कार्पेट राखिएको देखिन्थ्यो । मगमग बास्ना आउने दूधवाला मसला चियाका सट्टा मरिच हालिएको कालो चियाले पाहुनाको स्वागत हुन्थ्यो सुशील निवासमा । मैले गाली गरेर लेख लेखेको वर्षौंपछिको प्रत्यक्ष भेटमा मैले उहाँसँग त्यसबारे पनि कुरा गरें । त्यस विषय उहाँलाई ज्ञात हुने कुरै भएन । तर पनि पत्रिकामा आउने आलोचनाको पछि आफू नलाग्ने र कसैको आलोचनालाई इखको विषय नबनाउने उहाँको अभिव्यक्ति थियो ।
स्कुले जीवनदेखि अहिलेसम्म हजारौं समाचार, लेख, सम्पादकीय, टिप्पणी लेखियो होला । अहिलेसम्म सबभन्दा पछुतो लागेको र छापिइसकेपछि नलेखेको भए हुन्थ्यो भन्ने लागेको मलाई त्यही लेख हो, जसमा एकजना सादगी नेताको धूवाँदार आलोना गरेको थिएँ । हालै एउटा अन्तरवार्तामा वामनेता वामदेव गौतमले भन्नुभएको थियो– भन्नलाई कृष्णप्रसाद भट्टराईलाई ‘सादगी नेता’ भनिन्छ तर वास्तविक सादगी नेता चाहिँ सुशील कोइराला हुनुहुन्थ्यो । सुशील कोइराला क्याबिनेटको गृहमन्त्री रहेका हत्तपत्त कसैको प्रशंसा नगर्ने अनुभवी र परिपक्व नेता गौतमको भनाइ सत्यको निकै नजिक छ ।
भर्खर भर्खर पत्रकारिताको पूर्ण अभ्यास गरिरहेकोले चर्चाका लागि विषयवस्तुको गहिराइमा नपुगी उटपट्यांग लेख लेख्न पनि पछि नपर्ने मलाई एक दिन एक्कासि त्यतिबेलाको सबभन्दा बढी बिक्ने र सबभन्दा चर्चित मासिक पत्रिका ‘साधना’मा उपसम्पादक पदका लागि प्रस्ताव आयो । किशोर वयकै वरिपरि रहेको भए पनि मलाई आफ्नो क्षमता र औकात बारे थोरबहुत थाहा थियो । सो अनुसार खोजमूलक पत्रिकामा ख्याति कमाएको साधनामा काम गर्न मेरो क्षमताले भ्याउँदैन भन्ने निष्कर्षमा पुगें र अनेक बहाना पारेर कामना प्रवेशबाट पन्छिरहेको थिएँ ।
त्यतिबेला नेपाल समाचारपत्र (तत्कालीन आजको समाचारपत्र) भर्खर प्रकाशन सुरुवात भएको थियो र सँगसँगै अरु राष्ट्रिय दैनिक पत्रिका प्रकाशनको पनि बाढी आएको थियो । त्यसैले पत्रकारको खडेरी लाग्नु स्वाभाविक थियो । साप्ताहिक र मासिक पत्रिकामा अलि अलि नाम चलेका र कलम बलियो भएका पत्रकारलाई टपक्क टिपिहाल्ने चलन चलेको थियो । सोही सिलसिलमा नेपालीपत्रमा खेलकूद विषयक समाचार लेख्न सुरु गरेका निरञ्जन राजवंशी नेपाल समाचारपत्रमा प्रवेश गरेका थिए । त्यो घटना हामी मौजुदा नेपालीपत्रकर्मीका लागि आश्चर्यजनक नै थियो ।
हो, उनै राजवंशी मार्फत मलाई ‘साधना’मा उपसम्पादकको प्रस्ताव आएको थियो । म साधनाको नियमित पाठक थिएँ । हरेक अंक विशेष अंक भन्ने साधनाको मूलमन्त्र नै थियो । साधनाको हरेक अंक संकलकमध्ये म पनि एक थिएँ । साधनामा हरेक विषयमा जुन खोजमूलक लेखहरू प्रकाशित हुन्थे त्यस किसिमका लेख लेख्न सकिएला जस्तो मलाई लागेन । त्यसैले साधनाका सम्पादक लक्ष्मण अधिकारीले राजवंशी मार्फत तीन पटक पठाएको प्रस्तावमा बहानाबाजी गरेका थिएँ ।
चौथो पटकको प्रस्तावमा मसँग भन्नका लागि कुनै बहाना बाँकी थिएन । त्यसैले भीमसेनस्थानको साँघुरो गल्लीभित्र विशाल कम्पाउन्डमा फैलिएको कामना प्लाजामा प्रवेश गर्न बाध्य भएँ । सम्पादकसँग सामान्य परिचयात्मक र कामका मोटामोटी कुराकानीपछि मलाई सीधै प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको कार्यकक्षमा लगियो । २०५२ साल नेपाली पत्रकारिताको इतिहासमा युग परिवर्तनको वर्ष थियो । त्यही वर्ष दैनिक पत्रिकाहरूको घनघोर बाढी आएको थियो । पत्रकार र प्रकाशक दुवैका लागि जीवन र मृत्युको संघर्षको घडी थियो ।
कामना प्रकाशनबाट प्रकाशित भइरहेका कामना, साधना, महानगर पूर्ण सफल र व्यावसायिक रूपमा उत्कृष्ट भए पनि भर्खर प्रकाशन सुरु गरिएको ‘आजको समाचारपत्र’ खुकुरीको धारमाथि हिंडिरहेको थियो । चुनौती बग्रेल्ती थिए । कुन दैनिक पत्रिकाको भविष्य के हुने कुनै ठेगान थिएन । त्यसैले दैनिक पत्रिकाका सम्पादक÷प्रकाशकहरू त्यतिबेला जीवनकै सबभन्दा तनावपूर्ण अवस्थाबाट गुज्रिरहेका चर्चाहरू सुनिन्थ्यो ।
सोचेको थिएँ– साधनाको सम्पादकले कुरा गरेपछि पुग्छ होला, त्यति व्यस्त प्रधान सम्पादक प्रकाशकलाई भेट्न के पाइन्थ्यो ! तर रहेछन् पुष्कर अर्कै मान्छे । पहिलो भेटमै उहाँ सुखदुखका सबै कुरा गर्न सकिने परिवारको निकट सदस्य जस्तो अनुभव भयो । सम्पादक लक्ष्मण अधिकारीले कार्यकक्षमा छाडेर गएपछि पहिलो दिनमै उहाँले मसँग एक घण्टाभन्दा बढी कुराकानी गर्नुभयो । नयाँ नियुक्त हुन लागेको उपसम्पादकसँग एक किसिमले त्यो अन्तरवार्ता थियो । जीवनको पहिलो औपचारिक र संस्थागत जागिरमा प्रवेश गर्दै गर्दा संस्था प्रमुखसँगको त्यो कुराकानी अन्तरवार्ताभन्दा पनि आत्मीय मिलन बढी थियो ।
उहाँले मेरो योग्यता, क्षमताबारे केही सोध्नु भएन अनि काम, कर्तव्य र अधिकार बारे पनि कुनै आदेश र निर्देश गर्नु भएन । कामना प्रकाशन कस्तो संस्था हो, यसको उद्देश्य के हो र अहिले कुन अवस्थाबाट अगाडि बढिरहेको छ आदि इत्यादि कुरामा मात्र एक घण्टा व्यतीत भएको थियो ।
हो, पुष्कर सरसँगको पहिलो भेटको त्यही एक घण्टा नै कामनाका प्रकाशनहरू साधना, कामना, महानगर र नेपाल समाचारपत्रमा १८ वर्ष नियमित र अविच्छिन्न काम गरिरहने सम्बन्ध–सूत्र बन्न पुग्यो । उहाँले भन्नुभएका धेरै कुरामध्ये मेरो मनमा सधैं गुन्जिरहने शब्द थिए– कामना कुनै दल र विचारभन्दा माथि उठेर विशुद्ध व्यावसायिक पत्रकारिता गर्ने उद्देश्यले देश र जनतामा समर्पित संस्था हो । यहाँ पत्रकारलाई सत्य, तथ्य, निष्पक्ष समाचार खोज्न, लेख्न र प्रकाशन गर्न कुनै हस्तक्षेप हुने छैन ।
साधनामा उपसम्पादकका रूपमा प्रवेश गरेको मैले लामो कालखण्डमा कामना प्रकाशनका सबै प्रकाशनमा थोरबहुत योगदान दिन सकें । त्यसमध्ये पनि मुख्य जिम्मेवारी साधना मासिक र नेपाल समाचारपत्र दैनिक नै थिए । उपसम्पादकदेखि कार्यकारी सम्पादकसम्मको यात्रामा प्रधान सम्पादक प्रकाशकको विश्वासमा रही काम गर्ने सिलसिलामा आएका तीतामीठा अनुभवका सँगालाका कथा अलग्गै छन् ।
डराई डराई प्रकाशन समूह प्रवेश गरेको ममा लामा लामा खोजमूलक सामग्री लेख्ने, राजाको प्रत्यक्ष शासनकालमा शब्द शब्दमा याद गर्नुपर्ने बेला समेत राष्ट्रिय दैनिकलाई अन्तिम रूप दिने कार्यको जिम्मेवारी बहन गर्ने क्षमता र दक्षता हासिल गर्नमा सक्षम बनाउन पुष्कर सरको बेला बेलाको हौसला र उत्प्रेरणाले काम गरेको थियो ।
पुष्कर सरकै स्कुलिङमा हुर्किएका सम्पादकहरू धर्मानन्द अधिकारी, कपिल काफ्ले, बद्री तिवारी, लक्ष्मण अधिकारीका साथ, सहयोग अनि सहकर्मी मित्रहरूको सहयोगी भावनाले पनि मलाई अघि बढ्न मद्दत पुगेको थियो । यो लेख लेख्दै गर्दा ती तमाम साथीहरूको नाम र अनुहार मेरो मस्तिष्कमा ताजा भएर आएको छ
तर कैयौं पुस्तक बन्ने विषय एउटा लेखमा सीमित गर्नुपर्दा ती सबै प्रसंग र सन्दर्भ अनि साथीहरूबीचको अन्तरंग समेट्न सकिने कुरा भएन । कुनै समय बोनस बाँड्ने प्रकाशन संस्थाले राष्ट्रिय दैनिकको प्रकाशन सुरु गरेपछि समय अनुसार आर्थिक उपार्जन गर्न सकेन । संस्था आर्थिक रूपमा कमजोर बनेर कुनै समय त तीन महिनासम्म तलब दिन नसक्ने अवस्थामा समेत पुग्यो । नयाँ पत्रिका खुल्ने क्रम त्यतिबेलै पनि चलिरहेको थियो र पत्रकारको तानातान हेर्न लायक थियो । समाचारपत्रको तुलनामा बडबलभन्दा अलि बढी तलबको आश्वासन सहित बारम्बार आउने प्रस्तावलाई अस्वीकार गर्नुको प्रमुख कारण त्यही बन्यो– जुन पुष्कर सरले पहिलो भेटमा भन्नुभएको थियो र भनाइलाई व्यवहारमै कार्यान्वयन गर्नुभएको थियो ।
स्वाभिमानविनाको सुविधाको कुनै अर्थ छैन भन्ने बह्मज्ञान मलाई त्यतिबेलै भइसकेको थियो । सोसल मिडियाको साम्राज्य कायम भएको अहिलेको समयमा त ठूला भनिएका मिडियाले कैयौं कुरा सेन्सर गरेको जानकारी आइरहेको छ । सामाजिक सञ्जालको आविष्कार नभएको त्यो युगमा मैले लेखेको र सम्पादन गरेको कुनै सामग्री अस्वीकृत भएको इतिहास भएन । हो, एकाध पटक शीर्षक परिवर्तन गर्न सुझाव चाहिँ प्रधानसम्पादक र सम्पादकबाट नआएको हैन ।
सरकारी जागिरमा भएको भए पेन्सन पाक्ने समय जति एउटै संस्थामा आबद्ध हुनुको प्रमुख कारण त्यही थियो । साझेदारीमा विद्युतीय मिडिया सुरु गर्नुभन्दा केही महिनाअघि मैले पुष्कर सरसँग उहाँका जेष्ठ सुपुत्र दिरेकलाललाई पनि राखेर होटल सोल्टीको चाइनिज रेष्टुरेन्टमा बदलिँदो परिस्थितिमा दैनिक पत्रिकालाई भीडभन्दा अलग, पाठकको प्रिय र विज्ञापनदाताको रोजाइमा कसरी पार्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गरेको थिएँ । त्यतिबेला मैले उहाँलाई खाममा राखेर आइन्स्टाइनको ‘ई इजकल्टु एमसी स्क्वायर’ जस्तै एकलाइनको सूत्र र त्यसलाई कार्यान्वयन गर्नका लागि सांकेतिक रूपमा एक सय रुपियाँको नोट दिएको थिएँ ।
उहाँहरू दुवैजना त्यो सूत्र देखेर उत्साहित हुनुभएको थियो तर कार्यान्वयनमा लैजान धेरै जोखिम भएकोले अहिल्यै सुरु नगर्ने कि भन्नुभयो । धेरैजसो मानिस यथास्थितिवादी नै हुन्छन् । कसैले नगरेको र नसोचेको काम कुरा गर्न अधिकांशलाई गाह्रै हुन्छ । त्यो सूत्र लेखिएको रातो खाम अझै पनि दिरेकबाबुसँग कतै अल्झिएको हुनसक्छ । म अझै पनि विश्वस्त छु, बढ्दो सामाजिक सञ्जालको जगजगीले परम्परागत मिडियाको उपादेयता समाप्त हुनथाल्यो भन्ने भाष्य विकसित भइरहेको अवस्थामा पत्रिकाले सामाजिक सञ्जाललाई जित्ने भनेको त्यो सूत्र कार्यान्वयनबाट मात्रै हो ।
साथीहरूसँग मिलेर क्यापिटल एफएम सुरु गरेपछि त्यहाँ मेरो जिम्मेवारी व्यवस्थापकीय मात्र थियो । समाचार लेख्ने, पढ्ने जिम्मेवारी नयाँ पुस्ताका साथीहरूलाई सुम्पिएका थियौं । त्यसैले समाचारपत्रमा सम्हालिरहेको ‘नाइट डेस्क प्रमुख’को जिम्मेवारी कायमै राख्ने मनस्थितिमा थिएँ । एक दिन पुष्कर सरले आफ्नो कार्यकक्षमा बोलाएर भन्नुभयो– एउटा व्यक्ति दुई वटा मिडियामा आबद्ध हुनु राम्रो होइन भनेर तपाईंकै सहकर्मी साथीहरूबाट व्यापक सुझाव र गुनासा आइरहेका छन् । व्याकुलजी, तपाईं समाचारपत्र र एफएममध्ये कुन रोज्नुहुन्छ ?
पुष्कर सरलाई संवोधन गरेर लेखेको मेरो राजीनामापत्रमा एउटा वाक्यांश परेको थियो– तपाईं पत्रकार र सहकर्मीहरू माझ तातो प्रयोगशाला हैन शीतल बगैंचा बन्न सक्नुहोस् । अशोक सिलवालको लेखनमा उहाँको आत्मसंस्मरणको पुस्तक ‘पत्रकारिता प्रयोगशाला’ बजारमा आउनै लागेको थियो । समाचारपत्रमा त्यो पुस्तकको ज्याकेट विज्ञापन पनि प्रकाशित भएको थियो । मेरो राजीनामापत्रमा उल्लेख भएको त्यही वाक्यांशले उहाँमा यति प्रभाव परेछ, छापिसकेको कभर नै परिवर्तन गरेर ‘कलम’ शीर्षकमा पुस्तक प्रकाशनमा आयो ।
१८ वर्षसम्म धेरैजसो समय १८ घण्टासम्म काम गरेको संस्था छाड्नु पर्दा मलाई नमजा महसुस भयो । जीवनको लामो कालखण्ड बिताएको स्थानबाट अर्को स्थानमा जाँदा शायद जो कोहीलाई यस्तो अनुभव हुँदो हो । गरिब घरकी छोरी धनी घरमा अन्मिएर जाँदा पनि शायद यस्तै पीडा भएर होला हरेक दुलहीहरू रुने गर्छन् । म इम्प्लोईबाट ओनर बनेको थिएँ, तलब सुविधा समाचारपत्रमा भन्दा दशौं गुणा बढी प्राप्त गर्न थालेको थिएँ । खुशी हुनुपर्ने थियो तर म कामना मोहले यति वशीभूत भएको रहेछु कि बयान गरेर साध्य नै छैन ।
मैले समाचारपत्र छाड्ने परिस्थिति बन्दा शायद पुष्कर सर मभन्दा बढी दुखी हुनुहुन्थ्यो । आफ्नो दक्ष र विश्वसनीय सहकर्मी गुमाउनुको पीडा र घाटालाई तिलाञ्जलि दिंदै उहाँ एक व्यक्ति दुई मिडियामा आबद्ध हुन नहुने व्यावसायिक धर्मलाई कार्यान्वयन गर्न अमिलो मनले राजी हुनुभएको थियो ।
व्यावसायिक पत्रकारिताका धरोहर पुष्कर सरको असमयमै आकस्मिक स्वर्गारोहण मेरा जीवनका नमीठा क्षणमध्ये प्रमुख रहन गयो । उहाँको भौतिक चोला उठेको क्षण म विदेशमा रहेकोले अन्तिम दर्शन गर्न पाइन । यसमा पछुतो छ । मेरो जीवनको उर्वर १८ वर्ष बितेको संस्था कामना र पुष्कर सर मेरो जीवनको अभिन्न अंगका रूपमा सधैं रहिरहने छन् । भाग्य र कर्म, ईश्वर र अग्रजको अनुकम्पाले अहिले म जुन स्थानमा छु, त्यसको जगमा कामना प्रकाशन रहेको छ ।
अग्लो र बलियो घरको रहस्य त्यसको जगमा लुकेको हुन्छ भने जस्तै मेरो जीवन र व्यक्तित्वको जग कामनाबाट बनेको हो । १८ वर्ष काम गरेपछि सरकारी अफिसमा भएको भए मासिक पेन्सन आउँथ्यो । मैले कामनाबाट मासिक निवृत्तिभरण नपाए पनि त्योभन्दा बढी पाइरहेको छु । अहिलेको उपलब्धिलाई मैले कामनाकै पेन्सन मान्ने गरेको छु ।