म्याथ्युज टाइम आउट हुने पहिलो क्रिकेटर

0
Shares

नयाँ दिल्ली  । 

भारतमा जारी विश्वकपमा हरेक खेलमा केही न केही कीर्तिमान बनिरहेका छन् । एउटै कीर्तिमान पनि एक टिमको लागि राम्रो अर्को टिमको लागि खराब बन्ने गर्छ । यसै क्रममा सोमबार श्रीलंका र बंगलादेशबीचको खेलमा दुर्लभ कीर्तिमान निर्धारित भयो । श्रीलंकाका अनुभवी ब्याटर एन्जेलो म्याथ्युजको लागि खराब कीर्तिमान बन्यो ।

म्याथ्युज समय सकिएको (टाइम आउट) को आधारमा आउट भएका थिए । उनी यसरी आउट हुने पहिलो क्रिकेटर बन्न बाध्य भए । श्रीलंकाको चौथो विकेट पतन भएपछि उनी क्रिजमा आएका थिए । तर, उनले समय बर्बाद गरेको भन्दै अम्पयारले उनलाई टाइम आउटको आधारमा आउट घोषित गरे ।

म्याथ्युजकोविरुद्ध बंगलादेशका कप्तान सकिब अलहसनले समय खेर फालेको भन्दै अपिल गरेका थिए । २५ औं ओभरमा सदीरा समाराविक्रमा आउट भएपछि म्याथ्युज क्रिज सम्हाल्न आए । उनी क्रिजमा उभिए र गार्ड पनि लिए । उनले हेल्मेट मिलाउन खोजेका थिए । उनको हेल्मेट मिलेन र छिटै अर्को हेल्मेट मगाए । उनले बगलादेशका कप्तान सकिबलाई हेल्मेटको स्ट्राप चुडिएको देखाए । यसको लागि समय पनि उनले माँगेका थिए । तर, सकिबले अपिल फिर्ता लिन मानेनन् । यसलाई श्रीलंकाको टिमले खेल भावना विपरित बताएको थियो ।

तर, खेल अम्पायरहरु रिचार्ड इलिङवर्थ र माराइस इरासमसले उनलाई मैदान छाड्न भने । यसपछि उनी मैदान छाड्ने क्रममा हेल्मेटको चुडिएको स्ट्राप दर्शकलाई पनि देखाए । यसपछि उनले जमीनमा जोडले फ्याँकिदिए । उनले मैदानबाट पभेलियन फर्किरहँदा अरु सामान पनि फ्याकेका थिए । श्रीलंकाका कप्तान कुसल मेन्डिस आएर फोर्थ अम्पायर एड्रिएन होल्डस्टक र बंगलादेशका कप्तान चण्डिका हाथुरासिंगासँग कुरा गरे । तर, म्याथ्युजको खेल्न वातावरण बनेन ।

नियममा ३ मिनेटमा ब्याटिङ गर्नु पर्ने

क्रिकेट खेलको संरक्षक मेरिलबोन क्रिकेट क्लब (एमसीसी) को नियम ४०.१.१ अनुसार यदि कोही ब्याटर आउट या रिटायर्ड भएपछि आउने ब्याटर नियमित ३ मिनेटको समय भित्र अर्को बल सामना गर्नुपर्छ । यदि त्यसो नगरेमा टाइम आउट भएको घोषणा गरिनेछ । म्याथ्युजको मामिलामा क्रिकेटको सर्वोच्च निकाय आईसीसीसँग सम्बन्धित रहेको छ । यस विश्वकपमा आईसीसीले नियम बनाएअनुसार एक ब्याटर आउट वा रिटायर्ड भएपछि आउने अर्को ब्याटरले २ मिनेट भित्र बलको सामना गर्नुपर्छ ।

विश्वकप २०२३ खेल्न बनाएको नियम ४०.१.१ मा बताइएको छ— ‘विकेट पतन वा रिटायर भएपछि यदि अम्पायरले खेल रोक्दैनन् भने आउने नयाँ ब्याटरले २ मिनेट भित्र अर्को बलको सामना गर्नुपर्छ । यदि यो नियमभित्र परेको छैन भने नयाँ ब्याटरलाई टाइम आउट घोषित गरिनेछ ।’