मस्तिष्कघात रोग उपचारमा आर्थिक अभाव



भद्रपुर।

ब्रेन हेमोरेज (मस्तिष्क घात)का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका उनलाई पन्ध्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो ।

त्यसपछि उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका वरिष्ठ सुपरभाइजर दीपेश भट्टराईले संजोगको हालसम्मको उपचारको बक्यौता पाँच लाखभन्दा धेरै भइसकेको बताए । हाल संजोग आइसीयु कक्षमा छन् । उनको टाउकाको शल्यक्रिया भइसकेको र पैसा खोजेर ल्याउने पहल भइरहेको छ भनेर आफन्तले भनेको आधारमा अत्याधिक उधारोमा पनि उपचारमा कुनै कमी आउन नदिएको भट्टराईले बताए । मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग बिरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् ।

उनीहरूका दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् । संजोगका बुबा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि बिरामी नै छन् । ‘घरको आर्थिक अवस्था ज्यादै दयनीय छ,’ संजोगका भिनाजु थमबहादुर तामाङ भन्छन् –‘अहिलेसम्म ऋणपान र आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौँ । अस्पताल व्यवस्थापनले अरू पैसा जम्मा नगरी उपचार अघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु प¥यो भनिरहेका छन् । हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन ।’

संजोगका बुबा राजेन्द्र थापा र आमा दिलमाया थापाले अस्पताल परिसरमै उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका छन् । आमा दिलमाया थापा मगरले बुढेसकालको सहारा बन्ला भनेको छोरा बिरामी परेको बताउँछिन् । दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो । बीएन्डसी अस्पतालको न्यूरोलोजी विभागले संजोगको ब्रेन हेमरेज र लिभर रोगको उपचार भइरहेको जनाउँदै उपचारमा सहयोग गरिदिए आभारी हुने जनाएको छ । मेचीनगर–१० का डेभिड शिवाकोटीले संजोगलाई बचाउन गाउँमा चन्दा संकलन अभियान सुरु गरिएको जानकारी दिए ।

ज्यालादारी काम गर्दै आएका संजोगको परिवारको अन्य आयस्रोत नभएकाले सबैसँग आर्थिक सहयोगका लागि अपिल समेत गरिएको शिवाकोटीले बताए । संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरूले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने स्थानीय सांगे शेर्पाले बताए ।

बैंक खाताको विवरण : ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा खातावालाको नाम : थमबहादुर तामाङ खाता नं. ०२३०७०१०१२४९५९ जम्मा गरि सहयोग पुर्याइदिन हुन सवैसँग आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्