व्यापारलाई चलायमान बनाउन बुटवलमा दीपावली महोत्सव 



बुटवल। 

यस क्षेत्रको व्यापारलाई चलायमान बनाउन र आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते तीन दिने दीपावली महोत्सव–२०८०, हुने भएको हो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको विहिवार संघ सचिवालयमा बसेको बैठकले दीपावली महोत्सव गर्ने निर्णय सहित तयारी समिति र मातहतका उपसमिति समेत गठन गरिएको महासचिव मुक्ति अधिकारीले जानकारी गराए । दीपावली महोत्सवको लागि बुटवल उपमहानगरपालिलाई संरक्षक तथा नगरका वडा नं. ४, ५ र ६ प्रवर्द्धकको रुपमा राखिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । समितिमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, तीन वटै वडाका एक एक जना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने क्षेत्रका टोल विकास संस्थाका अध्यक्षहरु सदस्य तथा सदस्य सचिवको रुपमा महासचिव मुक्ति अधिकारी रहेका छन् ।

दीपावली महोत्सव सञ्चालनको लागि ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । फूड फेस्टिवल सहितको दीपावली महोत्सव सम्पन्न गर्नको लागि उद्योग उपाध्यक्ष सुरज भट्टराई संयोजक फूड कोर्ट उपसमिति, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, महासचिव मुक्ति अधिकारी संयोजक रहेको पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति, सचिव प्रतिक पोखरेल संयोजक रहेको प्रचार प्रसार उपसमिति र सहकोषाध्यक्ष धनाकुमारी खनाल संयोजक रहेको सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यमा कार्यसमिति सदस्यहरु रहनु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गर्न लागेको दीपावली महोत्सव महेन्द्रपार्क देखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केट देखि ट्राफिकचोकसम्म सञ्चालन गरिने छ । बुटवलको खस्किँदो व्यापारलाई प्रवर्द्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउनको लागि दीपावली महोत्सव गर्न लागिएको संघका अध्यक्ष अर्यालले बताए। दीपावली महोत्सवले व्यापारलाई चलायमान बनाउनुका साथै  आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन मद्दत पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

प्रतिक्रिया दिनुहोस्