पत्रकारिताको क्षेत्रमा कामनाको इतिहास अविस्मरणीय: व्यान्जु


कामना न्यूज पब्लिकेसन्स् प्रालिको ४० औं वर्ष प्रवेशका अवसरमा राजनीति शास्त्र, अर्थशास्त्र तथा साहित्य विषयमा अध्ययन गर्नुभएका, पत्रकारिता पेशा अँगाली, सफल राजनीतिक यात्रामा निरन्तरता दिँदै आउनुभएका व्यक्तित्व नेपाललगायत विश्वको पत्रकारिताको अवस्थालाई धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्याञ्जु यसरी औंल्याउनुहुन्छ । उहाँ इन्डोनेसिया, चीन, जापान, दक्षिण अफ्रिका, दक्षिण कोरिया, फ्रान्स, बंगलादेश, बेल्जियम, भारत संयुक्त राज्य अमेरिकालगायतका देशहरूको भ्रमण गर्नुभएका सफल व्यक्तित्व हुनुहुन्छ । उहाँ नेपाल नगरपालिका संघ, यूसीएलजी एएसपीएसी –संयुक्त शहरहरू र स्थानीय सरकार एसिया प्यासिफिकका अध्यक्ष, काठमाडौं विश्वविद्यालयका सिनेट सदस्य हुनुहुन्छ । उहाँको विगतको पेशा र अनुभव स्थानीय सुशासन, विकास पत्रकारिता तथा प्राइम एफएम र चेस्टा साप्ताहिकका अध्यक्षलगायत थुप्रै संघ संस्थामा सल्लाहकार, धुलिखेल क्याम्पसका संस्थापक सदस्य, धुलिखेल अस्पतालका संरक्षक, पर्यटन प्रवद्र्धन संगठन एसिया प्यासिफिक सिटिज कोरियाका सदस्य, दिगोपनका लागि स्थानीय सरकारहरू (आईसीएलईएल) सचिवालय समिति सदस्य, संयुक्त शहरहरू र स्थानीय सरकारहरू एसिया प्रशान्त (यूसीएलजी एएसपीएसी) को जिम्मेवारी सम्हाल्नुु भएका व्यक्तित्व हुनुहुन्छ । उहाँसँग नेपालको पत्रकारिताको अवस्थाका बारेमा पब्लिकेसन्स्को वार्षिकोत्वमा प्रकाशित हुने विशेषाङ्कका लागि सह–सम्पादक भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप:

तपाईंको अनुभव र हाल नेपालमा छापा पत्रकारिताको विकासका बारेमा केही भन्नुहुन्छ ?

जतिजति विज्ञान प्रविधि र मानिसको चेतनाहरूको विकास हुँदै जान्छ, नयाँ प्रविधि र विकासमा नयाँ प्रविधि र सोचहरूले काम गर्छ । समय सापेक्ष विभिन्न परिवेश र परिस्थितिहरूमा हिजोको समाजमा आफ्नो भूमिका निर्वाह गरेका संस्था वा माध्यमहरू पुरानो त होला । तर, सामाजिक चेतना र समाजको समृद्धिको आँखा खोल्ने क्षेत्रहरू हुन् ।

त्यसैले रूपान्तरित अवस्थामा आफूलाई कसरी स्थापित गर्ने भन्ने कुरामा सोच्यौं भने जस्तोसुकै परिस्थिति र परिवेशमा नयाँ समाज आए पनि पुरानोको निरन्तरताका लागि प्रयत्न जारी हुनुपर्छ नयाँ रूपमा आउँछ । पुरानै पनमा रही रहन्छु भन्यो भने कतिपय अवस्थामा पुरानोपना महत्वपूर्ण, ऐतिहासिक भूमिका हुँदाहुँदै पनि त्यो जीवन्त हुन सक्दैन । अहिलेको समाजलाई केन्द्रीकृत गरेर राजनैतिक, सामाजिक, मानवीय चेतनाहरूको अवस्थालाई बुझेर सूचना, समाचार, विश्लेषण, संश्लेषण, व्याख्या, टिप्पणी, साहित्य, कला नै किन नहोस् ती सबै क्षेत्रलाई समयअनुकूल बनाउँदै जानुपर्छ ।

त्यो भयो भने त्यसको उपादेयता बढाउनका लागि हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । समय र परिस्थिति सधैं एकनास हुँदैन । कहिलेकही नयाँ बन्छुभन्दा समाजको परिस्थिति र परिवेशमा आएको मानवीय भावनाहरू आधुनिक बन्न खोज्दा नटिक्ने पनि हुनसक्छ । त्यसैले पुरानोको निरन्तरता, महत्व र अनुभवहरूलाई पनि अगाडि बढाउँदै जाने र नयाँ समय र परिस्थितिलाई पनि आत्मसाथ गर्दै जाने प्रणालीबाट अघिबढ्नुपर्छ ।

समयसापेक्ष समाजलाई आवश्यक भएको र चाहेको कुरालाई प्रतिनिधित्व गरेपछि नयाँ हुन्छ । माध्यम नयाँ र पुरानो हुँदैन । समयानुकूल कुनैबेला परेवाले सन्देश पु¥याउने थियो । तर, परेवाले सन्देश पु¥याउने कुरा पुरानो भयो होला तर सन्देश चै सन्देश नै बाँकी छ । परेवाको पनि अन्त भएको छैन । त्यो इतिहासलाई बदलिँदो स्वरूपमा रूपान्तरित गरेर अगाडि बढ्यो भने समाजको आवश्यकता र चाहनाअनुरूप अग्रगामी भूमिका निर्वाह गर्न सक्छ ।

हालको अवस्थामा मिडियालाई व्यवस्थित, मर्यादित बनाउने पाटोमा जवाफदेहिता कहाँ कहाँ देख्नुहुन्छ ?
जवाफदेही एउटा पक्ष मात्र भएर हुँदैन सबै पक्ष हुनुपर्छ । त्यसैले, सबैपक्ष जवाफदेही हुने प्रक्रिया हामीले कसरी अवलम्बन गर्यौं । त्यसलाई प्रतिस्थापन कसरी गर्न खोज्याैं भन्ने प्रमुख कुरा हो । कानुन बनाउनु नै जवाफदेही हुनु हैन । कानुनको जानकार कोही पनि छैनन भने सिंहदरबारको कोठाभित्र रहेको कागजहरूको अक्षर आफैं मानिसको दिमागमा त जाँदैन । त्यसलाई पढ्ने, पढाउने, बुझ्ने, बुझाउने एउटा माध्यम हुनुपर्छ ।

त्यो काम मिडियाले गर्ने वातावरण बन्नुपर्छ । हामी कानुन बनाउँछौं प्रभावकारी संयन्त्र बनाउँदैनौं । बल्ल संयन्त्र निमार्ण गर्छौं, प्रभावकारिता तयार गर्न सक्दैनाैं, त्यसको प्रभावकारिता हामी भन्छाैं तर कसैलाई वा कोही मानिस वा कुनै संस्थाको डिग्निटीमाथि नै प्रहार गर्न खोज्छौं । त्यसैले यी एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध र प्रक्रियाहरूलाई हामीले व्यवस्थित गर्यौं भने मात्र नियमनलाई बलियो बनाउन सक्छौं । नियम भनेको राज्यले कानुन बनाएर नियन्त्रण गर्ने कुरा मात्र हैन । नागरिक आफैंले सरकारले कानुन बनाएको छ । यो मैले गर्नु हुन्न भन्ने चेतनाको विकास गर्नुपर्ने हो । त्यसो भयो भने नियमनकारी भूमिका कमजोर हुन्छ । जब नागरिकनै सचेत हुन्छ नियम, कानुनको खोजी र पालना हुन्छ ।

हामीले नागरिकलाई सचेत बनाउन हैन सासन गर्न खोजेका छौं । डेमोक्रेसीमा नागरिकले शासन गर्दैन । प्रजातन्त्रमा नागरिकको स्वतन्त्रताले उपयोग, उपभोग र लाभ लिने हो । राज्य प्रजातान्त्रिक हो, शासन प्रक्रिया प्रजातान्त्रिक हो भने राज्यले नागरिकलाई सचेतना जगाउने, नैतिक जिम्मेवार, उत्तरदायी, जवाफदेही बनाउने, पारदर्शीताको व्यवस्था गर्ने हो । यिनै विषयलाई उजागर गर्ने मिडियाको भूमिका हो ।

नागरिकलाई कानुनको पालना गर्ने परिपार्टी बसाउने । नागरिकको चाहना र आवश्यकता अनुसार कानुन बनाउने । कानुनअनुसारको व्यवस्थापन गर्ने कुराले नै नियमनको कुरा हुन्छ । अहिले विश्व व्यापी रूपमा नयाँ नयाँ प्रविधिहरूले सूचना र सञ्चारको क्षेत्रमा मात्र हैन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा नयाँ नयाँ आविष्कार गरेको छ । समयअनुकूल हामीले जाने हो भने मिडिया, मिडियाकर्मी, पाठकलगायत यीसँग जोडिएका तमाम विषयका क्षेत्रहरूलाई नै सुव्यवस्थित गर्नुपर्छ । सुव्यवस्थितका नाममा नियन्त्रण हैन ।

नियन्त्रणले संसारमा प्रगति हुँदैन । नियन्त्रणले केही व्यक्ति र संस्थालाई बढावा र बचावट गर्न सक्ला तर मानवीय चेतनालाई नियन्त्रण गर्न सक्दैन । आजसम्म यो युग यहाँ सम्म आईपुग्नुको मूल श्रेयनै मानवीय स्वतन्त्रता, सिर्जना र चेतनाको घनीभूत अन्तर सम्बन्ध र अन्तर संघर्षको कारणले हो । यदि, यो अन्तर संघर्षले प्रगति गर्छ भन्ने कुरामा पहिला राज्य स्पष्ट हुनुपर्छ । नागरिकहरूले चाहेको कुरालाई व्यवस्थित गर्दा लाभ र हानीको कुरामा ध्यान दिनुपर्छ ।

कहिलेकाहीँ हामी लाभलाई हानीको हानीलाई लाभको रूपमा व्याख्या गर्छौं र मानिस भ्रममा पर्छ । कुनै कुरा एउटा देशको लागि अति उपयोगी हुन सक्छ भने अर्को देशको लागि अनुपयोगी पनि हुन सक्छ । जुन देशको समाज, चेतना, मूल्य र मान्यताहरूले गर्दा आज भइरहेको मिडियाको विकासलाई आत्मसात गर्नुपर्छ र त्यसका कमी कमजोरीहरूलाई केवल कानुनद्वारा नियन्त्रित गर्ने मात्र होइन समाजलाई नै यो खराब हो र यो यात्रामा हिँड्नुहुन्न, यो सही हो र यहाँ जानुपर्छ भन्ने विषयको लबिङ र समाजमा मूल्य र मान्यता स्थापित गर्यो भने प्रत्येक चिज खराब नै हुन्छ भन्ने हुँदैन ।

वस्तुमा भएको गुणको लाभ समाजले कसरी लिने भन्ने कुरा हो । आजको युग मिडियालाई प्रविधि मैत्री बनाउने र प्रविधिका माध्यमबाट सानो हिस्साबाट लाखौं, करोडौंको हिस्सामा सञ्चार, ज्ञान, विज्ञानको प्रकाश पार्ने समय हो । त्यसकारण नियन्त्रणका नाममा त्यहाँका सिर्जनात्मकता पनि नमरोस्, सिर्जनात्मकका नाममा विकृत, विसंगति बनाउनेतर्फ नबढोस् भनी सचेत भई काम गर्यो भने मिडियाको लागि यो धेरै ठूलो अवसर हो ।

कामना प्रकाशन गृह पञ्चायतकालमा शुरू भई आज ४० औं वार्षिकोत्सव मनाउने अवस्थामा पुगेको छ, यो पब्लिकेसनले भोलिका दिनमा कसरी अघि बढ्नु पर्ला ?
कामना प्रकाशनले हाम्रो समाजलाई जुन योगदान पु¥याएको छ त्यो पत्रकारिताको क्षेत्रमा ऐतिहासिक र स्मरणयीय विषय नै हो । कला, सूचना र साहित्य, स्वास्थ्य, शिक्षा, खेलकुद्, आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा कामना प्रकाशनको भूमिका अत्यन्तै सराहनीय तथा महत्वपूर्ण छ । मैले शुरू शुरूमा कामनामा पत्रमित्रता कोलममा साथीहरू खोज्ने, साथीहरूसँग सम्बाद गर्ने माध्यम बनाउथँे । कामनाको फिल्मी क्षेत्रको सूचना सन्देश पाठक माझ ल्याउने अभ्यास, साधनाले देखाएको विकास पत्रकारिता, नेपाल समाचारपत्रले ल्याएको नेपाली समाजको विकासमा लागि सूचना र सञ्चारमा मात्र हैन, स्वास्थ्य, कला, साहित्य, संगीत सबै क्षेत्रमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसप्रति म उच्च मूल्यांकन गर्छु ।

कामना प्रकाशनको अझ प्रगति, उन्नतिको शुभकामना दिन चाहन्छु । यो प्रकाशनले आजको समाजको चाहना र सोच कहाँ छ भन्ने कुरा पहिचान गरी अगाडि बढ्दै जान सकोस् कुनै पनि कुरा पुरानो हुँदैन र परिपक्व हुँदै जान्छ । परिपक्व भएपछि अब्बल भएर अघि बढ्न गाह्रो हुँदैन । कामना प्रकाशनलाई मेरो अनुरोध आजको विज्ञान प्रविधिको युगमा मानिसको चेतना आजभन्दा २० वर्ष ४० वर्ष अगाडिको समाजमा विद्यमान अवस्था र आजको अवस्था शिक्षा, स्वास्थ्य, समाजलाई बुझ्ने हिसाबले अघि बढोस् । विज्ञान प्रविधिले नयाँ नयाँ अध्ययन अनुसन्धानले मानसिको सामाजिक, आर्थिक विकास, चेतनाको विकासले परिवर्तित ल्याएको कुरा पस्कन सकोस् ।

हिजोजस्तो आज एउटा किसानले दिनभर खेत खन्नका लागि हलो जोत्ने, कोदालो खन्ने अवस्थालाई प्रविधिले आधा घण्टामा खन्न सक्ने बनाएको छ । उत्पादन, वितरण, उपभोग, गुणस्तर, सेवाको क्षेत्रमा यति धेरै परिवर्तन भएको छ । यो परिवर्तनलाई आजको आवश्कता र बजारको मानवीय चाहनालाई बुझेर हाम्रा उत्पादनहरू, प्रकाशन, सिर्जना, लेख, अभिलेख अगाडि बढाउने हो भने कामना युवा पुस्ताको उद्योगी, व्यापारी, युुवा, खेलकुद, राजनीति, कला, साहित्य, विभिन्न अब्बल वर्ग क्षेत्रको प्रतिनिधि पात्र नै बन्न सक्छ । त्यसका लागि युवाको चाहना बुझेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा कसरी जाने, पाठकको भावनाको प्रतिनिधित्व कसरी गर्ने, पाठकहरूलाई गुणस्तरीय कसरी बनाउने भन्ने सोचेर मिडियाले दिने मात्र हैन लिने पनि गर्नुपर्छ ।

समाजको मूल्य मान्यता स्थापित गर्ने, मिडियाको भूमिकाले समाजलाई कुन दिसामा लाने भन्ने विषयको निर्धारण गर्छ । सही दिसा निर्धारण गर्नका लागि आम पाठकहरूको भावना के छ ? चाहना केछ, हामीले गर्नुपर्ने दायित्व के हो ? हामीले भन्नुपर्ने कसलाई हो ? बहुपक्षीय समाजलाई मिडियाको भूमिकामार्फत् अगाडि बढाउन आजको युग सुहाउँदो प्रकाशन बन्नुपर्छ । त्यसले हिजोको ऐतिहासिक भूमिकासँगसँगै आजको युगको वर्तमान समाजको प्रतिनिधि पात्र र भोलिको लागि पनि समाजको दिशा निर्देशन गर्न सक्ने अगुवा तथा प्रतिबिम्बको रूपमा स्थापित हुँदै अघि बढ्न सकोस र सक्छ भन्ने मैले विश्वास लिएको छु ।