व्यावसायिक सफलताको शुभकामना


काभ्रे । 

आजभन्दा २१ वर्ष पहिले काठमाडौं भीमसेनस्थानस्थित कामना न्यूज पब्लिकेसन्स् प्रालिको कार्यालय पुगेको थिएँ । नेपाल समाचारपत्र दैनिकको प्रकाशन संस्था त्यहाँ थियो । पब्लिकेसन्स्का संस्थापक प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठसँग भेट्न पाउँदा अधिक खुसी लागेको थियो । व्यावसायिक पत्रकारिता र मेरो आफ्नो पत्रकारिताको आदर्श व्यक्ति अर्थात् आदरणीय दिदी भगवती तिमल्सिनाको साथमा कामनाको सिंगो अफिस घुम्न पाउँदा आफ्नो पत्रकारिता मोह झन् जगाइदियो । पत्रकारिता नै पढेर पत्रकारिता गर्ने अभिलाषा अनुरूप एसएलसी परीक्षा सकेर नजिकका, चिनेजानेका र अनुभवी अग्रजसँग बुझ्ने सिलसिलामा दिदीको कार्यालय पुगेको थिएँ ।

ममा सानैदेखि भगवती दिदीले कुदाएको मोटरसाइकल र उहाँको व्यक्तित्वले समेत पत्रकारिताप्रतिको आकर्षण बढेको थियो । उहाँकै मोटरसाइकलमा उहाँसँगै कामना प्रकाशन पुग्दा र त्यहाँको वातावरणले मलाई झन् हौस्यायो । पुष्कर सरसँगको भेटघाट र कुराकानीले मख्ख परें । पुष्कर सरले पहिलो भेटमै कामना प्रकाशनको बनेपा शाखा कार्यालयसँग जोडिएर विज्ञापन, ग्राहक र समाचार सम्प्रेषणको काम गर्नु भनेर आग्रह गर्नुभयो । दिदी आबद्ध कार्यालय आफ्नै कार्यालय जस्तो महसुस भइहाल्यो । सञ्चार गृहका संस्थापक एवं प्रधानसम्पादकले दिएको जिम्मेवारीले निकै खुसी भएँ म, जसले आफूलाई झन् गम्भीर बनायो, अपनत्वको अनुभूति गरायो ।

पत्रकारिता पढाइसँगै सञ्चारकर्मलाई अगाडि बढाइयो । कलेजको समयबाहेक फिल्डमा रिपोर्टिङमा तल्लीन भएर हिँडियो । नेपाल समाचारपत्र दैनिक, महानगर तथा सन्ध्याकालीन दैनिक, कामना मासिक, साधना मासिक जस्ता पत्रिका प्रकाशन गर्ने कामना प्रकाशनले आफूलाई दिएको जिम्मेवारीअनुसार ग्राहक एवं पाठकसँगको सर्वेक्षण गरी काभ्रेपलाञ्चोकको एक प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको थिएँ ।

पुष्करसरले त्यसलाई अत्यधिक रुचाएर नेपाल समाचारपत्रको अन्तिम पृष्ठमा सारांश प्रकाशन गरिदिनुभएको थियो । आफ्नो नामसहित रङ्गीनमा फुलपेज कभरेजले म बेसरी हौसिएँ । त्यही हौसला र प्रेरणाले आफू यस क्षेत्रमा आजसम्म क्रियाशील छु । यसको श्रेय नेपाल समाचारपत्र र तत्कालीन प्रधानसम्पादकमा जान्छ ।

मेरा लागि ऊर्जा थपिदिनुहुने पुष्करलाल श्रेष्ठ आज यो भूगोलमा हुनुहुन्न । आफूलाई सदैव प्रेमपूर्वक सल्लाह दिनुहुने भएको आदरणीय व्यक्तित्वप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

पुष्करसर, भगवती दिदी र आमसञ्चारका प्राध्यापक ईश्वरी ओझाद्वारा प्रभावित मेरो पत्रकारिताको जीवनमा आजसम्म मैले जेजति हण्डर र गोता खाएँ, म कदापि विचलित भइनँ । मर्यादित पत्रकारितामा रमाउने सिलसिलामा विभिन्न मिडियामा आबद्ध हुँदै छापा, रेडियो र टेलिभिजनको अनुभव सँगाल्दै सूचना र प्रविधिको सात्क्षात्कार गरी अनलाइन मिडियासम्म अभ्यस्त बनाइरहेको छ ।

पत्रकार आचार संहिताको पूर्णपालना गर्ने, मर्यादित एवं पेसागत पत्रकारितालाई मूलमन्त्र मान्ने आफू अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको पक्षमा उभिँदै गर्दा र वकालत गर्दै गर्दा म आज नेपाल पत्रकार महासङ्घ काभ्रेको अध्यक्ष जस्तो जिम्मेवार पदमा छु । व्यक्तिगतरूपमा मेरो कामना प्रकाशन समूहसँग कुनै पनि प्रकारको संस्थागत संलग्नता त छैन तर म सधैं यही संस्थाको प्रेरणाले यहाँ छु भन्ने भान हुन्छ र आफूलाई एक पारिवारिक सदस्य हुँ भन्ने महसुस भइरहन्छ । यही भावनात्मक सम्बन्धको हिस्साले कामना प्रकाशनका सबै सहप्रकाशनप्रति अगाध माया छ । प्रिन्ट होस् या डिजिटल माध्यमबाट नेपाल समाचारपत्रसँग नियमित जोडिएको छु । संस्थागत र व्यावसायिकरूपमा मैले जानेको र सकेको सहयोग पनि गरिरहेको छु ।

समाचारपत्रले ४० वर्षे परिपक्क उमेर तय गर्दै गर्दा अन्य जिल्ला र भूगोल जस्तै काभ्रेपलाञ्चोकलाई अथाह माया गरेको छ । जिल्लामा पनि नेपाल समाचारपत्रको प्रभाव राम्रो छ । समाचारले सबै विषय र क्षेत्रलाई समेटेकाले जिल्लाका हरेक नागरिकले नेपाल समाचारपत्र मेरो आफ्नो पत्रिका हो भन्ने महसुस गरेका छन् । राष्ट्रिय मिडियाले मोफसलमा यसरी प्रभाव छोड्नु भनेको गाउँबस्तीमा पत्रिकाको विश्वसनीयता गहिरो छ भन्ने प्रमाणित हुनु पनि हो । यसका निमित्त पनि कामना प्रकाशनलाई बेजोड बधाई छ । व्यावसायिक र मर्यादित पत्रकारिताको सन्दर्भमा नेपाल समाचारपत्रले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दछु ।

पत्रिकाका विषयवस्तुको छनोट र प्रकाशित सामग्रीका प्रस्तुति वस्तुगत, तथ्यपरक एवं निष्पक्ष छन् भन्नेमा कुनै शङ्का छैन, यद्यपि कहिलेकाहीँ कोही कसैको व्यक्तिगत मनसायले गर्दा स्वतन्त्रता तलमाथि पर्न जाने एक पक्षीय भावना सम्प्रेण हुनुहुन्न । फलस्वरूप ४ दशक लामो मर्यादित इतिहास रचेको प्रतिष्ठित संस्थालाई विवादमा पर्ने खालका प्रयत्न हुन सक्छन्, यतातर्फ पनि कामना प्रकाशन गम्भीर र सजग रहन सकोस्, शुभकामना छ । संस्था रहे मात्र संस्थामा आबद्ध सबै टिक्न सक्छन् । तसर्थ संस्थाको गरिमालाई झुक्न दिनुहुन्न र स्वतन्त्रताको नाममा आफू धमिलो हुनुहुन्न भन्ने शुभेच्छा र शुभकामना व्यक्त गर्दछु ।

२०५९ सालदेखि निरन्तर पत्रकारितामै रहँदा मैले कामनाका प्रकाशन नेपाल समाचारपत्र, महानगर र कामना मासिकमा धेरै लेखें । कामना मासिक फिल्मी मासिक हो, ठोकुवा गरेर भन्न सकिन्छ नेपाली रङ्गमञ्चको दुनियाँमा कामना बराबरको म्यागेजिन न हिजो निस्क्यो न भोलि निस्किन्छ ।

तर अहिले प्रविधिसहितको प्रतिस्पर्धा छ । सिनेमासँग सम्बन्धित धेरै पत्रपत्रिका, रेडियो टिभी कार्यक्रम र अनलाइन पोर्टलहरू आइसके समयसँगै अब कामनालाई परिस्कृत ढङ्गबाट पाठकसामु पस्किन जरुरी छ । एक पूर्वसहकर्मी, सहयात्री, नियमित ग्राहक एवं पाठक तथा एक सञ्चारकर्मीको हैसियतले आगामी दिन सुखद र सफल रहोस्, कामना प्रकाशनको व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दछु ।