आन्तरिक पर्यटकले भरिभराउ मनाङ

0
Shares

मनाङ । 

नेपालीमा बिस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ । बिदाको समयलाई नेपालीले भरपुर सदुपयोग गर्न थालेका छन् । यसमा नेपालीको महानपर्व बडादशैं र तिहार यस वर्ष एउटै महिनामा परेको छ ।

अहिले नेपालीले बिदाको समय पूर्ण रूपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् । दशैं र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, क्याम्पस अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै मनाङ भ्रमणमा निस्कने गरेको पाइन्छ ।

अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला मनाङ आउने आन्तरिक पर्यटक बढेका छन् । दशैं र तिहार बिदामा पर्यटकीय क्षेत्र मनाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् ।

विगतको तुलनामा आन्तरिक पर्यटक बढ्नुले नेपालीमा भ्रमण तथा अवलोकनमा निस्कने प्रचलन बढेको नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताउनुभयो । उहाँका अनुसार दशैंको बिदामा दैनिक रूपमा मनाङ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेको छ ।

आन्तरिक पर्यटक बढ्दै गर्दा कोभिडका कारण सुस्ताएको व्यावसाय उकासिने अपेक्षासहित व्यावसायीमा खुशी छाएको छ । होटल व्यावसायी बाबुराम तामाङ भन्नुहुन्छ, ‘आन्तरिक पर्यटक आगमन हुँदा रात परेको थाहै भएन, काम गर्न भ्याई नभ्याई छ ।’

दशैंको बिदामा दैनिक रूपमा आन्तरिक पर्यटक एक हजार पाँच सय जति आउने गरेका तामाङले बताउनुभयो । ‘हामीलाई भ्याई नभ्याई भएको छ, होटल तथा पर्यटन व्यावसायीलाई त पर्यटकको स्वागतमा नै व्यस्त हुँदा दशैं आउँदा खुशी छाएको छ’ –उहाँले भन्नुभयो । अहिले मनाङका सबैजसो होटल भरिभराउ रहेको उहाँले बताउनुभयो ।

आन्तरिक पर्यटकले मनाङलाई गन्तव्य बनाएर आउँदा होटल तथा पर्यटन व्यवसायमा बन्द व्यापार चलायमान बनेको बताउँछन् । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको आगमनले दुई वर्ष कोभिडले थलिएको व्यापारमा उत्साह थपिएको पर्यटन व्यावसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

‘यस वर्ष मनाङ पर्यटकीय स्थल हो भनेर आभास भएको छ, नत्र दुई वर्ष त सिजनमा पनि सुनसान भएको थियो, यसवर्ष आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकको आगमन बढेको छ’ –उहाँले भन्नुभयो । पर्यटकले बासस्थानको लागि भने आवश्यक जानकारी लिनुपर्ने उहाँको सुझाव छ ।

चिसो मौसममा होटल नपाउने समस्या हुनसक्ने अवस्था रहेकाले आवश्यक जानकारी लिएर आउन उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘विगतमा बाह्य पर्यटकको मात्रै आगमन हुने यस सिजनमा यसवर्ष आन्तरिक पर्यटकको पनि उल्लासमय आगमन भइरहेको छ ।’ यसले गर्दा सुस्ताएको व्यापारमा आशा पलाएको उहाँले बताउनुभयो । सिजन भएकाले सबै प्रकारका होटलमा पर्यटकको रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकको टिपोट राख्ने काम नभए पनि उल्लेख्य आगमन भएको उहाँले बताउनुभयो । बाह्य पर्यटकभन्दा यसवर्ष आन्तरिक पर्यटक आएको उहाँले बताउनुभयो । ‘जुनसुकै होटलमा कम भए पनि पर्यटक रहेका पाइन्छन्’ –उहाँले भन्नुभयो ।

काठमाडौंका रवीन अधिकारीको पाँच जनाको टोली दशैं बिदाको समयमा आउनुभएको हो । उहाँको टोलीले आउनअघि नै माथिल्लो मनाङमा फोन गरी बस्ने होटलमा सम्पर्क गर्दा होटल भरिभराउ भएकाले ढिला भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘लामो समयको योजना बल्ल सफल भयो, रमाइरहका छौं ।’ यो सिजनमा मनाङ आएर बस्न समस्या हुने उहाँको भनाइ छ ।

चितवनका अनिल ढकालको पाँच जनाको टोली पहिले नै यहाँको होटल बुक गरी आएको बताउनुहुुन्छ । उहाँ मनाङको प्राकृतिक सौन्दर्यसँग रमाउँदा स्वर्गीय आनन्द मिलेको बताउनुहुन्छ ।

मनाङ आउँदा समन्वय हुनु आवश्यक रहेको उहाँको भनाइ छ । चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको उहाँको बुझाइ छ । तिलिचो तालसम्म पुग्ने योजना बनाएको ढकालले बताउनुभयो ।