नेपाल–भारत सीमा बैठक दिल्लीमा शुरु


काठमाडौं । 

नेपाल–भारत सीमा सुरक्षा बैठक भारतको राजधानी नयाँदिल्लीमा सोमबारबाट शुरु भएको छ । नेपाल भारत सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व गर्नुभएको छ भने भारततर्फको नेतृत्व सीमा सुरक्षा बलका महानिर्देशक रश्मी शुक्लाले गर्नुभएको छ ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा दुवै देशले एकअर्का देशविरुद्ध हुने कुनै पनि गतिविधि हुन नदिने र अन्तरदेशीय सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा बलले मिलेर काम गर्ने विषयमा गहन छलफल भएको छ ।

भारतले यसपटक नेपाली काउन्टरर्पाटसँग नेपाली भूमि प्रयोग गरेर भारतविरुद्ध विभिन्न गतिविधि हुने गरेकाले त्यस्ता गतिविधि रोक्न नेपाली प्रतिनिधिमण्डललाई आग्रह गरेको बताइएको छ । नेपाल र भारतबीच बेलाबेलामा सीमा स्तम्भका विषयमा विवाद हुने गरेकाले त्यस्ता विवादलाई दुई पक्ष बसेर समाधान गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

भारतीय सुरक्षा अधिकारी नेपाल प्रवेश गरेर नेपाली नागरिकमाथि कुटपिट गर्ने गरेकाले त्यस्ता गतिविधिलाई न्यूनीकरण गर्न नेतृत्व चनाखो हुनुपर्ने विषयमा नेपाली प्रतिनिधिमण्डलले सीमा सुरक्षा सम्मेलनमा आफ्नो धारणा राखेको बताइएको छ । यसअघि हुने यस्ता सम्मेलनमा सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलको मात्रै सहभागिता हुने गरेकोमा यसपटक भने नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकासराज खनाल, परराष्ट्र र गृह मन्त्रालयका प्रतिनिधिसमेत सहभागी भएका छन् ।