चार दिन बित्दा पनि पाएनन् भूकम्पपीडितले राहत

घोषणा गरिएको राहत रकम अझै भएन कोषमा जम्मा

0
Shares

काठमाडौं । 

गत शुक्रबार जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्प पिडितहरुलाई तत्काल आवश्यक गाँस, बास र सुरक्षित आवास सहयोगका लागी नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने भनीएको रकम अझै जम्मा नहुँदा र जम्मा भएको रकमको पनि समयमै उपयोग हुन नसक्दा पिडितहरुले चार दिन वितिसक्दा पनि राहत पाउन सकेका छैनन् ।

राहत सहयोग गर्ने केही संघसंस्थाहरु राहत लिएर पुगेका छन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत पठाउने काम भइरहेको छ । यद्यपी कतिपय राहत सामग्रीहरु वितरणमा ढिलाई भइरहँदा भूकम्प गएको चार रात वितिसक्दा समेत पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य छन् ।

विपद्मा तत्काल खर्च गर्न मिल्ने गरी खडा गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम भए पनि समयमै राहत नपुग्दा पिडित नागरिकहरु जाडो र भोकका कारण विरामी पर्न थालेको स्थानीयहरुले बताएका छन् । सरकारले पीडितको उद्धार, राहत र पुनस्र्थापनाको काममा सक्रियता देखाए पनि स्थानीय तहबाट राहत वितरणको काममा ढिलाई भएको उनिहरुको गुनासो छ ।

केही राजनीतिक दल तथा अन्य निकायहरुले सरकारको कोषमा जम्मा गर्ने घोषणा गरेको रकम समेत हालसम्म जम्मा नभएको अवस्था छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार नै सूचना जारी गर्दै देश विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आह्वान गरेको छ । सात वटा बैंकहरु राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, स्टान्डर्ड चार्टड बैक नेपाल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा खोलिएको खातामा रकम जम्मा गर्न प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

हालसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक हस्तान्तरण गरिसक्नुभएको छ । तर, ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतले घोषणा गरेको रकम जम्मा गरेका छैनन् । त्यस्तै विभिन्न वैदेशिक राष्ट्रबाट पनि सहयोगको आश्वासन आएपनि उनिहरुबाट समेत सहयोग रकम जम्मा भएको छैन । चितवनको भरतपुर महानगरपालिकालगायत स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए । प्रदेश सरकारहरुले समेत कोषमा रकम पठाई नसकेको बताइएको छ ।

कार्यालयको आर्थिक प्रशासन शाखाले प्रधानमन्त्री राहत कोष, प्रधानमन्त्री सहायता कोष र राष्ट्रिय विपद् व्यवस्थापन कोषको सञ्चालन तथा लेखा व्यवस्थापन गर्दै आएको छ । आर्थिक प्रशासन शाखाका उपसचिव सूर्य भण्डारीले कोषमा जम्मा हुन आएको रकम गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत खर्च हुने बताउनुभयो । हालसम्म कोषमा कति रकम जम्मा भयो भनेर यकिन तथ्यांक नभएको भन्दै उहाँले भन्नुभयो–‘हामीले खाता खोलिएका बैंकसँग समन्वय गरिरहेका छौँ, तर हालसम्म दलहरु तथा अन्य निकायहरुले आफूले प्रतिबद्धता जनाएको रकम जम्मा गरिसकेको भन्ने बुझिएको छैन । सायद आउने क्रममा होला ।’ २०७२ वैशाखको महाभूकम्पमा सोही कोषमार्फत सरकारले २२ अर्बभन्दा बढी रकम खर्च गरेको थियो । अहिले यो कोषमा तीन अर्ब रुपियाँ रहेको बताइएको छ ।

युरोप भ्रमण छाडेर भूकम्प प्रभावित क्षेत्र जाँदै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमण छाडेर भूकम्प प्रभावित क्षेत्र जाने हुनुभएको छ । आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उक्त भ्रमण नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने भएकोले राष्ट्रपति पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको उहाँको भनाइ छ ।

नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जाने कार्यक्रम थियो । यसै क्रममा उहाँको फ्रान्स, इटली र जर्मनीको भ्रमण तय भएको थियो । गत कात्तिक १६ गतेको मन्त्रिपरिषद बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो भने जाजरकोट र रुकुमपश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।