फेक न्युजको साम्राज्य !

0
Shares

देवप्रकाश त्रिपाठी

झुटो पुष्टि गरिरहनु नपर्ने, तर सत्य सिद्ध गर्नुपर्ने रोचक बाध्यताले मानिसलाई झुटो सन्देश प्रवाह गर्न उत्प्रेरित गरिरहेको हुन्छ भनौं भने समृद्ध मुलुकमा झुटको खेती चलेको पाइन्न ।

आफ्नो स्वार्थ रक्षाका निम्ति संसारलाई गुमराहमा राखेर शक्ति राष्ट्रहरूबाट पनि यदाकदा झुटो सन्देश प्रवाह नहुने होइन, तर नागरिक जीवनका कुनै पनि चरण र बिधामा झुटलाई तिनले निषेध गरेका छन् । त्यसैले, समृद्ध मुलुकमा मानिसले झुट बोल्छ भन्ने ठानिन्न, बोल्नुपर्ने ठानिँदैन र, कुनै सञ्चार माध्यमले ‘फेक न्यूज’ सम्प्रेषण गर्छ भन्ने त कल्पनासम्म गरिँदैन।

अल्पविकशित तथा विकाशोन्मुख मुलुकहरूमा राज्य, राजनीति र सरकारको मौलिक चरित्र नै अस्वाभाविक हुने गर्दछ र, नागरिक जीवनको कदम कदममा झुटसङ्ग जोगिएर हिँड्नुपर्ने बाध्यता रहन्छ । बिपन्न मुलुकहरूमा राज्यबाट आधिकारिकता प्राप्त सञ्चार माध्यम तथा सन्चारकर्ममा संलग्न मानिसहरू समेत ‘फेक न्युज’ को ब्यापारमा सामेल हुने गरेका हुन्छन्।

नेपालको इतिहासमा पत्रकारिताको विकास भएको धेरै लामो समयपछि मात्र ‘फेक न्युज’ देखापर्न थालेको हो । गोरखापत्रको प्रकाशनलाई नेपाली पत्रकारिताको प्रारम्भविन्दु मान्ने हो भने राणाकालमा सूचना लुकाइन्थ्यो, तर झुटो सामग्री सम्प्रेषण गरेको बलियो प्रमाण भेटिएको छैन ।

अक्षरलाई देवता मान्ने सनातनी सभ्यताले झुठलाई लिखतमा प्रस्तुत गर्नु पाप ठान्ने भएकोले पनि पश्चिमा प्रभाव विस्तार नहुँदासम्म नेपालमा फेक न्युजले आकार लिन सकेको थिएन । पञ्चायत कालमा रेडियो, टेलिभिजन, गोरखापत्र र राससले सरकारको अधिनस्थ भएर समाचार सम्प्रेषण गर्नुपर्ने भएकोले प्रतिकूल सामग्रीले स्थान पाउन सक्दैनथ्यो ।

२०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि उल्लिखित सञ्चार माध्यमहरू सरकारको नियन्त्रणमा हुँदाहुँदै पनि तिनले गैरसत्तापक्षीय सामग्रीलाई समेत स्थान दिँदै आएका छन् । तर, पञ्चायत कालमा सरकारी स्वामित्वका सञ्चार माध्यमले निष्पक्षता गुमाएको भए पनि फेकन्युज सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित तुल्याएको पाइन्न ।

त्यसताका सरकारी स्वामित्वका मात्र नभई निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरूलाई पनि राजा र व्यवस्था विरुद्धका सामग्री प्रकाशन प्रसारण गर्न निषेध गरिएको थियो । निजी क्षेत्रमा अधिकांश साप्ताहिक रूपले प्रकाशन हुने पत्रिकाहरू सञ्चालनमा थिए । यिनले राजा र व्यवस्थालाई सिधा आलोचना नगरिकन समाचार सामग्री प्रेषित गर्ने गर्दथे। जब निजी क्षेत्रबाट पत्रपत्रिका प्रकाशन हुने क्रम विस्तार भयो, त्यससङ्गै फेकन्युजको फैलावट पनि बढेको देखिन्छ ।

निजी क्षेत्रबाट सञ्चालित भएपनि पत्रपत्रिकामाथी एक प्रकारको अङ्कुश कायम थियो । सूचना बिभाग र प्रेस काउन्सिलबाट मात्र अनुगमन र नियन्त्रण नभई अञ्चलाधीश र सीडीयो कार्यालयले समेत आ–आफ्ना तर्फबाट सञ्चार क्षेत्रमाथि निगरानी राख्ने गर्दथे। शासन र शासक पक्षको प्रतिकुल सामग्री सम्प्रेषण भएमा पत्रिका बन्द गराउने, दर्ता खारेजी गर्ने र पत्रकारले कैद तथा जरिवानाको सजाय भोग्नुपर्ने अवस्था हुँदाहुँदै पनि पञ्चायतकालमा फेकन्युजको उत्पादन र विस्तारले स्थान पाएको हुन्थ्यो।

पञ्चायत र राजाको आलोचना गर्न रोक लागेको भए पनि पञ्चहरू आ–आफ्ना प्रभावमा पत्रकार या पत्रिकालाई पारेर एक–अर्काको विरुद्ध सामग्री प्रेषित गर्ने गराउने गर्दथे। त्यसैगरी, पञ्चायतविरुद्ध रहेका राजनीतिक दलहरूले पनि विभिन्न व्यक्तिका नाममा पत्रिकाहरूको प्रकाशन गराई कानुन र व्यवस्थाको आँखा छल्दै आफूअनुकूल तथा पञ्चायतको प्रतिकुल सामग्री सम्प्रेषण गर्ने गर्दथे।

जुन सत्य र तथ्यमा आधारित हुने गर्दैनथ्यो, त्यस्ता सामग्रीले पञ्चायत र पञ्चायती शासकको बदनामी गर्छ भने सम्प्रेषण गरिदिने फेकन्युज संस्कृतिको विकास त्यतिबेला नै भएको थियो । पञ्चायतकालीन पत्रकारिता खासगरी राजनीतिमा केन्द्रित थियो, तत्कालीन व्यवस्थाको समर्थन या विरोधमा रहेका पत्रपत्रिकाहरूले झुठ या तथ्य जे–जस्ता सामग्री सम्प्रेषण गरेर भए पनि जनस्तरमा सरकार तथा सरकारमा रहेकाहरू कहिल्यै जनताको पक्षमा हुँदैनन् भन्ने सन्देश राम्रैसङ्ग प्रवाह गरेका हुन्, जसको असर अहिलेसम्म कायम छ ।

हिजो राजाले चाहेको सरकारलाई जुन दृष्टिकोणबाट हेरिन्थ्यो, आज आफँैंले मतदान गरेर बनेको या बनाइएको सरकारप्रति पनि जनस्तरमा सकारात्मक दृष्टिकोण बन्ने गर्दैन । यसको एउटा मूल कारण पञ्चायतकालीन पत्रकारिताले तथ्यपरक या फेकन्युज सम्प्रेषण गरेर स्थापना गरेको मानक नै हो भन्न सकिन्छ ।

विक्रम संवत् २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्था विस्थापित भएर बहुदलीय संसदीय प्रजातन्त्र स्थापित भएपछि पत्रकारिताको विकासले छलाङ्ग मा¥यो । विभिन्न आस्था, विचार र समूहसङ्ग सम्बन्धित भएर पत्रपत्रिकाको प्रकाशन गर्ने, एफएम रेडियोहरू सञ्चालन गर्ने र अलिक पछि आएर टेलिभिजन समेत प्रसारण गर्ने स्थितिको विकास भयो । प्रजातन्त्रको स्थापनापश्चात् ठूलो लगानीका दैनिक पत्रिकाहरूको प्रकाशन पनि शुरु भए ।

यसरी ठूलो लगानीका दैनिकहरूमध्ये पत्रकार आफैं ले आफ्नो लगानीमा प्रकाशन गरेको एक मात्र दैनिक पत्रिकाको रूपमा नेपाल समाचारपत्रलाई लिइन्छ । कामना प्रकाशनमार्फत पत्रकारितामा प्रवेश गरेका पुष्करलाल श्रेष्ठलाई ठूलो लगानीको दैनिक सञ्चालन गर्ने पहिलो पत्रकारका रूपमा बुझ्न सकिन्छ ।

साना लगानीका दैनिक र साप्ताहिक पत्रिका प्रकाशन गर्ने धेरै पत्रकारहरू भए पनि ठूलो लगानीका साथ पत्रकारितामा प्रकट भएका चाहिँ पुष्करलाल नै हुन् । त्यसैले, पुष्करलालद्वारा सञ्चालित सञ्चार गृहबाट प्रकाशित पत्रीकाहरूमा पाठकले बेग्लै स्वादको अनुभव गर्ने गर्दथे। अन्य सबै दैनिक पत्रिका र रेडियो टेलिभिजनहरूमा व्यापारीहरू लगानीकर्ताका रूपमा देखा परे । व्यापारिक प्रयोजनले सञ्चालनमा ल्याइएका पत्रिकाहरूले एकातिर पत्रकारिता क्षेत्रको उचाइ र गरिमा बढाएको थियो भने अर्कोतिर फेकन्युजको उत्पादन र विस्तारमा पनि ‘कीर्तिमान’ कायम हुन थाल्यो।

फेकन्युज सम्प्रेषणका अनेकौं दृष्टान्तमध्ये ज्यादा चर्चित दृष्टान्त रसेन्द्र भट्टराई काण्ड र अनुजा बानियाँ काण्डलाई मानिन्छ । ठगिमा रुचि राख्दै आएका रसेन्द्र नामक न्यक्तिलाई विश्वकै धनाढ्यमध्येका मानिसको रूपमा प्रस्तुत गरेर कान्तिपुर नामक पत्रिका र टेलिभिजनले निजी क्षेत्रबाट सञ्चालित पत्रकारिताको धज्जी उडाएका थिए।

सोही प्रकाशन गृहको अर्को फेकन्युज अनुजा प्रकरण थियो, कान्तिपुरको विश्वास गर्दा सो प्रकरणमा राष्ट्रपति कार्यालयसमेत विवादित बन्न पुगेको थियो । विभिन्न ठेक्कापट्टा आफू या आफूले चाहेको कम्पनी या व्यक्तिलाई नमिल्दा, आफू अनुकूलको ब्यक्तिले संवैधानिक र अन्य राजनीतिक नियुक्ति नपाउँदा जे जस्ता समाचार सामग्री सम्प्रेषण हुने गर्दथ्यो, त्यसले लगानी ठूलो हुँदैमा समाचार सत्य र निष्पक्ष हुन सक्दैन

भन्ने निष्कर्ष नै निकाल्न सकिने गरी कान्तिपुर लगायतका सञ्चारगृहहरूलाई दृष्टान्त बनाइदिएको छ । हो, पञ्चायतकालमा नै फेकन्युजको खेती शुरु भएको हो, तर फेकन्युजले साम्राज्य फैलाएको चाहिँ प्रजातन्त्र स्थापनापछि नै हो भन्न सकिन्छ । पञ्चायतमा राजनीतिकेन्द्रित भएर फेकन्युजको उत्पादन र वितरण हुने गर्दथ्यो भने प्रजातन्त्र स्थापनापश्चात् व्यापारिक प्रयोजनले सञ्चालन भएका सञ्चार गृहहरूले राजनीति र व्यापार दुवै केन्द्रित फेकन्युजहरू सम्प्रेषण गर्ने गरेको पाइन्छ । सम्भवतः पत्रकारितालाई जिम्मेवार, निष्पक्ष, सकारात्मक र रचनात्मक बनाउने प्रभावकारी प्रयास नहुँदासम्म नेपाली जनताको ‘फेकन्युज’ सँग बारम्बार ‘इन्काउन्टर’ भइरहनेछ, जय मातृभूमि !