भूकम्पका घाइतेहरुको सम्पूर्ण उपचार खर्च संघिय सरकारले बेहोर्ने, उपचार नि:शुल्क हुने


काठमाडौं  ।

जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा हिजो मध्य राती गएको भूकम्पमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार संघिय सरकारले बेहोर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार संघिय सरकारले गर्ने बताए । मन्त्री बस्नेतले घाइतेहरुको उपचार निस्शुल्क गरिने जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँग समुन्यय गरेर आवश्यक औषधि सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा संलग्न भइसकेको पनि स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए ।

स्थानिय र प्रदेश स्तरीय अस्पतालमा उपचार संभव नभएका गम्भिर घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचारका लागि तयारी अवस्थामा राखिएको मन्त्री बस्नेतले बताए । यसका साथै भूकम्प प्रभावित जिल्ला जान चाहने त्यस क्षेत्रका प्रभावित व्यक्तिहरुका लागि स्वास्थ्य मन्त्री बस्नेतको पहलमा पुर्व अरनिको यातायत प्रालिले ४ वटा बस निशुल्क उपलब्ध गराएको छ ।

पुर्व अरनिको यातायत प्रालिका अध्यक्ष केदार क्षेत्रीले आवश्यकता अनुसार फेरि पनि बस थप्न सकिने बताए । यसैबिच मन्त्री बस्नेतले जाजरकोट र रुकुममा गएको भूकम्पलाई मध्यनजर गरेर द्रुतगतिमा उपचारमा लाग्न चिकित्सकहरु र सहयोगी संघसस्थाहरुलाई आग्रह गरेका छन् ।