जाजरकोट र रूकुमलाई कामपाको राहत

0
Shares

–खाद्यान्नमा चामल, दाल, नुन र तेल
–औषधीजन्यमा सेनिटाइजर, सेनिटरी प्याड, औषधी, जीवनजल र साबुन
 काठमाडौं । 

काठमाडौं महानगरपालिकाले जाजरकोट र रूकुम पश्चिम भूकम्पका प्रभावितहरूका लागि २ हजार थान कम्मल र त्यतिकै थान राहतको प्याकेट पठाउन शुरू गरेको हो । पश्चिम रूकुम र जाजरकोटका एक एक हजार भूकम्पपीडित जनतालाई राहत सामग्री पठाएको हो ।भूकम्पपीडितले राहत सामग्री नपाएको गुनासो आउन थालेपछि काठमाडौं महानगर आफैंले वितरण गर्ने गरी राहत सामग्री पठाएको हो । कामपाले सोमबार नेपाली सेनाको स्काई ट्रकबाट १ हजार ४ सय २० थान कम्मल पठाएको थियो ।

कामपा विपद् व्यवस्थापन विभाग प्रमुख गंगाधर गौतमले तत्काल राहत उपलब्ध गराउने गरी ती सामग्री दुई जिल्लाका भूकम्प गएका क्षेत्रमा पु¥याउन शुरू गरेको जानकारी दिनुभयो । कामपाले सबै कम्मल नेपाली सेनासँग खरिद गरी दुई जिल्लामा पु¥याएको हो । कामपाले हिजो मंगलबार खाद्यान्न औषधीजन्य सामग्रीसहितको दुईवटा ट्रक जाजरकोट र रूकुम पश्चिम पु¥याएको छ । कामपा प्रहरी निरीक्षक किशोर भट्टराईसहितको टोली मंगलबार दुई जिल्लाका लागि प्रस्थान गरेको छ । प्रभावित क्षेत्रमा ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ प्याकेट नुन र एक लिटर खाने तेल राखिएको छ । ती सबै सामग्री खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट खरिद गरेको हो ।

त्यसबाहेक सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५ सय एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धीकरण गर्ने प्युरिफायर झोल, १० वटा भएको १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवन जल, २ फाइल सिटामोल र फोहोर राख्ने १० वटा भएको प्लास्टिकको ठूलो थैलो र जार्बेज ब्यागको प्याकेट तयार गरिएको छ । विपद् व्यवस्थापन विभाग प्रमुख गौतमले मेयर बालेन्द्र साहको निर्णयअनुसार पहिलो खेपमा आपत्कालीन सामग्री खरिद गरी भूकम्प प्रभावित जिल्लामा पठाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘सबै राहत बोकेका ट्रक आज बुधबार बेलुकीसम्म भूकम्प प्रभावित जिल्लामा पुग्नेछन् । ती सामग्री जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय प्रशासन स्थानीय तहको रोहवरमा पीडितकै हातमा पुग्ने गरी वितरण गरिनेछ ।’ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विपद् व्यवस्थापन विभागको समन्वयमा राहत सामग्री खरिद गरी वितरण गर्न तयार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताको आधारमा अन्य सहयोग गर्ने विषयमा कामपाले छलफल जारी राखेको छ ।

‘पहिलो चरणको ती सामग्री हस्तान्तरण भएपछि आवश्यकता आँकलन गरी आवश्यकताको आधारमा थप निर्णय गर्नेछौं’ –सहायक प्रवक्ता अधिकारीले भन्नुभयो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १२ जिल्लाका ३५ हजारभन्दा बढी घरमा क्षति भएको राष्ट्रिय विपद् प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

भूकम्पले १७ हजार ७ सय ९२ घर ध्वस्त र १७ हजार ५ सय २९ घरमा आंशिक क्षति भएको थियो । जसमा सबैभन्दा बढी रूकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षति भएका छन् । ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको छ । जाजरकोटमा १ हजार १ सय ७० घर ध्वस्त भएको छ । सो जिल्लामा ७ हजार १ सय ६६ वटामा आंशिक क्षति भएको छ ।