आन्तरिक पर्यटकको रोजाइमा लाङटाङ



रसुवा।

गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा विदेशी पर्यटकभन्दा पनि नेपाली पर्यटकको घुइँचो लाग्न थालेको छ । यस वर्षको पहिलो सिजनमा विदेशीभन्दा नेपालीको चलहपल बढी देखिएको हो ।

नेपालको तेस्रो पर्यटकीय स्थलका रूपमा परिचित छ लाङटाङ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यस ठाउँ स्याफ्रुवेंशीदेखि लाङटाङसम्म २९ किलो मिटर रहेको छ । विदेशीलाई मात्रै पर्यटक मान्ने सोचलाई नै परिमार्जित गरिदिएका छन् आन्तरिक पर्यटकले । नेपाली नै पर्यटक बनेर होटल तथा लज भरिभराउ भएपछि सोच बदल्न बाध्य भएको गोसाइँकुण्ड–४ वडाध्यक्ष ढिण्डुप जाङवा बताउँछन् ।

आन्तरिक पर्यटकले लाङटाङलाई गन्तव्य बनाएर आउँदा बन्द व्यापार चलायमान भएको छ । कोरोनापछि यस वर्ष लाङटाङ पर्यटकीय स्थल जस्तो अभाष भएको होटल व्यवसायी याङजिन तामाङ बताउँछन्। अहिले लाङटाङ घुम्न जानेको संख्या ५ देखि ६ हजार रहेको होटल व्यवसायी तेम्वा लामा बताउँछन् ।

बिदाको सदुपयोग गर्न लाङटाङ पुग्ने पनि धेरै छन् । पनौती नगरपालिका–१२ खोपासी, काभेपलाञ्चोकका आदर्श गुरागाईंसहित ६ जनाको टोली लाङटाङ पुगेको छ । अस्ट्रेलियाबाट दशैं मनाउन आएका आफन्तलाई लिएर लाङटाङ घुम्न आएको उनी बताउँछन् । त्यस्तै, चाडपर्व मनाउन नेपाल आएका बेला यहाँको मनोरम दृश्यको अवलोकन गर्न आएको चितवनकी रूपा न्यौपाने बताउँछिन ।

लाङटाङ रूटमा ६ महिना मात्रै सिजन चल्छ । कोरोनापछि विस्तारै यहाँ पर्यटन आउन थालेका हुन् । मौसम खुलेको समय र दशैं–तिहारको लामो बिदाको समयमा लाङटाङ र गोसाइँकुण्ड क्षेत्र पर्ने गर्छ ।

पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, लाङटाङवासीको रीतिरिवाज, प्राकृति सुन्दरतालगायत हिमाल चढ्न र पुरानो ऐतिहासिक गुम्बा ७ सय वर्ष पुरानो एसियाको पहिलो याक चिज उत्पादन केन्द्रको अध्ययन गर्न लाङटाङ पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्